विराटनगर । भाषाशास्त्री एवम् साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ । उनको विराटनगर–१० स्थित निवासमै आइतबार विहान निधन भएको हो ।

लामो समयदेखि काठमाडौँस्थित नर्भिक अस्पताल र पछिल्लोसमय विराटनगरकै एक अस्पतालमा उपचार गराइरहेका भएका ८६ वर्षीय पोखरेल उच्च रक्तचापको विरामी थिए ।

प्राज्ञ पोखरेलका एक छोरा दुई छोरी छन्, मुनाल, त्रिपुरा मुना ।  पत्नी शान्तादेवीको २०६७ सालमै निधन भइसकेकाे थियो ।

सम्बन्धित
मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । खरेल एक महिनादेखि बिरामी थिए । प्राज्ञ पोखरेललाई भारतको सिक्किमस्थित गान्टोकमा छोरीको घर गएको बेलामा मस्तिष्कघात भएको थियो ।

गान्टोकबाट काठमाडौं ल्याइएका उनको नर्भिक अस्पतालमा उपचार भएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि उनलाई विराटनगर ल्याएर स्पार्क अस्पतालमा उपचार गराइरहेको थियो । एक्कासी स्वास्थ्य बिग्रिएपछि गत शनिबार अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार नआएपछि उनलाई घर लगिएको थियो । उनको शनिबार राति १ बजे बिराटनगरको जलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो ।

उनले १३ वर्षको उमेरदेखि साहित्य लेखन सुरु गरेका थिए । कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, अनुसन्धान, शब्दकोश काब्य गरी पोखरेलका १ सय ३० बढी पुस्तक प्रकाशित छन् । उपन्यास ४७, ८ वटा पाण्डुलिपी लगायतका धेरै पुस्तक उनले लेखेका छन् । उनले बालकृष्ण पोखरेलकै नामबाट भने ३ वटा पुस्तक मात्र लेखेका छन् । उनले खस जातिको इतिहास, १०० वर्ष र भाषाको शब्दकोष लेखेका छन् । उनलाई नजिकैबाट अध्ययन गरेकी कवि सीमा आभाषका अनुसार पोखरेलले आफ्नै पुस्तक पनि कतिलेखे भन्ने थाहा नभएपनि विभिन्न नामबाट उनले पुस्तक लेखेका थिए ।

उनी पछिल्लो समय महाकाब्य प्रकाशनको तयारीमा थिए । रुपारानी महाकाब्य ७५ प्रतिशत लेखिसकेको पोखरेल बताउँथे । उनले निधन भएसँगै महाकाव्य प्रकाशित गर्ने इच्छा पनि अधुरै भएको छ ।

पोखरेलको जन्म १९९० साल भाद्र कृष्णाष्टमीका दिन भएको हो । उनको जन्म बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीका साहिला सुपुत्रका रूपमा चिसापानीगढी, मकवानपुरमा भएको हो । उनी रूपावासी, वसन्त, वत्सल, ईसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिलो, हिमालपाने बराल आदि उपनामबाट पनि नेपाली साहित्यका क्षेत्रमा चिनिन्छन् ।

उनी कलकत्ता विश्वविद्यालयबाट ऐतिहासिक भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्रप्त गरी २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न रहेका थिए । २०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र मोरङ क्याम्पसमा र स्नातकोत्तर क्याम्पस खुलेपछि सोही क्याम्पसमा भाषा विज्ञान प्राध्यापन गर्ने पोखरेलले २०४६ मा अवकास लिएर स्वतन्त्र रूपमा अध्ययन गरेको बताइन्छ ।

उनी २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य रहे । सो समयमा उनले बृहत् नेपाली शब्दकोशको सम्पादनमा गहनतम योगदान पुर्याएका छन् । पोखरेलले विभिन्न नामबाट विभिन्न कृतिहरूको रचना गरेका छन् । पोखरेल अनेक भाषिक तथा साहित्यिक संस्थाहरूमा आवद्ध थिए ।

झर्राेवादी आन्दोलन

कोलकाता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले त्रिभुवन विश्वविद्यालयमा २७ वर्ष अध्यापन गराए । भारत बनारसमा अध्ययन गर्दा पोखरेलको नेतृत्वमा सुरु भएको नेपाली भाषाको झर्राेवादी आन्दोलनले निकै चर्चा लियाे । उनीसहित डाक्टर तारानाथ शर्मा, चूडामणि रेग्मी, कोशराज रेग्मी लगायत सन् १९५६ मा झर्राेवादी आन्दोलन सुरुवात गरेका थिए । साहित्य लेखनमा समेत सकृय रहेका पोखरेलको कृति ‘नेपाली भाषा र साहित्य’ले २०२१ सालमा मदन पुरस्कार जित्याे ।