काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टरमा सवार सात जनाकै मृत्यु भएको पुष्टि भएको छ । हेलिकोप्टर दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरेका हुन् ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । दर्शनपछि फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

पाइलट प्रभाकर केसीसहित ७ जना सवार हेलिकोप्टर सवा १ बजेदेखि सम्पर्कविहीन भएको थियो । फुङलिङ नगरपालिका वडा नम्बर १० को सिस्नेभीरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको स्थानीयले बताएका छन् ।

प्रहरीका अनुसार पाथीभराबाट १ बजेर १० मिनेटमा उडेको हेलिकोप्टर पाँच मिनेटमै सम्पर्कविहीन भएको थियो । हेलिकोप्टरमा मन्त्री अधिकारी, पर्यटन व्यवसायी तथा यती एयरका मालिक आङछिरिङ शेर्पा, ध्रुव भोछिभोया, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए ।