अन्तर्राष्ट्रिय समुदायले नेपाली आकाशलाई असुरक्षित भन्छ । अझ, युरोपेली संघले त कालो सूचीमै राखेको छ । नेपाली आकाशमा ठूल–ठूला हवाई दुर्घटना भएका छन् । त्यो पनि हरेक वर्ष । युएस बंग्लाको विमान दुर्घटनाको तथ्य कुरा नआउँदै नेपाली आकाशमा फेरि अर्को हवाई दुर्घटना भएको छ । त्यो पनि उड्डयन मन्त्रीमन्त्री नै उडिरहेको हेलिकोप्टर । उड्डयनमन्त्री रवीन्द्र अधिकारी मात्रै थिएनन् त्यो हेलिकोप्टरमा नामी एरलाइन्स व्यवसायी आङछिरिङ शेर्पा, नेपाली हवाई क्षेत्रको नियामक संस्था नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक समेत । हुँदा–हुँदा प्रधानमन्त्री कार्यालयका सहसचि ।

विशिष्ट क्षेत्रका विशिष्ट व्यक्तिको प्राण लग्यो यो पल्टको हवाई दुर्घटनाले । सबै दुर्घटना दुःखद हुन्छन् । कुनै दुर्घटना यस्तो हुन्छन् कि, जसबाट परेको चोटको आयतन मापन गर्न सकिँदैन । असहय अस्वीकार्य हुन्छन्, ती । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु पनि नेपाली समाजका लागि असहय र अस्वीकार्य रहयो । सिंगो मुलुक शोकमा डुब्यो ।

निधन भएका व्यक्तिबारे लेख्दा को घटी को बढी भन्ने प्रश्नै रहेन, सबै विशिष्ट । त्यसमा पनि मन्त्री अधिकारी नेपाली समाजका लागि आशाको दीप मानिएका थिए । नेपाली आकाश आफैंमा असुरक्षित छ । भौगोलिक बनावट र परिवर्तन भइरहने मौसमको चुनौती त उड्डयन क्षेत्रमा छँदैछ, प्राविधिक असुरक्षा उत्तिकै जिम्मेवार छ । यो दुर्घटनाको भने विस्तृत कारण तत्काल खुल्न सकेको छैन । सरकारले जाँचबुझ आयोग गठन गरिसकेको छ । अब सत्य तथ्य पत्ता लागोस् ।

मूल कुरा दुर्घटनाको कारण पत्ता लाग्नै पर्छ । नभए फेरिपनि यस्ता दुर्घटना दोहोरिइरहनेछन् । मुलुकले ठूलो क्षति व्यहोर्ने, दुःख व्यक्त गर्ने, शोकाकूल हुने शृंखला चलिरहने छ । उड्डयनमन्त्रीकै देहान्त भइसकेपछि अब पनि हल्का फुल्का निवारण हुनुहुँदैन । हवाई क्षेत्रमा अब यही दुर्घटना अन्तिम ठहरिनु पर्दछ । मानवीय गल्ती त पटक्कै गर्नै हुँदैन ।

२०६३ असोज ७ मा ताप्लेजुङको यही क्षेत्रमा हेलिकाेप्टर दुर्घटना भएको थियो । जहाँ तत्कालीन मन्त्री गोपाल राई, विद्वान् डा. हर्क गुरुङलगायतको निधन भएको थियो । पुनः ताप्लेजुङमै अर्का मन्त्री हेलिकप्टर दुर्घटनामै परेका छन् । अहिले दुर्घटना भएको ठाउँको भौगोलिक अवस्थिति, मौसमको प्रतिकूलता वा के समस्या छ, त्यहाँ उडान गर्दा के–के सतर्कता अपनाउनुपर्छ भन्ने पहिचान अझ राम्ररी गरिनु पर्दछ । उड्डयनकर्ताले त्यसको पालना गर्नुपर्छ । अर्कोतिर, कतिपय अवस्थामा पाइलटलाई उडाउनैपर्ने दबाब हुन्छ । विशिष्ट पाहुनाको हतारोमा ती वाधक बन्न सक्दैनन् । एकै दिन धेरै फन्को लगाउनुपर्ने, तराईदेखि हिमालसम्मको मौसममा तत्काल ‘फिट’ हुन सक्नुपर्ने बाध्यता आइलाग्छ । यस्तै कारणले विगतमा पनि दुर्घटना भएका छन् ।

बुधबारको दुर्घटनापछि ताप्लेजुङका सांसद नेकपा नेता योगेश भट्टराईले फेसबुकमा ‘भीआईपी उडानमा पाइलटसहित पाँचजनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेर मात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरूले । तर आज मौसम खराब हुँदाहुँदै सातजनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ’ भनी लेखे । उनको भनाईलाई सजिलै लिने हो भने पनि सानो खेलाँचीले ठूलो दुर्घटना निम्त्याउन सक्छ, जसको चोट देशले वर्षौंवर्ष सहनुपर्ने हुन्छ ।

नेपालमा वर्षेनी आधा दर्जनभन्दा बढी हेलिकाेप्टर र जहाज दुर्घटना हुने गरेको तथ्यांक छ । नीतिगत रूपमा मात्र होइन, व्यावहारिक रूपमा पनि उडान सुरक्षालाई प्रभावकारी नबनाइँदा दुर्घटना बढ्दै गएको छ । दुर्घटनापछि गठन हुने जाँच बुझ आयोगका प्रतिवेदनले खराब मौसमका कारण दुर्घटना हुने गरेको देखाउँछन् । र, पाइलटमाथि आरोप थुपारेर भित्री कारण ढाकछोप गर्ने गतिविधिले पनि दुर्घटनाको खास कारण पत्ता लाग्दैनन् । त्यसको पछिल्लो उदाहरण हो, युएस बंग्लाको विमान दुर्घटना । जहाँ जाँचबुझ आयोगले सबै दोस पाइलटमाथि नै थुपारेको देखियो । यो पटक त्यस्तो हुने छैन । जाँचबुझ आयोगले घटनाको खास कारण पत्ता लागोस् ।

बुधबार मौसम विग्रिएको थियो । तेह्रथुमको आठराई चुहानडाँडामा निर्माण गरिने विमानस्थलको अनुगमन गरेर ताप्लेजुङको पाथिभरा हुँदै फर्किने क्रममा मन्त्री चढेको हेलिकोप्टर दुर्घटना भएको भनिएको छ । नागरिक उड्ययनमन्त्री आफैं उड्यन असुरक्षामा पर्नु दुःखद हो । हरेक दुर्घटनामा भनिने–लेखिने सुरक्षाका यी विषयलाई सरकारले गम्भीरतापूर्वक लिनु पर्दछ । भौतिक, प्राविधिक, जनशक्तिगत सबै क्षेत्रमा आवश्यक परे लगानी बढाई सुरक्षाको प्रत्याभूति दिलाउनैपर्छ । जेजसरी हुन्छ, यस्ता दुर्घटना न्यून गर्न राज्यबाटै पहल हुनुव्पर्छ । तब मात्र मन्त्री अधिकारी, व्यवसायी शेर्पासहित दिवंगत सबैप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । हार्दिक श्रद्धासुमन ।