काठमाडौं । चीनले नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिन व्यवहारिक सुरक्षा प्रतिवद्धता जनाइए, तातोपानी नाका चाँडै सञ्चालन गर्ने संकेत दिएको छ ।
पटक–पटक व्यवहारिक सुरक्षा प्रतिवद्धता खाजेको चीनले तातोपानी क्षेत्रमा चीनविरोधी गतिविधि हुन नदिन नेपाल आधिकारिक संयन्त्रसहित उपस्थित भए, ढिलोमा आउने जेठदेखि नाका सञ्चालन गर्ने संकेत दिएको हो ।

नेपाल चिनियाँ प्रस्तावमा सहमत भएपछि अहिले तातोपानी क्षेत्रमा तीब्र गतिले पुनःनिर्माणको काम भइरहेको छ । तातोपानी नाका सञ्चालन गर्ने विषयमा कुरा गर्न आउने २६ गते चिनियाँ र नेपालीपक्षबीच बैठक बस्दै छ ।

तातोपानी नाका क्षेत्रमा चीन विरोधी गतिविधि हुन नदिन नेपाल सरकारको प्रतिवद्धता लिने रणनीतिका साथ चीनले नै बैठक बोलाएको हो ।  २०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको तातोपानी नाकामा, आवश्यक कार्यालय स्थापना र संरचना निर्माणको काम चैतसम्म सक्ने सरकारको लक्ष्य छ । गएको असारमा प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएका बेला आवश्यक पूर्वाधार निर्माण गरी नाका खोल्ने सम्झौता भएको थियो ।

त्यही सम्झौताका आधारमा अर्थ मन्त्रालयले कार्ययोजना बनाई विभिन्न मन्त्रालयसँग समन्वय गरिरहेको छ । चीनले नेपालसँग सुरक्षा प्रत्याभूति खोजेको छ । नेपाल ‘एक चीन’ नीतिप्रति प्रतिवद्ध रहको भनेर बारम्बार भनिरहेको छ । तर, नेपालका कतिपय स्थानमा चीनविरोधी गतिविधि भइरहेको चिनियाँ पक्षको बुझाई छ । तातोपानी क्षेत्रमा भूकम्पबाट भत्किएका घरका भग्नावशेष हटाउँदा तिब्बतबाट निर्वासित धार्मिक नेता दलाई लामाका तस्बिर र पुस्तक भेटिएका थिए । त्यसपछि चीनले सुरक्षामा शंका गर्दै नाका खुलाउन तदारुकता दिएको थिएन ।

सीमाविद् वुद्धिनारायण श्रेष्ठले पटक–पटक भनेका थिए, ‘तातोपानी नाका सञ्चालनमा चीनले तदारुकता नदेखाउनुको मूल कारण तातोपानी क्षेत्रमा चीन विरोधी गतिविधि हुन नदिन नेपालले व्यवहारिक सुरक्षा संयन्त्र नखटाउनु । चीन त्यही चाहन्छ । यो कुरा नेपाली पक्षले किन नबुझेको ?’ अन्ततः उनकै भनाई सावित हुने देखियो । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकार गठन लगत्तै पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटाले एक महिनामा तातोपानी नाका खोल्ने अभिव्यक्ति दिएका थिए । वर्ष दिन वित्यो तर नाका खुलेन किन ? सुरक्षा जानकारहरु पनि अहिले सीमाविद् श्रेष्ठकै लाइनमा आइपुगेका छन् । चीन ‘स्वतन्त्र तिब्बत’ अभियान पूर्णरुपमा निस्तेज पार्न नेपाल व्यवहारिक संयन्त्रका साथ उभिनुपर्छ भन्ने अडानमा छ, भन्नेमा अब उनीहरु एकमन भएका छन् । यसको पुष्टि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले अझ सपाटसँग गरिदिएका छन् ।

तातोपानी नाका खुल्नेमा अब सन्देह छैन
–कृष्ण प्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी, सिन्धुपाल्चोक
मूलतः दुई सरकारकाबीचको एउटा सम्झौता हो । यी कुराहरु एकदमै अगाडि बढिराखेको कुरा यहाँ मैले निवेदन गरे । र, लगातार यसको काम भइराखेको छ । चिनियाँ पक्षबाट पुल निर्माण करिब–करिब चैत मसान्तसम्म सकिँदै छ । र, यतापट्टी नेपाल सरकारको तर्फबाट पनि सडकका कामहरु धमाधम भइराखेको छ । यसलाई ढिलोमा जेठसम्म सक्ने किसिमले द्रुत गतिमा काम अघि बढिराखेको छ । चीन र नेपालका अधिकारीहरुबीच बारम्बार वार्ताहरु भइराखेको छ । सुरक्षाको सम्बन्धमा पनि दुई पक्षबीच बैठक भएको छ । म आफै स्वयंसहित चिनियाँ अधिकारीसँग कुरा गरिरहेकै छौँ । फागुन २६ गते पनि सेक्युरिटीका विषयदेखि लिएर नाकाका विषयमा केन्द्रित भएर बैठक बस्दै छ । आउने मिटिङलाई तयारी पनि गरिसकिएको छ ।

सुरक्षाबारे चिनियाँ पक्ष आश्वस्त भयो त ?
चिनियाँ पक्षले यीनै विषयहरुलाई लिएर अझै पनि के कसरी हामीसँग जान सकिन्छ । सुरक्षाको थ्रेटहरुलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? चोरी, तस्करी जस्ता गतिविधिलाई कसरी न्यूनिकरण गर्न सकिन्छ ? भन्ने लगायतका कुराहरुमा नै केन्द्रीत रहेर कुराकानी गर्न चीन सरकारले नै कुरा अघि बढाएको हो । यसमा हामीले सहमति जनाएका छौँ । एक चीन सरकारको नीति हो । त्यो अन्तर्गत रहेर बोर्डरमा हुने आपराधिक क्रियाकलापहरुलाई निस्तेज पार्न नेपाल सरकारको प्रतिवद्धता चीनले खोजेको छ । खास गरेर सिन्धुपाल्चोक सुरक्षाका लागि प्रतिवद्ध छ । र, हामी उहाँहरुलाई प्रतिवद्धता व्यक्त गरिरहेका छौँ । उतापनि आश्वस्त हुने क्रम जारी छ । यसैको पछिल्लो परिणाम फेरि २६ गते बैठक बसेर त्यसलाई अन्तिम रुप दिने र हामी त्यसमा प्रतिवद्धता जनाउने कुराहरु एकापसमा कुराकानी भइसकेको छ । कुरा मिलिसकेको छ । प्रतिवद्धता पनि जननिर्वाचित व्यक्तित्वहरु, संघीय सांसदहरु, प्रदेश सांसदहरु पनि यसमा लागि पर्नु भएको छ । सबैको प्रतिवद्धता त्यतिकै भएको हुनाले यो नाका खुल्नेमा अब सन्देह छैन । वास्तवमा तातोपानी नाका खुल्ने निश्चितप्राय भइसकेको छ । अब आउने वैशाख वा जेठभित्र खुलिसक्ने कुरा म तपाइलाई अनुरोध गर्छु ।