ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम विष्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले विष्फोट लगत्तै एनसेल मुर्दावाद लेखिएको पर्चा सार्वजनिक गरेका थिए, आफु निकटका अनलाईन पोर्टलमार्फत् । अहिले विप्लव महासचिव रहेको नेकपाका माथिल्लोस्तरका नेताहरुले नै त्यसको जिम्मेवारी लिएका छन् । घटनामा सलग्न भन्दै प्रहरीले ३० वढीलाई पक्राउ गरेको छ ।

शुक्रबार साँझ नख्खुस्थित एनसेलको मुख्यालय अघि भएको बम विष्फोटमा ३ जना घाइते भएका थिए । घाइतेमध्ये ४९ वर्षीय सिंहप्रसाद गुरुङको उपरचारका क्रममा मृत्यु भइसकेको छ । घाइते २ जनाको उपचार भइरहेको छ । योजना अनुसार नै शुक्रबार बाग्लुङ, रौतहट, कास्की, काभ्रे, रुपन्देही, पूर्वी नवलपरासी, कञ्चनपुर, म्याग्दी र अछाममा एनसेलको टावरमा आगजनी गरिएको छ । काठमाडौंको कमलपोखरीमा फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो ।
सरकारले तारो बनाएपछि भने अहिले विप्लव समूहका नेताहरु मानवीय क्षति गर्ने उद्देश्य नरहेको बताइरहेका छन् । उनीहरु भन्छन्, ‘७५ अरब रुपियाँ कर छलेर उल्टै नेपालबाट लाभान्स लैजाने कम्पनीविरुद्ध हामीहरुले देशव्यापी रुपमा नै विभिन्न कदम चाल्ने योजना बनाएका थियौं ।’ उनीहरुले ललितपुरस्थित एनसेल कार्यालयमा भएको विष्फोटमा मानवीय भएकोप्रति दुःख प्रकट गरेका छन् भने, गल्ती स्वीकारेका छन् ।

तर, यो घटनाले मुलुकमा दीर्घकालीन द्वन्द्वका सम्भावनाहरुलाई लिएर एउटा बहस प्रारम्भ भएको छ । लामो समय द्वन्द्वबाट आजित नेपाल फेरि दीर्घकालीन द्वन्द्वमा फस्ने सम्भावना बढेको त होइन ? भनी हामीले द्वन्द्वविद् डा.विष्णुराज उप्रेतीलाई सोधेका छौँ ।

– भूराजनीतिक स्वरुपमा जाने, सशस्त्र हिंसा हुन जाने तहको अहिले बाह्य परिस्थिति पनि छैन र आन्तरिक परिस्थिति पनि छैन । तर, यो अहिलेको घटनाले एउटा के संकेच चाँहि गरेको छ भने अस्थिरता चाहनेहरु, यो अशान्तिमा रमाइराखेकाहरु र त्यसबाट फाइदा लिइराखेको शक्ति सक्रिय छ । अलिकति सुशुप्त अवस्थामा थियो । अहिले राष्ट्रिय परिवेशमा पार्टीहरुभित्र अलिकति आफ्ना आन्तरिक तनावहरु सबै सुरु भएको बेलामा एक किसिमले फेरि सल्बलाएको जस्तो देखिन्छ । जुन पहिला माओवादीले गरेको सशस्त्र द्वन्द्व थियो, त्यो तहको द्वन्द्व हुने अहिले बाह्य र आन्तरिक दुवै तवरले सम्भव छ जस्तो मलाई लाग्दैन ।

० यसरी संगठित रुपमा एकै पटक, अक्रामण भयो अथवा घटनाहरु भए । यसले त राम्रो संकेत पनि त गरेन नि होइन ?
–राम्रो संकेत त गरेन । त्यो त निश्चितै रुपमा हो । अहिले एउटा घोषित राजनीतिक शक्ति नै एनसेलको सवालमा सार्वजनिक रुपमै लागेको कुरा सबैलाई थाहै छ । यसरी हामी कर छल्नेलाई छोड्दैनौँ, ७७ वटै जिल्लामा आक्रमण गर्छौँ भन्ने खालका भनाइहरु आइरहेकै छन् । एउटा कारण, नेताहरुले विभिन्न ठाउँमा सार्वजनिक प्रतिक्रियाहरु, राजनीतिक पार्टीहरुका आन्तरिक शक्ति सन्तुलन र यस्ता खालका घटना हुँदा कुनै न कुनै रुपमा बाहिरी शक्तिको खेल निश्चितै रुपमा देखिन्छ ।

० केही समय पहिले भेनेलुएलाको राजनीतिक संकटबारे नेकपाका अध्यक्षबीचमा जुहारी नै चल्यो । त्यति बेला एक जना अध्यक्ष प्रचण्डले भन्नु भएको थियो–यसरी नै हेपिरहने प्रवृति हुने हो भने फेरि अर्को माओवादी जन्मिन सक्छ । अहिले ठीक त्यसैलाई बल पुग्नेगरी यसरी घटनाक्रमहरु भए । अब यी दुबै कुरालाई संगै जोड्ने ठाउँ छ कि छैन ?
–मैले पनि यो बारेमा कतै छ कि भनेर एनालाइसिस गरे, आफ्नो तहबाट । मलाई त्यस्तो लाग्दैन । तर, एउटा के चाँही हो भने । त्यो अभिव्यक्तिले कुनै न कुनै तरिकाले अथवा अप्रत्यक्ष रुपमा यस्तो शक्तिलाई उत्साही गराएको हुनसक्छ । उचालिएका होलान् । तर, त्यसको बाह्य सम्बन्ध हुनसक्ने कतैबाट देखिँदैन ।

० तर, यो मनोवैज्ञानिक प्रभाव बढ्दै जान्छ भन्ने आशंका गर्ने ठाउँहरु त बाँकि रहे नि हैन ?
–अह,,, आशंका चाँही गर्न सकिन्छ । किन भने एउटा वास्तविकता के हो, भने नेपालको सन्दर्भमा हामी लामो समयदेखि हिंसात्मक परिवेशबाट आयौँ । अहिले सत्ता हाक्नेहरुले जति नै सुकै मुलुक बनाउने अभियान सुरु गरेका छौँ भने पनि समाज अहिले पनि हिंसात्मक नै बनाइएको छ । समाजको चरित्र पनि सशस्त्र विद्रोह सकिएनै पनि आफुलाई चित्त बुझेन भने हिंसालाई त्यसको माध्यमको रुपमा प्रयोग गर्ने के । चाहे विद्यार्थी संगठन हुन् । विद्यार्थी संगठनहरुले नै बस जलाउँछन् । अहिले पनि त्यही गर्दै छन् । चाहे अरु संगठन पनि किन नहुन् । अलिकति चित्त नबुझेपछि हिंसालाई आफ्नो माध्यम बनाउने एक किसिमको अभ्यास बस्यो २० वर्ष सम्म । त्यो कारणले गर्दा पनि समाज अहिलेसम्म पूर्ण रुपमा आहिलेसम्म स्थिर भइसकेको छैन के ।