पूर्वएआइजी विज्ञानराज शर्मा (बाँया), प्रहरी प्रवक्ता उत्तमराज सुवेदी (दाँया)

ललितपुरको नख्खुमा भएको बम विष्फोटमा संलग्न रहेको शंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ललितपुर प्रहरी र महानगरीय प्रहरी अपराध शाखालगायत प्रहरीको संयुक्त टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ती व्यक्तिहरुलाई पक्राउ गरेको हो ।  शुक्रबार साँझ काठमाडौँ रिङरोडनजिकै नख्खु दोबाटोस्थित एनसेल मुख्यालय अगाडि शक्तिशाली बम विस्फोटमा परी तीन जना घाइते भएका थिए । तीमध्ये एक जना सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको छ । पक्राउ परेका ६ जना घटनामा संलग्न रहेको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई ललितपुर प्रहरीमा राखिएको छ । उनीहरु कुन समूह वा के सँग सम्बन्धित भनि खुलाइएको छैन । प्रहरीले शंकास्पद व्यक्ति पक्राउ गरेको कुरा चुहाउनुअघि हामीले प्रहरी प्रवक्ता उत्तमराज सुवेदीसँग, यो घटनालाई कसरी लिने ? अनि, शान्ति सुरक्षाको अवस्था के हो ? भनी कुरा गरेका थियौँ ।

० केन्द्रको राजधानी, त्यो पनि व्यस्त ठाउँमा बम पड्क्यो । असुरक्षा बढेको हो ?
–होइन, ‘क्रिमिनल एक्ट’ आपराधिक कृयाकलाप भएको छ । दोषीलाई कानूनी दायरामा ल्याउँन अनुसन्धान अघि बढिसकेको छ । शंकास्पद व्यक्तिहरु लगभग ट्रेस भइसकेको छ । अब हामी कानूनको दायरामा ल्याउँछौ । सामान्य भइहाल्छ ।

० शंकास्पद व्यक्ति ट्रेस भो भन्या,, व्यक्ति को हो ? भन्ने पत्ता नै लाग्यो त ?
–शंकास्पद व्यक्तिहरु भन्नाले जो विष्फोटमा संलग्न भए । उनीहरुलाई हामी कानूनको दायरामा ल्याउँछौँ ।

० ट्रेस भएका व्यक्ति यो–यो हुन्, भन्न सक्नु हुन्छ ?
–हामी अनुसन्धान,, एक दम क्लोज अनुसन्धानमा छौँ हामी ।

० कुनै राजनीतिक संगठनको संलग्नता ?
–होइन, शंका छ, त्यसलाई हामी चाँडै क्लियर गरिहाल्छौँ ।

० अनि विप्लव समूहकाले विष्फोट गराएको भनेर प्रहरीले के आधारमा भन्या ?
–होइन, होइन, शंका, शंकाको घेरामा छ ।

० मुख्यगरी विप्लव समूह नै शंकाको घेरामा हो ?
–हो, हो, हो ।

० अरुतिर पनि लक्षित छ, तपाईहरुको शंका ?
–मुख्य कुरो त, हामी अरु भन्दा पनि क्रिमिनल को हो ? एउटा त्यतातिर लक्षित हुन्छ भने त्यसमा कुनै समूहको संलग्नता छ, भने त्यतातिर अनुसन्धान हुन्छ । त्यसको हामी करिब नजिक पुगिसकेका छौँ ।

० यो घटनालाई लिएर शान्ति सुरक्षा विग्रिएको भन्न पाइन्छ कि पाइँदैन ?
–घटना दुर्भाग्यपूर्ण हो । तर, यत्ति एकाध घटनाले शान्ति सुरक्षा भङ्ग भयो भन्न मिल्दैन । दोषी कानूनको कठघरामा आइहाल्छन्, सिद्धिगो ।

० यो घटनाले मान्छेहरु त्रसित भएका छैनन् । शान्ति सुरक्षा ठीक छ, ढुक्कसँग हिड्न पाइन्छ, भन्ने आधार के ?
–एक दुई वटा घटनालाई लिएर समग्र शान्ति सुरक्षा भङ्ग भो भन्ने कुरो हुँदैन । मुख्य कुरो त्यसमा संलग्न दोषीलाई कानूनी कठघरामा ल्याउनु पर्ने हो, जुन चाँडै नै भइहाल्छ ।
प्रहरी प्रवक्ताले सजिलै भनिदिए, एकाध घटनलाई लिएर शान्ति सुरक्षा विग्रियो भन्न भिल्दैन भनेर । तर, देशभर वम राख्ने, आगजनी गर्ने घटना रोकिएका छैनन् । नख्खुमा भएको विष्फोटमा त, एक जनाको निधन भइनै सक्यो । एक महिलाको दुवै खुट्टा छिनेको छ । अर्की घाइते एक महिलाको पनि अवस्था चिन्ताजनक छ ।

प्रवक्ता सुवेदीले ‘घटना दुर्भाग्यपूर्ण हो । तर, यत्ति एकाध घटनाले शान्ति सुरक्षा भङ्ग भयो भन्न मिल्दैन । दोषी कानूनको कठघरामा आइहाल्छन्, सिद्धिगो’ भने । तर, प्रहरी प्रवक्ताको यो भनाई सुनेपछि पूर्व एआइजी विज्ञानराज शर्माको सिरिंगो तातियो । उनले भने, बम पड्केको र मान्छे मरेको घटना पनि एकाध घटना हुन्छ । एक ठाउँमा मात्रै बम राखिएको छ र ? ठाउँ ठाउँमा राखेका कुरा आएका छन् । आगजी गरेको कुराहरु आएका छन्, उनले भने, ‘बम पड्केको घटना पनि सामान्य कहाँ हुन्छ र ?’

० अनि, प्रवक्ताले त सामान्य हो, भनेको जस्तो जवाफ दिनु भयो त ?
–अँह, सामान्य हुँनै सक्दैन । हो, अब सबै ठाउँमा प्रहरीले भ्याउँदैन । तर, यो सामान्य घटना होइन । अनि अब भइसकेको कुरालाई लिने नै होइन । हुन नदिनेतर्फ जाऔँ । सत्रिय हुनु पर्छ, सुरक्षा निकाय ।

० प्रवक्ताले व्यक्ति ट्रेस भयो भन्नु भयो, तर, कुन संगठन अथवा समूहका को पत्ता लगाउनु भो भन्दा भन्नु भएन ?
– पत्ता लागेको कुरा त पुलिसले के भन्थ्यो र ? अनुसन्धान हुन टाइम लाग्छ नि !

० कता–कतातिर शंका छ, त भन्दा विप्लवतिर नि छ, अन्ततिर पनि छ भन्नु भो ?
–को प्रवक्ताले त्यही भन्या ?

० हो ।
–हो, त उनीहरुको आधिकारिक कुरो त्यही त हो नि । विप्लव समूहको
गतिविधि आतंककारीको जस्तो छ । अरु कल्ले पड्काउँछ त ?

० अनि यसलाई असुरक्षा बढ्यो भनेर भन्न मिल्छ कि मिल्दैन ?
–असुरक्षा त बढिराखेकै छ । भन्न मिल्छ । तर, यसले गर्दा त्रास सिर्जना गर्ने गरी त्यो किसिमको म्यासेज दिनु हुन्न । राजधानीमा बम पड्किसकेपछि असुरक्षा बढेको त भयो । तर, प्रहरीले गर्न सकेन भन्ने कुरालाई होइन कि प्रहरीले गर्नपर्छ भन्ने किसिले तपाइरुले समाचार सम्प्रेषण गर्नु पर्छ ।

० अब तपाई नै भन्दिनु न त के भनौँ भनेर ?
–हैन, दिन दहाडै राजधानीमा बम पड्किनु । मान्छे घाइते हुनु । घाइतेको निधन हुनु । यो त, राज्यलाई चुनौती त भयो नि त । तर, यसको अर्थ सबै ठाउँमा प्रहरी उपस्थित हुन नसक्ला । सबै ठाउँमा हाम्रा टेक्निकल इकुपमेन्ट छैनन् । सीसीटीटीभी क्यामेरा, साइन सबै ठाउँमा छैन । हाम्रोजस्तो सिस्टम सुधार नभएको र खुला सिमाना भएका कारणले बोर्डरबाट विष्फोटक पदार्थ र हातहतियार भित्रिनसक्ने प्रसस्त सम्भावना छ । यी चिजहरुलाई पहिल्यै नियन्त्रण गर्नु पर्छ । यहाँ आएर पड्किने अवस्था कसरी सिर्जना भयो त । त्यतातिर जानु पर्छ । कसले पड्कायो भन्दा कसैले त यसको जिम्मेवारी लिन्छ । जसले गरेको उसले लेला पनि । कुनै अपराधिक समूहले पनि पड्काएको हुनसक्छ । कुनै संगठित समूह होला । कुनै आतंककारी समूह होला । आफु चर्चामा आउनलाई गर्ने समूह पनि हुन सक्ला । आधिकारिक रुपमा कसैले नस्विकार्दासम्म यसले गरेको भन्न मिल्दैन । अहिलेको अवस्थामा बम पड्किनु सामान्य अवस्था भने होइन । यसलाई प्रहरीले संवेदनशील रुपमा लिनै पर्छ । अपराधी पत्ता लगाउनु पर्छ ।

० एउटा कुरा नि, ठ्याक्क थाहा नपाई विप्लव समूह भन्दा त क्रेडिट उतै जाँदैन र ? उनीहरुले छाती फुलाउलान् ?
–ठीक भन्नु भाे । मैले पनि भनेको त्यही हो । आधिकारिक रुपमा कसैले जिम्मा लिएको छैन, अनुसन्धानकै क्रममा छ, भने जिम्मेवार मान्छे तथा निकायले त्यसरी कुनै समूह वा संगठनको नाम लिनु हुँदैन । त्यहाँ त्यसले गलत व्यक्ति वा समूहको मनोबल बढाउँछ ।

० अनि, जनसाधारणले के बुझ्ने, के जानेर के उपाय अपनाउने ?
–त्यसैले त यहाँनेर स्टेट अथवा राज्यको काम आयो । कोही अस्वभाविक रुपले हिडिरहेको छ, शंकास्पद हिसावले झोला पोका लिएर हिँडेको छ भने सचेत हुन सकिएला । तर, रातीको समयमा बम पड्किन थाल्यो, मध्य शहरमा बम पड्किन थाल्यो भने जनता आतंकित त निश्चिय पनि हुन्छन् । अनि बम राखेको ठाउँ पत्ता लगाउनु र राख्ने मान्छे पत्ता लगाउने काम राज्यको हो ।

० राज्य त छ, तर व्यस्त ठाउँमै बम पड्किन्छ । अब यस्ता धरापबाट जोगिन जनसाधारणले के गर्ने त ?
–अलिकति यस्तो घटना घटिसकेपछि । भीडभाड हुने ठाँउमा कम जाने । के छ, भने चन्दा नदिएका कारण यस्ता क्रियाकलाप पनि बढेको छ, हेर्नुस् । त्यसैले ठूला विग हाउसहरुमा जाँदा सावधानीपूर्वक हिड्ने । हुन त यो जनसाधारणलाई थाहै हुँदैन । यो राज्यको दायित्वको कुरा हो । यसमा त राज्य नै मुख्य जिम्मेवार हुने हो । सामान्य अर्थमा भीडभाड भएको ठाउँमा आफुलाई कम उभ्याउने । विवास्पद नाम आइरहेका संस्थामा जाँदा ध्यान दिनु पर्छ ।  -प्रस्तुति श्याम सुन्दर