काठमाडौं । विशेष अदालतमा कार्यरत तीन न्यायाधीशको काज सरुवा भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेलको काज सरुवा गरेका हुन् ।

न्यायाधीशद्वय ढकाल र बागचन्द सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा सरुवा भएका छन् भने न्यायाधीश पोखरेल राजविराज उच्च अदालतमा सरुवा भएका हुन् ।

कुनै पनि विशिष्टकृत अदालतमा प्रत्येक दुई वर्ष काम गरेका न्यायाधीशलाई अवधि पुगेको भनी सरुवा गर्ने प्रावधान छ । यो अवधिभन्दा बढी मुद्दा हेर्दा विकृति आउन सक्ने भएकाले सरुवा गर्नुपर्ने व्यवस्था राखिएको हो । त्यही प्रावधानअनुसार विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा भएको हो । भ्रष्टाचार, राष्ट्रिय विखण्डन लगायत मुद्दा हेर्न विशेष अदालतको स्थापना गरिएको थियो ।