धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि सिवाईसी अत्तरियाले जितेको छ । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरिया टिमले पहिलो पटब उपाधि जितेको हो ।

शनिबार भएको फाइनलमा शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै अत्तरियाले उपाधि जितेको हो । उपाधिसंगै अत्तरियाले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको महेन्द्रनगरले १२ लाख पाएको छ ।

फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।

अत्तरियाको जितमा सन्नी पटेलले अविजित रहदै सर्वाधिक ४७ रन जोडे । अन्तिम २ बलमा रन आवश्यक हुँदा पाँचौ बलमा सन्नीले छक्का प्रहार गर्दै अत्तरियालाई च्याम्पियन बनाए । २६ बलको सामना गरेका सन्नीले ३ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै जय किशन कोल्शावालाले ३० रन जोड्दा कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए । महेन्द्रनगरका मोहमद नाभिद र सागर ढकालले समान २र२ विकेट लिए । अविनाश बोहरा र शाहब आलमले १र१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभरमा अलआउट हुँदै १२३ रन बनाएको थियो ।

खराब सुरुवात गरेको महेन्द्रनगरका लागि दिलिप नाथले ४३ तथा कुशल मल्लले २५ रन जोडे । मात्र १४ रन जोड्दा २ विकेट गुमाएको महेन्द्रनगरको इनिङस दिलिप र कुशलले सम्हालेका थिए ।

यस्तै महेन्द्रनगरका रोहित कुमार पौडेलले २४, आरिफ शेख ११ तथा मोहमद नाभिद १० रनमा आउट भए । अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले समान २र२ विकेट लिए । सन्नी पटेलले १ विकेट लिए । महेन्द्रनगरका पाँच खेलाडी रन आउट भए ।

यसअघि महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर फाइनलमा पुगेको थियो । अत्तरियाले पहिलो क्वालिफायर्समा काठमाडौंलाई नै हराएर फाइनल पुगेको हो ।

यस्तै अत्तरियाले महेन्द्रनगरसंग समूह चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ । बर्षाको कारण ६ ओभरमा झारिएको समूह चरणको खेलमा अत्तरिया महेन्द्रनगरसंग ७ विकेटले पराजित भएको थियो ।

धनगढी क्रिकेट एकेडमीले आयोजना गरेको प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा ४ टोलीले प्ले अफमा स्थान बनाएको थियो ।