बेझाड । सुन्तलाले प्रख्यात बनेको निस्दी गाउँपालिका–५ को गल्धा बहपुरलाई सुन्तला पकेट क्षेत्रका रुपमा विस्तार गरिएको छ । यस क्षेत्रमा सुन्तलाको उत्पादन वृद्धि हँुदै गएकाले गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेको हो । गाउँपालिकाले सुन्तला खेतिका लागि दुई लाख ७० हजार विनियोजन गरेको छ ।

सोह्र घरपरिवारको मुख्य आयस्रोत नै सुन्तला खेती बनेको उक्त गाँउपालिकामा हाल २२५ रोपनी जमीनमा तीन हजार ६०० सुन्तलाका बोटमध्ये दुई हजार १५० बोटबाट उत्पादन हुँदै आएको छ ।

अन्नबाली छाडेर सुन्तला खेतीमा लागेका बहपुरका किसानले यस वर्ष मात्रै २५ लाख बराबरको सुन्तला बिक्री गरेका छन् । दुई मुरी अन्नबाली नफल्ने जग्गामा कृषकले सुन्तलाबाट अहिले लाखौँको आम्दानी गर्न थालेका छन् ।

कोदो, मकै, हिउँदे बाली र तरकारी लगाइने जग्गा अहिले सुन्तलाले भरिएका छन् । तीन महीनालाई खान नपुग्ने जग्गामा सुन्तलाले राम्रो आम्दानी दिएको छ । सुन्तला खेती शुरु गरेपछि यहाँका कृषकको आयस्तर वृद्धि मात्र नभई दैनिक जीवनयापनमा पनि परिवर्तन आएको उक्त गाउँपालिकाका कृषि शाखा प्रमुख नवराज घिमिरेले बताए ।

“बहपुर गाउँ पूर्वी पाल्पाकै सुन्तला खेतीका रुपमा परिचित भएको र सुन्तला लगाएर प्रशस्त आम्दानी लिन सकिने भएकाले यस क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विस्तार गरिएको हो” उनले भने । सुन्तलाको बगैँचाभित्र कृृषकले गेडागुडी, तरकारी, अदुवाका बाली पनि लगाएर दोब्बर आम्दानी पनि लिइरहेका छन् ।