काठमाडौं । सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन र ताप्लेजुङ हेलिकोप्टर दुर्घटनालाई लिएर राष्ट्रिय शोक घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा विहिबार राष्ट्रिय शोक घोषणा गरेको हो । विहिबार देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइएको भने आधा झण्डा झुकाइनेछ ।

मन्त्रिपरिषद्ले मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने निर्णय समेत गरेको छ । अकल्पनीय, अप्रत्यासीत र दुःखद घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको सरकारले बताएको छ ।

वुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार ७ जनाकै मृत्यु भएको थियो । ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको हो ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा हेलिकोप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको छ ।

पाथीभराबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटनामा परेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्रयाक रेकर्डबाट देखिएको जानकारी दिए ।