काठमाडौं । कृषिमा लगानी आर्कषित गर्ने उद्देश्यले दोस्रो पटक साना किसानका लागि राष्ट्रिय सम्मेलन गरिने भएको छ । फागुन १६ र १७ मा यो सम्मेलन गर्न लागिएको हो । यसअघि पहिलो सम्मेलन २०७१ मा भएको थियो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको आयोजनामा काठमाडौँमा हुने सम्मेलनमा देशभरका झण्डै एक हजारभन्दा वढी साना कृषि समूहका प्रतिनिधि सहभागी हुने बताइएको छ ।

चार वर्ष पहिले भएको पहिलो सम्मेलनले १९ बुँदे घोषणपत्र जारी गरेको थियो । यो पल्ट ‘साना किसानको समृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नारा राखिएको छ ।

मूल आयोजक समितिका उपाध्यक्ष खेमबहादुर पाठकले राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीति निर्माता गरी एकजार २०० व्यक्तिको सहभागिता हुने जानकारी दिए ।

गरीबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षणजस्ता काममा सम्मेलनबाट सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । सम्मेलनमा प्रस्तुत हुने २८ कार्यपत्रमा छलफल हुने बताइएको छ । संस्थाले प्रत्येक चार वर्षमा सम्मेलन गर्दै आएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।