काठमाडौं । नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रले ८ दिन विद्युत कटौती गर्ने भएको छ । केन्द्र अन्तर्गतको थापाथली स्विचिङ स्टेसनका भिसिबी प्यानल इन्स्टलेसन र टेस्टिङ गर्नुपर्ने हुँदा सेवा अवरुद्ध गर्न लागिएको हो ।

आगामी २० गतेसम्म ७ फिडरको सेवा बन्द हुने रत्नपार्क वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १३ गते (सोमबार) देखि १६ गते (बिहीबार) सम्म पाटन, टेकु र थापाथली फिडरबाट प्रसारण हुने विद्युत २४ सै घन्टा बन्द गरिनेछ ।

यसैगरी, १७ गते (शुक्रबार) देखि १९ गते (आइतबार) सम्म पनि सानेपा र प्रसुतीगृह फिडरबाट प्रसारण हुने विद्युत २४ सै घन्टा बन्द हुने भएको छ । २० गते (सोमबार) पनि टेकु–१ र टेकु–२ फिडरबाट प्रसारण हुने सेवा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म अवरुद्ध हुने भएको छ । केन्द्रले आजपनि टेकु–१ र टेकु–२ फिडरबाट प्रसारण हुने विद्युत सेवा अवरुद्ध गरी इन्स्टलेसन र टेस्टिङको काम गरेको थियो ।

पुन्चोक वितरण केन्द्रअन्तर्गत सानेपा तथा पाटन फिडरको वैकल्पिक विद्युत आपूर्तिको व्यवस्था मिलाउन प्राधिकरणले अनुरोध गरेको छ ।