काठमाडौं । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनोको पहिलो गीत रिलिज गरिएको छ । प्रताप दास र मेलिना राईको आवाज रहेको गीतमा शब्द चेतन कार्की र संगीत बसन्त सापकोटाको छ । मायालुलाई जात्रैमा भेटियो … बोलको गीतमा नायक राज कुमार र नायिका मिरुना मगरको नृत्य हेर्न सकिन्छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा रामेश्वर कार्कीको छाँयांकन छ ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित चलचित्र साइनोमा राज र मिरुनाका अलावा निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका अन्य कलाकारहरुको अभिनय छ । चलचित्रको गीत रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा प्रस्तुतकर्ता चन्दले जीवनभर नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहनका लागि चलचित्र निर्माण शुरु गरेको बताइन् । उनले अन्तिम साससम्म पनि नेपाली चलचित्र नै हेर्न इच्छा व्यक्त गरिन् । उनले यस्तो इच्छा देखाउँदा हलमा ताली गुञ्जिएको थियो ।

निर्देशक रमेश थापाले साइनो आफ्नो पहिलो चलचित्र भए पनि आफुले सकेको मेहनत गरेको बताए । कला क्षेत्रमा लामो समयदेखि आवद्ध भए पनि चलचित्र निर्देशनमा मौका दिएकोमा उनले निर्माता भुवन चन्दप्रति आभार प्रकट गरे ।

चलचित्र साइनो २०७६ को जेठ १० गते प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । चलचित्रलाई अभिमन्यु निरबीले लेखेका छन् । अहिले यो चलचित्रको सम्पादन कार्य भइरहेको छ ।