काठमाडौं । इरानका विदेशमन्त्री जवाद जरीफले पदबाट राजीनामा दिएका छन् । जरीफले राजीनामाको घोषणा सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् गरेका हुन् ।

इरानको सरकारी समाचार एजेन्सी इरनाले जरीफको राजीनामाको पुष्टि गरेको छ । ५९ वर्षीय जरीफले आफ्नो कार्यकालमा भएका गल्तीको माफी पनि मागेका छन् ।

जरीफले सन् २०१५ मा अमेरिकासँग भएको परमाणु सम्झौतामा मुख्य भूमिका खेलेका थिए । तर अमेरिकी राष्ट्रपति ट्रम्पले सो सम्झौता तोडेको घोषणा गरेका थिए ।
जरीफ संयुक्त राष्ट्रसंघमा इरानको लागि राजदूत पनि बनेका थिए । सन् २०१३ मा हसन रुहानी राष्ट्रपति चुनिएपछि उनी विदेशमन्त्री बनेका थिए ।

उनले आफ्नो राजीनामामा इरानी जनता र प्रशासनलाई धन्यवाद दिएका छन् तर राजीनामा दिनुपर्नाको कारण भने खुलाएका छैनन् । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘म मेरो पदमा अब छैन । मेरो कार्यकालमा भएका गल्तीका लागि माफी माग्दछु ।’

यद्यपि राष्ट्रपति रुहानीले राजीनामा स्वीकृत गरे-नगरेको बारे भने खुलेको छैन । अमेरिकाले इरानसँगको परमाणु सम्झौता रद्द गरेपछि जरीफ इरानका कट्टरपन्थीहरुको निशानामा थिए । सम्झौतामार्फत इरानलाई आफ्ना परमाणु कार्यक्रमलाई सीमित गर्नु परेको थियो ।

सोमबार सिरियाका राष्ट्रपति बशर अल असदले इरानको सर्वोच्च धार्मिक नेता अयातुल्लाह खमेनीसँग तेहरानमा भेटवार्तासमेत गरेका थिए । तर, यो भेटमा विदेशमन्त्री जरीफ सहभागी भएका थिएनन् । जबकी सन् २०११ मा सिरियामा भएको गृहयुद्धपछि सिरियाको राष्ट्रपतिको पहिलो विदेश भ्रमणको क्रममा इरान गएका थिए ।