काठमाडौं । लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाबाट आगामी एक वर्षभित्र विद्युत उत्पादन हुने भएको छ । आयोजना पूरा हुने भए पनि समयमा प्रसारण लाइन तयार नहुँने हुँदा उत्पादित विद्युत जोड्न सक्ने अवस्था देखिएको छैन ।

बुटवल पावर कम्पनी (बिपिसी) को सहायक कम्पनी न्यादी हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको काम करिब ६० प्रतिशत पूरा भएको छ । यही गतिमा काम भए १३ महिनामा आयोजनाबाट विद्युत उत्पादन गर्न सकिने न्यादी हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रबहादुर श्रेष्ठले बताए ।

‘२०७३ चैतबाट आयोजनाको निर्माण सुरु भएकोमा अहिलेसम्म सिभिल संरचनाको काम ९० प्रतिशत पूरा भएको छ,’ उनले भने, ‘३.८४ किलोमिटर मुख्य सुरुङको निर्माण यसअघि नै पूरा भएको छ ।’ करिब ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको विद्युत २२० केभी मर्स्याङ्दी कोरिडोरअन्तर्गत खुदी सबस्टेसनमा जोड्ने गरी नेपाल विद्युत प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट भएको छ । तर, अहिलेसम्म प्रसारण लाइन तथा सबस्टेसनको काम सुरु भएको छैन ।

प्राधिकरणले गत असोज १९ गतेमात्र प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्न ठेक्का सूचना निकालेको थियो । तर, अहिलेसम्म ठेकेदार छनोट भइसकेको छैन । न्यादीबाट एक वर्षभित्र विद्युत उत्पादन हुने तर प्रसारण लाइन तयार हुन अझै २–३ वर्ष लाग्ने अवस्था रहेको श्रेष्ठले बताए ।

आयोजना पूरा हुँदासम्म तोकिएको प्रसारण लाइन र सबस्टेसन निर्माण नभए तारिकुना सबस्टेसनमा विद्युत जोड्ने कम्पनीको योजना छ । तर, यहाँ जोड्दा उत्पादित विद्युत पूरै खपत हुन सक्दैन । प्रसारण लाइन तयार नभए प्राधिकरणले प्रवर्द्धकलाई कूल लागतको ५ प्रतिशत क्षतिपूर्ति तिर्ने प्रावधान छ । यसले आयोजनालाई कुनै पनि दृष्टिबाट क्षतिपूर्ति हुँदैन ।

आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा नबिल, ग्लोबल आइएमई, हिमालय, सनराइज बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले ऋण लगानी गरेका छन् । आयोजनाले बैंकहरूलाई वर्षको करिब ५० करोड रुपैयाँ ब्याज तिर्नुपर्छ । एक वर्षमात्र आयोजना ढिला हुँदा आयोजनाले उक्त रकम नोक्सान व्यहोर्नुपर्छ ।

उता प्रसारण लाइन निर्माण नभई विद्युत नजोडिँदा थप नोक्सान हुन्छ । यसबाट प्रवर्द्धक र प्राधिकरणले करोडौं रुपैयाँ गुमाउनुपर्छ । आयोजनाबाट वार्षिक १६८.५५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।