विराटनगर । प्रदेश १ को १४ जिल्लामा १५ शय्याका ३६ अस्पताल निर्माण हुने पक्का भएको छ । संघीय सरकारले बिहीबार विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने नीतिगत निर्णय गरेसँगै प्रदेश १ मा ३६ वटा अस्पताल निर्माण हुने पक्का भएको हो ।

देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २१३ स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पतालमा स्तरोन्तति गर्ने नीतिगत निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठकाअनुसार प्रदेश एकको १४ जिल्लामध्ये सबैभन्दा बढी झापा र मोरङमा पाँच्पाँच वटा अस्पताल बन्ने भएको छ, भने सबैभन्दा कम उदयपुर र ओखलढुंगामा रहेको एक एक वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल निर्माण गर्ने निर्णय गरिएको छ ।

यस्तै, संखुवासभा र झापामा रहेको चार्चार वटा, भोजपुर र सुनसरीमा रहेको तीन्तीन वटा, इलाम, सोलुखुम्बु, तेह्रथुम, धनकुटा र खोटाङ्गमा सचालित दुई्दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको निर्णय अनुसार सोलुखुम्बुको सोताङ र सल्यान प्राथमिक स्वास्थ्य केन्द्र, खोटाङको ऐसेलुखर्क र जन्तेढुंगा गाउँपालिकामा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, उदयुपुरको चौदण्डीगढी नगरपालिकामा र ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा सञ्चालित प्राथमिक स्वास्थ्यचौकीको स्तरोन्नति हुने भएको छ ।

यो आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र सबै स्थानीय तहमा न्यूनतम १५ शय्याको अस्पताल निर्माण गर्ने कार्यक्रम अनुसार पहिलो आधार वर्षमा २ सय १३ स्वास्थ्य संस्थालाई स्तरोन्तति गर्ने नीतिगत निर्णय भएको मन्त्रालयले जनाएको छ ।