काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव झन बढ्दै गएको छ । भारतीय लडाकु विमानले मंगलबार पाकिस्तानी शिविरमा बम खसालेर भागेसँगै दुई देशबीचको तनाव थप बढेको हो । पछिल्लो समय सीमा क्षेत्रमा दुई देशका सेनाबीच भीडन्त भएका खबर मात्रै आएका छैनन् । पाकिस्तानले, भारतीय वायु सेनाका लडाकु विमान खसालेर पाइलटलाई पक्राउ गरेको पनि खबर छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पत्रकार सम्मेलन गरेर भारतको वायु सेनाले वुधबार एकाविहानै कश्मिरका ६ ठाउँमा आक्रमण गरेको बताए । उनले भनेका छन्, ‘हामीले त आफ्नो बचाउका लागि हमला गरेका हौँ । पाकिस्तानी सेनासँग जवाफ दिनुकाे विकल्प थिएन ।’

भारत प्रशासित जम्मू–कश्मिरको पुलवामा फेब्रुअरी १४ काे विद्रोही आक्रमणमा सीआरपीएफका ४६ जवानको मृत्यु भएपछि तनाव बढेको थियो । मंगलबार बालाकोटस्थित लडाकु समूह जैस ए मोहम्मदको शिविरमा बम खसालेर ३ सय विद्रोही मारेको दावी भारतले गरिरहेको छ । तर, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय दाबीलाई मनगढन्ते भनेका छन् । पाकिस्तानी प्रधानमन्त्री खानले उचित समय र स्थानमा जवाफ दिने बताएको २४ घण्टा नपुग्दै पाकिस्तानले भारतीय लडाकु विमान खसालेको खबर आएको छ ।

भारत र पाकिस्तानको विषयलाई लिएर यूरोपेली संघ (इयू)ले दुवै एशियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ । बालाकोट आक्रमणको खबर आएलगत्तै इयुले दुबै मुलुकलाई संयमता अपनाउन भनेको हो ।

सार्क राष्ट्रको अध्यक्ष मुलुक नेपालले भने यसबारे केही बोलेको छैन । यस्तो विषयमा नेपालले विवेक संगत ढंगले आफ्नो दायित्व पूरा गर्नु पर्ने थियो भनिरहेका छन्, परराष्ट्र मामिलाका जानकारहरु । नेपालले कसैको पक्ष विपक्षमा कुरा गर्ने भन्दा पनि शान्ति कायम गर्ने सन्दर्भमा केही न केही बोल्नु पर्छ भन्ने उनीहरुको धारणा छ ।  हामीले भारत र पाकिस्तान बिचको यो विवादमा नेपालको भुमिका के हुनुपर्छ ? भनी परराष्ट्र मामिलाका जानकार रमेशनाथ पाण्डेलाई सोध्यौँ ।

नेपाली नेताको कूटनीतिक क्षमता यही घटनाले प्रमाणित गर्छ

-रमेशनाथ पाण्डे, पूर्वपराष्ट्रमन्त्री
सन् १९४७ मा भारत र पाकिस्तान ब्रिटिस साम्रराज्यवादबाट स्वतन्त्र भए । त्यसबेलादेखि नै यी दुई देशबीचको सम्बन्ध शत्रुतापूर्ण रह्यो । कुनै पनि देशमा समयभन्दा माथि उठेर भविष्यको विचार गर्ने नेतृत्व भएन भने उसले आफ्नो देश, छिमेकी र क्षेत्रलाई असजिलोमा पार्छ भन्ने शिक्षा सबैले लिनुपर्छ ।

भारत र पाकिस्तानमा पहिलो पुस्ताका जुन नेताहरु थिए, उनीहरुले सत्तामा ध्यान केन्द्रित गरेर अनिर्णयति समस्या छोडे । दुई देशबीच कटुता जन्माउने, हुर्काउने र बढाउने समस्या छोडे । जसको परिणाम यो हो, जसको समाधान सरल छैन । भनेजस्तो गरेर वार्ताबाट समाधान हुँदैन यो समस्या । यो समस्याका लागि भारत र पाकिस्तानबीच पटक पटक युद्ध भइसकेको छ ।

यो समस्याको मूल जरो दुई देशका जनतामा गहिरो र उत्तेजित रुपमा पु-याइएको छ । जसलाई हटाउन सक्ने क्षमता विशेष खालको राष्ट्रिय नेतृत्वबाट हुन्छ । विशेष खालको राष्ट्रिय नेतृत्व जसले भनेका कुरा आफ्ना देशका जनताले सहजै रुपमा स्वीकार गरुन । त्यस्तो नेतृत्व न भारतमा छ, न पाकिस्तानमा छ । एउटा देशमा मात्र नेतृत्व भएर हुँदैन, दुवै देशमा हुनुपर्छ । दुवै देशको नेतृत्वले जनताको विश्वास प्राप्त गरेको हुनुपर्छ । त्यसको अभाव छ ।

दुवै देशमा राजनीतिक परिस्थिति भिन्न खालको छ । भारत चुनावको मुखमा छ, पाकिस्तानमा भर्खर इमरान खान सत्तामा आउनुभएको छ । तर सत्ताको पछाडि सेना बसिरहेको छ । यस्तो अवस्थामा समस्याको समाधान सरल छैन ।

नेपालका लागि दुईवटा प्रश्न छ । दक्षिण एसियाको नेपाल पहिलो र सबभन्दा पुरानो राष्ट्र हो । जुन बेलामा नेपालको जन्म भएको थियो, त्यसबेला आजको महाशक्ति राष्ट्र अमेरिका पनि जन्मेको थिएन, भारत र पाकिस्तानको कुरै छाडौं । त्यस्तो देश नेपालले यो परिस्थितिमा सामान्यभन्दा माथि गएर सोच्नुपर्छ । आफ्ना लागि उसले यदि नेतृत्वमा बसेका पुस्ताले भविष्यको विचार गरेर देशलाई अगाडि लैजान सकेनन भने यस्तै समस्याहरु आउँछन भन्ने कुराको शिक्षा लिनुपर्छ ।

नेपाल अहिले सार्क राष्ट्रको अध्यक्ष पनि हो । शिखर सम्मेलनमा ज्याबल साटासाट गर्ने काम मात्र होइन अध्यक्षको । अध्यक्षसँग नैतिक बल पनि हुनुपर्छ । नेपालले नैतिक बल बनाउन सकेको छैन । सार्क स्थापनामा नेपालको अग्रणी भूमिका थियो, सार्कको राजधानी नेपाललाई बनाउन तत्कालीन नेतृत्वको ठूलो भूमिका थियो । दक्षिण एसियाको राजधानी भएर बसेको नेपाल जो संयोगले अहिले अध्यक्ष पनि हो, त्यसले सार्कका दुईवटा राष्ट्रहरु लडाइँ नजिक पुगेको बेलामा खेल्न सक्ने भूमिका भनेको नेतृत्वदायी हुँदैन, नैतिक, पे्ररणादायी र सीपमूलक कूटनीति हुन्छ । त्यसलाई देखाउन सक्ने क्षमता नेपालका नेताहरुमा हुनुपर्छ । यो घटना हुँदा, साविक बमोजिम तयार भइसकेको वक्तव्यलाई पुनः सार्वजनिक गरेर जिम्मेवारी पूरा हुँदैन । यो साविकमा नभोगेको समस्या समाधान गर्न साविक बमोजिमको अभिभारा, सोच र विधिबाट हुनसक्दैन ।

नेपालले यही बेलामा आफ्नो नैतिक तागतसहित अध्यक्षको भूमिका देखाउन सक्नुपर्छ । त्यसका लागि शब्द चयन गर्दा होस् गरेर दुई देशको बीचमा समझदारी बढाउन अभिप्राय राखेर कूटनीतिक कदम चाल्नुपर्छ । नेपालको नेतृत्वले दक्षिण एसियाको विकासमा बाधक भएर बसेको भारत र पाकिस्तानको कटूता हटाउनेबारे सोच्न सक्नुपर्छ ।

सार्क अध्यक्षको हैसियतले नेपालले उचित भूमिका खेल्नुपर्छ । उचित भूमिका भनेको शान्ति वहाल गराउने हो, कटूता बढाउने होइन । दुई देशलाई संयमले काम गर भन्ने हो, वार्ताबाट समस्या समाधान गर भन्ने हो, नेपालले वार्ता गर्ने वातावरण बनाइदिने हो । वार्ताको वातावरण बनाउन नेतृत्वदायी भूमिका खेल्नका लागि पदले हुँदैन अनुभवले हुन्छ । अनुभवले मात्र हुँदैन, सोच चाहिन्छ । सोचले मात्र हुँदैन, हैसियत पनि चाहिन्छ ।

त्यो हैसियत नेपालका नेताहरुले बनाउनु भएको छ कि छैन, अहिलेको घटनाले प्रमाणित गर्छ । भावनात्मक उत्तेजनाबाट परराष्ट्र सञ्चालन हुँदैन । परराष्ट्र मामिला सोचेर हुन्छ, विगत सम्झेर हुन्छ । आफ्नो दायित्व बुझेर हुन्छ ।

सम्बन्धित
नेपाल–भारत दुवैतिरका विज्ञले यो घटनाक्रमलाई मोदीको चुनाव जित्ने दाउको रुपमा पनि अथ्र्याएका छन् । शान्तिका उपदेश दिँदै हिड्ने पारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुटनीतिक रुपमा असफ व्यक्ति रहेको भन्दै धेरैले यसलाई मोदीको चुनावी चटक भनेका छन् ।

केही समय पहिले विद्रोही संगठनले गरेको पलुवामा आक्रमणलाई लिएर अहिले बेला न कुबेला पाकिस्तानी क्षेत्रमा वम खसालेर वृक्षको बध गरेको भन्दै धेरैले मोदी शासनको खिसिटिउरी गरेका छन् ।

मोदीले घटनाक्रमको सही समाधान खोज्नु पर्ने ठाउँमा छिमेकमाथि बम बर्साउनु ठिक नभएको विश्लेषकहरुको भनाई छ । पाकिस्तानको वन क्षेत्रमा वम खसालेर मोदीले साढे तीन सय आतंककारी मारिए भनेर राष्ट्रवादको उन्मादी भेल बगाएको टिप्पणी समेत भएको छ ।