काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव ताप्लेजुङ्गबाट काठमाडौं ल्याउने तयारी भैरहेको छ । शव काठमाडौँ पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौँतर्पm पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताएका छन् । उनका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइनेछन् ।

ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्र कुहिरोले ढाकिरहेको छ ।

शवहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ । त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ । श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ ।

मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लैजाने  जनाइएको छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेको छ । मन्त्री अधिकारीसहित सात जनाको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ ।