काठमाडौं । केही दिन अघि मात्रै हो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल)को स्तरोन्नतिका लागि निरीक्षण गरेको ।

निरीक्षणपछि उनले भनेका थिए, ‘विमानस्थल आंशिक होइन । पूर्ण मर्मत हुन्छ । कालोपत्र सबै नयाँ हुन्छ । सँधै टालटुल गरेर हुँदैन ।’ यही वर्ष टल्काउने भनेका थिए, उनले अन्तर्राष्ट्रिय विमानस्थल । तीब्रताका साथ विस्तार भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडाउन भर्ने तिथि पनि नजिकिंदै थियो ।

यस्तै, नेपाल पर्यटन वर्ष २०२० का लागि पनि जोडतोडका साथ काम भइरहेको छ । मन्त्री बन्नेवित्तिकै उनले १०० दिने कार्यक्रम घोषणा गरेर जसै काम अघि बढाए, उनको चर्चा चुलिंदै गयो । काम सुरु के गरेका थिए, उनलाई मान्छेहरुले विमानस्थल परिसरका कुर्सी देखि, शौचालयसम्म सुधार्न अह्राए । उनले जन गुनासा सुन्दै सुधारका काम गर्दै गए ।

दुईटा वाइडबडी विमान पनि उनकै पालामा भित्रिए । त्यस लगत्तै पर्यटकको ओइरो लाग्ने कुराको पनि उनले उद्घोष गरे । त्यो वाइडबडीले उनको छाती चौडा बनाएको थियो । पछि हुँदै जाँदा त्यसैमा उनलाई अपजस आयो । उनले अगाडि सारेका कयौँ कामहरु वाइडबडीले ओझेमा पारिदियो । हुँदा–हुँदा उनले राजीनामै दिन लागेकोसम्म हल्ला चले । वाइडबडीको डढेलो अहिले पनि निभेको छैन । तर, मन्त्री अधिकारी निभेका छन्, सदाका लागि ।

आशाको एउटा दियो निभेको छ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा निधन भएको खबर फैलियो । खराब मौसमकैबीच वुधबार मुलुकमा सन्नाटा छायो । मौसम अझै चिसियो । सबैका मनमा चिसो पस्यो ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि हिँडेको बताईयो । तर, मन्त्रीअधिकारी सहितको दर्शनार्थी टोली फर्किएन । पहाडमा ठोक्किएपछि हेलिकोप्टर टुक्राटुक्रा भयो, अनि दनदनि आगो लाग्यो ।

को थिए रवीन्द्र ?
२०२६ वैशाख २२ गतेका दिन आमा लक्ष्मीदेवी अधिकारी र बुवा इन्द्रप्रसाद अधिकारीका जेष्ठ सुपुत्रका रुपमा कास्कीको भरतपोखरीस्थित जामुनाबोटमा भएको हो, रवीन्द्र अधिकारीको जन्म (मृत्यु २०७५ फागुन १५) ।

१२ वर्षको उमेरदेखि नै कम्युनिष्ट राजनीतिमा होमिएका रवीन्द्र अधिकारी पण्डित परिवारमा हुर्किए । २०३८ सालमा ७ कक्षा अध्ययन गर्दा अनेरास्ववियुको कान्छो सदस्यका रूपमा कम्युनिष्ट पार्टीको सपथ लिएका उनी अहिले संविधान निर्माणपछि बनेको शक्तिशाली तथा ऐतिहासिक सरकारको क्याविनेट सदस्य थिए ।

जिम्मेवारी थियो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री । पार्टीको पनि उनी केन्द्रीय तहमा थिए । यसअघि तत्कालीन व्यवस्थापिका संसदको विकास समिति सभापती थिए । उनी अनेरास्ववियुको अध्यक्ष हुँदै खरो नेताका रुपमा स्थापित भइसकेका थिए । उनले ‘समृद्ध नेपाल’ पुस्तक लेखेर आफ्नो दख्खल अझ स्थापित गरे । उनले संविधान सभामा राष्ट्रिय हितको संरक्षण समिति र युवाहरुको दबाब समिति निर्माण गरी संविधान सभा निर्माणमा निरन्तर खबरदारी गरेका थिए ।

ज्ञान र योगदान
ब्रह्मज्योति प्राविबाट प्राथमिक शिक्षा हासिल गरे । शान्ति उदय माविबाट एसएलएसी पास गरेका अधिकारी २०४२ सालमा पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । त्यहाँ प्रविणता प्रमाणपत्र तह र स्नातक तहको पढाई पूरा गरेका थिए उनले । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका अधिकारीका संविधान सभा लोकतन्त्र र पुनर्संरचना र समृद्ध नेपाल पुस्तक प्रकाशित गरेका छन् । अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन सक्रिय भूमिका खेले ।

२०६४ र २०७० सालको संविधान सभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका रवीन्द्र अधिकारी संसदमा महत्वपूर्ण भूमिका निभाउने नेता हुन् ।  संसदको सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत, फ्रिक्वेसी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, एमआरपी लगायतका विषयमा विभिन्न उप–समितिमा नेतृत्वदायी भूमिका निभाए ।
संविधान सभामा राष्ट्रिय हितको संरक्षण समिति र युवाहरुको दबाब समिति निर्माण गरी संविधान सभा निर्माणमा निरन्तर खबरदारी गरे ।

२०७० को संविधान सभा निर्वाचनपछि संसदको विकास समितिका सभापतिको जिम्मेवारीमा रहेर अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन सक्रिय भूमिका खेले ।

जेल जीवन
कास्कीलाई शिक्षा र ज्ञानको उद्गम थलो मात्रै भनिदैन, लालकिल्ला पनि भन्ने गरिन्छ । नेपाली वामपन्थी आन्दोलनमा कास्कीले महत्वपूर्ण योगदान गर्दै आएको छ । पञ्चायती व्यवस्था अन्त्य गर्ने अभियानमा कास्कीको पोखराले अत्यन्तै ठूलो भूमिका खेलेको थियो । जहाँ रवीन्द्र अधिकारीजस्ता युवाहरु अग्रमोर्चामा रहे । त्यही अभियानमा लागेका बेला २०४६ मा रवीन्द्र अधिकारी ६ महिनासम्म जेल परेका थिए ।

राजनीतिक जीवन
२०४४ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष भएका रवीन्द्र अधिकारी २०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ सालमै अनेरास्ववियु कास्की अध्यक्ष, २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य भए ।

२०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भएका अधिकारी २०५६ सालमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष बने ।

उनी २०५३ सालमै स्ववियु काउन्सिल नेपालका संयोजकमा निर्वाचित भए । २०४५ सालमा पार्टीको संगठित सदस्यता लिएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित थिए ।

२०४० मा इलाका पार्टी कमिटीमा, २०४६÷०४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहे । २०६० र २०६३ मा एमाले कास्की जिल्ला सचिव भएका अधिकारी पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

उनका केही अन्तरंग
३६ दिन लगातार हलो जोते
पण्डित परिवारमा हुर्किएकाले सबैले पण्डित परिवारकै सम्मान दिन्थे । उनले चुनावताका सम्झिएका कुरा हुन्, यी । त्यसबेला म कक्षा सातमा अध्ययनरत थिए । त्यतिबेलाको जमानामा पण्डित परिवारले हलो जोत्ने कुरा वर्जित थियो । मेरो बुबा, हजुरबुबा पण्डित हुनुहुन्थ्यो । तल्लो घरको हजुरबा पनि पण्डित हुनुहुन्थ्यो ।

मेरो बुबा र हजुरबुबा मात्र होइन तल्लो घरको हजुरबुबालाई पनि मैले हलो जोतेको पिटिक्कै मन पर्दैन थियो । तर, मैले ती सबैको वेवास्था गर्दै हलो जोतेँ । सबैतिरबाट मेरो आलोचना भैरहयो । तर मैले हलो जोत्ने कामलाई निरन्तरता दिइरहेँ । एसएलसी परीक्षापछि पनि म हलो जोत्थेँ ।

असारको महिना थियो । तल्लो घरका हजुरबाको घरमा काम गर्ने हली दाइको बुबाको त्यसैबेला मृत्यु भयो । उहाँ बुबाको काजक्रियामा बस्नुपर्ने भयो । गाउँमा परेली–आलोपालो एक–अर्काकोमा काम गर्ने चलन)को चलन थियो । हलिदाइको बुबा बितेपछि हजुरबाकोमा जोत्ने मान्छे भएन । असारको बेला खेती नलगाई नुहुने ।

हजुरबाले ‘रविन्द्रलाई नै जोत्न लगाउनु पर्नेभयो’ भनेछन् । त्यो कुरा मैले थाहा पाएँ । मैले ‘हजुरबा नै आएर आग्रह गरे मात्र जोत्ने सर्त राखेँ ।’ पछि हजुरबा आएर मलाई आग्रह गर्नुभयो । म पनि त्यही प्रतिक्षामा थिएँ । उहाँको घरमा गएर जोतेँ । त्यसबेला मेरो जित भएको अनुभुति भयो । म त्यो घटना बिर्सन सक्दिन । मैले त्यो वर्ष ३६ दिन लगातार हलो जोतेँ ।

त्यतिमात्र होइन म त्यसैबेलादेखि छुवाछूत विरोधी थिएँ । मैले पानी नचल्ने जातको घरमा गएर खाएको भन्दै कति पटक हजुरबाले घरबाट निकालेको मलाई याद छ । अहिले सम्झँदा यी दुबै घटनाले मलाई क्रान्तिकारी बन्न प्रेरणा दियो भन्ने लाग्छ ।

वनविज्ञानको अध्ययन छाडेर व्यवस्थापन
एसएलसी गर्दा दाई ‘साइन्स’ पढेर अधिकृत बन्नुभएको थियो । परिवारको चाहना मलाई वनविज्ञान पठाउने थियो । वनविज्ञाको अध्ययनका लागि हेटौँडा जानुपर्ने बाध्यता थियो । म त्यसबेला राजनीतिमा सक्रीय थिएँ । राजनीतिमा रस भिजेका कारण मलाई वनविज्ञान पढ्ने चाहना थिएन । तर, बुबा र दाइले वनविज्ञान अध्ययनका लागि भर्ना गरिदिनुभयो । बस्नका लागि कोठासमेत खोजी दिनुभयो ।

तर, मैले उहाँहरुले थाहा नपाई विज्ञान पढ्ने निधो गरी पहिल्यै भर्ना गरिसकेको थिएँ । विज्ञान विषयको अध्ययन गर्दा ‘प्राक्टिकल’ हुने नियमति ‘कजेल’ जानुपर्ने झमेला हुने र राजनीति गर्ने समय नहुने भएकाले मैले व्यवस्थापन अध्ययन गर्ने निधो गरेँ र पछि फेरि व्यवस्थापनतिर मोडिएँ ।

घर–परिवारमा चाहिँ पहिलो वर्षको रिजल्ट आएपछि र म पास भएपछि मात्र जानकारी दिएँ । परिवारबाट निकै ठूलो हप्की खानु पर्ला भन्ने सोचेको थिएँ । तर, त्यस्तो भएन । पछि मैले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेँ । अहिले त्यो घटना सम्झदा ठिकै गरेछु, जस्तो लाग्छ ।

बन्दीगृहमा ड्राइभरले हतकडी खोलिदिए
२०४६ सालको जन–आन्दोलन उत्कर्षमा पुगेको थियो । त्यसैबेला म, झलक सुवेदीलगायत केहीलाई तत्कालीन प्रशासनले हतकडीसहित जेलमा हाल्यो । प्रशासनले निकै दुःख दियो । त्यो घटना सम्झदाँ अहिले पनि कहाली लाग्छ । भुँइमा पानी खन्याएर त्यही पानीमाथि हामीलाई सताउँथ्यो ।

सबै बन्दीले ट्वाइलेट जाँदा हतकडीसहित जानुपर्ने बाध्यता थियो । आठ–दश दिन बन्दीगृहमा बसेपछि एक ड्राइभरसँग भेट भयो । उनी निकै चतुर थिए । राम्रो हिमचिम भएपछि उनले रातीराती मेरो हतकडी बहुत कुसलतापूवएक खोल्ने र बिहान जस्ताको त्यस्तै बनाउँने गर्थे ।
मेरो हात चलाएर बोल्ने बानी थियो । हतकडी खोलेपछि हात चलाएर निर्धक्कसँग गफ गर्न सजिलो हुन्थयो । सबै कुरा प्रहरीले थाहा पाएछ । त्यही कारण प्रहरीले मलाई निर्मम यातना दियो र पाँच सय पटक उठबस गर्न लगायो । यो पनि मेरो जीवनको सम्झन लायक घटना थियो ।

लेडिज कपडा लगाएर भागेँ
पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्थेँ । २०४६ सालको आन्दोलन निकै उत्कर्षमा पुगेको थियो । हामी एक साँझ होेस्टलमै महत्वपूर्ण बैठक बसिरहेका थियौँ । प्रहरीले होस्टलमा छापा मा¥यो, त्यहाँ भागदौड चल्यो । सबै साथी छिन्नभिन्न भए । म र केही साथी भूईँमा घिस्रिदैँ पल्लो ‘कर्नर’मा गएर बस्यौँ । प्रहरी हाम्रो वरीवरी थुप्रै पटक घुम्यो तर हामीलाई भेट्टाएन । भोलिपल्ट बिहान हामी महिला होस्टलमा प्रहरीको आँखा छलेर र्छियौँ । हामीलाई महिला साथीले साथ दिए । उनीहरुकै सहयोगमा छात्राका कपडा लगाएर भाग्न सफल भयौँ । प्रहरीले पत्तो नै पाएन ।

पर्खाल फोरेर क्याम्पस प्रमुखको निवासमा
२०४६ सालको आन्दोलनकै ताका पोखरामा एउटा ठूलो घटना घट्यो । त्यसकोे सबै रिपोर्ट पार्टीलाई दिनुपर्ने थियो । टेलिफोनको सेवा सहज नभएकाले हामीले रिपोर्ट दिनका लागि उपयुक्त क्याम्पस प्रमुखको निवास हुने ठहर र्गयौ । गणेश गुरुङ क्याम्पस प्रमुख हुुनुहन्थ्यो ।
हामी राती उहाँको निवासमा पर्खाल फोरेर पुग्यौँ । उहाँले अताल्लिएर भन्नुभयो– ‘लौ–लौ यहाँबाट तिमीहरु भागिहाल, अहिले पुलिस आउँछ ।’ तर हामीले निर्धक्क साथ फोन र्गयौ । त्यसको केही दिनपछि म उहाँकै निवासबाट पक्राउ परेँ ।

दरबारमा पाँच लाख २७ हजारको हस्ताक्षर
२०५७ सालमा पूर्व युवराज पारस शाहले हाँकेको गाडीले गायक प्रविण गुरुङको किचेर मार्यो । त्यसबेला म अनेरास्ववियुको अध्यक्ष थिएँ । अनेरास्ववियुले मुलुकभरी नै त्यसको विरोधमा आन्दोलनको घोषणा र्गयो । मेरो नेतृत्वमा मुलुकभरी विरोध भयो । आन्दोलन नगर्न मलाई धेरैतिरबाट दबाब आयो । तर, त्यसको प्रवाह नै नगरी अनेरास्ववियुले आन्दोलन चर्कायो । हामीले मुलुकभरी हस्ताक्षर अभियान सञ्चालन गरेका थियौँ ।

त्यही घटनालाई आधार बनाएर मेरो परिवारलाई विभिन्न अज्ञात व्यक्तिले मार्नेसम्मको धम्की दिए । मलाई पनि मार्नेसम्मको योजना बनाएको कुरा सुरक्षा निकाएबाटै गोप्य रुपमा थाहा पाएँ । उनीहरुले मलाई मार्नका लागि म चड्ने मोटरसाइकलको नम्बरसम्म ‘नोट’ गरेका रहेछन् । पछि हामीले पाँच लाख २७ हजारको हस्ताक्षर दरबारमै लगेर बुझायौँ । त्यतिबेला पनि हामीलाई दरबारले त्यही खतम बनाउँछ भन्ने सोचेका रहेछन् । तर, दरबारले केही गर्ने आँट गरेन् ।

मृत्युलाई जितेर फर्के
अनेरास्ववियुको जिम्मेवारी पूरा गरेपछि कास्की फर्की पार्टी राजनीतिमा सक्रिय थिएँ । त्यतिबेला माओवादीको शसस्त्र युद्ध उत्कर्षमा पुगेको थियो । माओवादीले व्यक्ति हत्याको श्रृंखलालाई चरम बनाएको थियो । राजनीतिक आस्थाकै कारण हत्या गर्ने, अंगभङ्ग बनाउने जस्ता घृणित कार्यमा माओवादी उत्साहित थियो । त्यसैबेला मलाई एक कार्यक्रमबाट माओवादीले अपहरण गरेको थियो ।

माओवादीले मलाई अपहरण गरेसँगै सारा गाउँ माओवादीको विरोधमा उत्रियो । त्यसले मलाई एकातिर उत्साह पैदा भएको थियो ।अपहरणपछि मलाई उनीहरुले हत्या गर्लान वा अंगभङ्ग गराउलान भन्ने मानसिक रूपमा तयार भएको थिएँ । त्यसैले मलाई धेरै डर लागेन । मैले उनीहरुलाई निर्धक्कसाथ ‘तिमीहरु राजासँग हात मिलाइरहेका बेला म दरबारमा दरबारकै विरुद्ध लाखौँको हस्ताक्षर बुझाइरहेको थिएँ । तिमीहरु भारतमा बसेर नेपालमा युद्ध गर्ने योजना बनाइरहेका बेला मेरो नेतृत्वमा ‘कालपानी नेपालको हो’ भनी मार्चपास गरिरहेका थियौँ । तिमीहरुले मलाई के ठानेका छौँ’ भनी प्रतिवाद गरेँ । उनीहरु त्यसपछि केही गले जस्तो भए ।

मेरो अपहरणपछि सञ्चार माध्ययममा पनि माओवादीको निकै विरोध भयो । अन्तिममा उनीहरुले मलाई अपहरण मुक्त गर्नेसम्म आँट गर्न सकेनन् । मलाई त्यही छोडेर उनीहरु भागे । मलाई त्यतिबेला मृत्युको मुखमा पुगेर पनि बाँचेर आएको जस्तो अनुभूति भयो ।

‘स्ववियु सभापति होस् त रविन्द्र जस्तो’
पोखरामा अध्ययन गर्दा पृथ्वीनाराण क्याम्पसमा सभापति भै सकेको थिएँ । स्नातकोत्तर अध्ययनका लागि त्रिभूवन विश्वविद्यालय कीर्तिपुर आएँ । त्यतिबेला केदारभक्त माथेमा त्रिभूवन विश्वविद्यालय कीर्तिपुरको प्रमुख हुनुहुन्थ्यो । पृथ्वीनाराणको सभापति हुँदा मलाई उहाँले एक पटक औपचारिक कार्यक्रममै ‘स्ववियु सभापति होस् त रविन्द्र जस्तो’ भन्नुभएको थियो ।

त्यहि कुरा उहाँले ‘टियु’मा औपचारिक भाषणकै क्रममा दोर्होयाउनुभयो । उहाँलाई धेरैले कांग्रेस निकट भन्ने गरेका थिए । उहाँको त्यो भनाइपछि नेपाल विद्यार्थी संघका विद्यार्थीहरु निकै रिसाएका थिए । नभन्दै म त्यही पटक सभापतिको उम्मेदवार बने र विजयी पनि भएँ । आफुले राम्रो गर्न सक्यो भने सम्मान पनि पाइन्छ भन्ने कुराको ज्ञान त्यसबेला भयो ।

एमाले विभाजन हुँदा धेरै रात अनिदो बसेँ
नेकपा (एमाले)मा नेताबीच मतभेद चुलिएपछि पार्टी विभाजनको संघारमा पुग्यो । म विभाजन नहोस् भन्ने पक्षमा थिएँ । पार्टी विभाजन हुने निश्चित भएपछि दुवै थरी नेता एक अर्काको आरोप–प्रत्यारोपमा खुलारुपमा भाषण गरिरहेका थिए । म भने रातभरी पीडामा हुन्थेँ ।
जीवनमा सबैभन्दा बढी पीडा मलाई एमाले विभाजन हुँदा भयो । रातभरी चिन्ताले अनिदो हुन्थँ । दिनभरी कार्यकर्तालार्ई उर्जा भर्नका लागि भए पनि भाषण गर्नुपर्ने बाध्यता हुन्थ्यो । एमाले विभाजन हुँदा म आफैँ विभाजन भएको अनुभूति भएको थियो । मलाई एमाले–माले विभाजले जीवनमा निकै ठूलो पाठ सिकायो । पार्टी विभाजनको पीडा नेतालाई मात्र हुँदैन । त्यसको पीडा आम कार्यकर्तामा पनि हुन्छ भन्ने बोध मलाई त्यसैबेला भयो । अहिले पनि मलाई अन्य पार्टीका नेतालेसमेत विभाजनको कुरा गर्दा निकै नरमाइलो लाग्छ ।

योगेश भट्टराईसँग अलग्गिदा
मैले सम्झिने महत्वपूर्ण घटनामा नेकपा (एमाले)को नवौँ महाधिवेशन पनि एक हो । विभिन्न कारणले मैले र योगेश भट्टराईले फरक–फरक समूहका नेताको समर्थन गरयौँ । मैले नवौँ महाधिवेशनको केही समय पहिला पनि योगेशजीलाई ‘महाधिवेशनमा फरक–फरक नेतालाई अध्यक्षमा समर्थन गर्नुपर्ने अवस्था आउन सक्छ है,’ भनेको थिएँ । तर मैले त्यसो भन्दैगर्दा मलाई एक प्रकारको पीडा महशुस भएको थियो ।
उहाँ र मेरो व्यक्तिगत सम्बन्ध नराम्रो भएर वा अरू कुनै कुराले हामी महाधिवेशनमा फरक–फरक कित्तामा उभिएका थिएनौँ । हामी अनेरास्ववियुको प्रारम्भिक कमिटिदेखि नै एक प्रकारले सहकार्य गरेर अघि बढेका थियौँ । हामीबीच कहिल्यै पनि नराम्रो भएन । तर, नवौँ महाधिवेशनमा हामी टाढा–टाढा जस्तो भयौँ । वर्षौसम्मको हाम्रो सम्बन्ध धुमिल हुने हो कि भन्ने चिन्ताले मलाई धेरै रात निन्द्रा लागेन ।