काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नाटक विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको भएकाले यसले समाजको वर्तमान र भविष्य देखाउने बताएका छन् ।
अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नाटक विधा समाजको ऐना पनि हो । टर्च लाइट पनि हो । ऐनाले वर्तमान र टर्च लाइटले भविष्य देखाउँछ ।’
सरकारले नाट्य क्षेत्रको प्रवद्र्धनका लागि सकारात्मक भएको जनाउँदै प्रधानमन्त्रीले नेपालमा नाटकको सम्भावना धेरै देखिएको उल्लेख गर्दै यसका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने विश्वास लिए ।
उनले भने, ‘नेपालमा नाटकको भविष्य राम्रो छ । चाहे नाटक लेखनी क्षेत्रमा होस् वा अभिनय गर्नेको क्षेत्रमा वा दर्शकको क्षेत्रमा पनि यसको भविष्य राम्रो छ ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले वाङ्यमय शताब्दी पुरुष सत्यमोहन जोशीसहित १२ स्रष्टालाई सम्मानका साथै जोशीले लेखेको ‘सुनकेसरी’ पुस्तकको विमोचन गरे ।