तस्वीर : सञ्जीव अधिकारी

काठमाडौ । पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भएको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि फेरि हिमपात भएको छ । काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा समेत हिउँ परेको छ । काठमाडौंको साँखु, दुवाकोट, चन्द्रागिरी लगायतका क्षेत्रमा हिउँ परेको हो ।

त्रिभुवन राजपथको दामन, पालुङ र सिमभञ्ज्याङमा डेढ फिट बाक्लो हिउँ परेपछि हेटौँडा र काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै, हेटौँडा कुलेखानीतर्फ जाने थाखेल सडकखण्डको विभिन्न स्थानमा एक फिट बाक्लो हिउँ पर्नाले हेटौँडा, कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा पनि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

अहिले प्राविधिक टोली खटाई सडक सञ्चालन गर्ने काम भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले बतए । उता, बुटललसहित ५ नम्बर प्रदेशका विभिन्न क्षेत्रमा असिना पानी परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भएको जनाएको छ । लगातारको बदली तथा वर्षाका कारण चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको र पानी परेको मौसमविद सुजन सुवेदीले जानकारी दिए ।