काठमाडौं । मुलुक राष्ट्रिय शोकमा छ । मौसम चिसिएको छ । मुलुकमा सन्नाटा छाएको छ । विहिबार विहान उपत्यका वरपरका डाँडाकाँडाहरु हिउँले सेताम्य बने । जसरी पर्यटनन्त्री रवीन्द्र अधिकारीका दन्त लहर सेता हिमाल झैँ खुलिरहन्थे, त्यसरीनै डाँडाकाँडाले हाँस्दै उनको विदाई गरेका छन् । यद्यपि, मन्त्री अधिकारीको पार्थिव शरीर हामीमाझ छ । वुधबार हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार सातै जनाको निधनपछि मुलुक शोकमग्न भएको छ, भने सञ्चारमाध्यम शोककै खबरले भरिएका छन् । जताततै शोककै खबर छन् ।

राष्ट्रपति टुँडिखेल पुग्ने

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी सैनिक मञ्च टुँडिखेल पुग्ने बताइएको छ । यद्यपि, पोष्टमार्टमका लागि १० देखि १५ घण्टा लाग्ने भएकाले विहिबारका लागि निर्धारित कार्यक्रम शुक्रबार बिहान ८ बजेसम्मका लागि सारिएको छ । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव ताप्लेजुङबाट काठमाडौं ल्याएपछि त्रिवि शिक्षण अस्पतालमा रीक्षण गरिँदैछ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारी  टुँडिखेल पुगेर श्रद्धाञ्जली दिने कार्यक्रम तय भइसकेको छ ।

शव परीक्षण
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ७ जनाको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा परीक्षण गरिएको छ । विहिबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट ती शवहरुलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थनसम्म सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ल्याइएको थियो । लगत्तै, शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा लगियो । ती शवहरुमध्ये पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको पहिचान भएको छ, अन्यको पहिचानका लागि डीएनए परीक्षण गर्नु पर्ने देखिएको बताइँदै छ ।

सरकारले विशेष सावधानी अपनाउँछ : रक्षामन्त्री
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमासञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले हिजो ताप्लेजुङमा भएको दुर्घटनाको कारण खोजिने र यसैका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोज गठन गरेको हो भने ।

‘गैरआवासीय नेपाली स्तब्ध’
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको र त्यसमा सवार सबैको निधन भएको खबरले गैरआवासीय नेपाली स्तब्ध भएको जनाएको छ । सङ्घले दिवङ्गत सबैको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । सङ्घले अधिकारीको निधनबाट मुलुकले एक असल राष्ट्रवादी र होनहार युवा नेता गुमाएको जनाएको छ ।

‘नेपालको राजनीतिमा समाजसेवी तथा युवा नेताका रुपमा चिनिनुभएका अधिकारीसँगको एनआरएनएको गहिरो सम्बन्ध र सहकार्य रहेको थियो । पर्यटनमन्त्रीको पद सम्हालेपछि नेपालको पर्यटन प्रवद्र्धनमा लागि उहाँले गर्नुभएको पहल हाम्रा लागि चिरस्मरणीय रहनेछन्’, सङ्घका प्रवक्ता भूषण घिमिरेद्वारा जारी वक्तव्यमा भनिएको छ ।

संघले घटनामा परी दिवगङ्त भएका यति एयरलाइन्सका प्रबन्ध निर्देशक एवं नेपालका अग्रणी पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायत सबैको परिवारजनमा यस शोकको घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामनासमेत गरेको छ । यसैबीच, नेपाल चेम्बर अफ कमर्शले पनि मन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी शेर्पालगायतको दुर्घटनामा परी निधन भएकामा शोक व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

मेयर दुःखी
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सङ्घीय सरकारका मन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सात जनाको वुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा भएको निधनले आफू मर्माहत भएको बताएका छन् ।

जिसीले शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसँगै पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकप्टर चालकको निधनले मुलुकलाई ठूलो क्षति भएको उल्लेख गरेका छन् । पोखरा–३३ (साबिक भरतपोखरी गाविस) मा जन्मेर विद्यार्थी आन्दोलनबाटै क्रियाशील राजनीतिकर्मीका रुपमा स्थापित अधिकारी विकासप्रेमी, भरोसायोग्य, दूरदर्शी र उज्ज्वल नक्षत्र रहनुभएको जिसीले स्मरण गरेका छन् ।

पार्टीको झण्डा आधा झुकाइयो
पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको झण्डा आधा झुकाएको छ ।  नेकपा सचिवालयको बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका सबै कार्यालयमा विहिबार झण्डा आधा झुकाएको र तीन दिनसम्म शोक पुस्तिका राखिनेछ भने २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम समेत गर्नेछ । नेकपाले दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

अधिकारीको निधनमा गण्डकीका सबै जिल्लामा शोकसभा
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी बुधबार निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टिअघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिने र त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले जानकारी दिए ।

सरकारले स्व अधिकारीकोे राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय हिजो नै गरिसकेको छ । नेता गुरुङका अनुसार अधिकारीको अन्त्येष्टिमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, दलका नेतालगायत उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहनेछ ।

मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको खबरले मर्माहत बनाएको बताएका छन् ।

उनले जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्री अधिकारीका साथै यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, सो प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अङ्गरक्षक नेपाली सेनाका जमादार अर्जुन घिमिरेको निधनको खबरले मर्माहत बनाएको उल्लेख गरिएको छ ।

प्रतिनिधिसभाको बैठक स्थगित
विहिबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबार दिनको ३ बजे बस्ने गरी स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सूचनामार्फत् बैठक स्थगित भएको जानकारी दिए ।

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सात जनाको निधन भएकामा सरकारले विहिबार राष्ट्रिय शोकको घोषणा गरेकाले प्रतिनिधिसभाको बैठक नबसेको उनले बताए ।

प्रचण्डले परिवार भेटे
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई भेट गरी समवेदना प्रकट गरेका छन् । उनले पुल्चोकस्थित मन्त्री निवास हरिहर भवन पुगेर दिवङ्गत मन्त्री अधिकारीका बुबा, आमा र श्रीमतीलाई समवेदना दिएको दाहालको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले विहिबार व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालका परिवारसमेतलाई भेटी समवेदना दिएको सचिवालयले जनाएको छ ।

विवेकशील नेपाली पार्टीद्वारा दुःख व्यक्त
विवेकशील नेपाली पार्टीले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेको छ ।

पार्टीका प्रवक्ता मिलन पाण्डेले शोक विज्ञप्ति जारी गरी मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनको घटनाले विवेकशील नेपाली दल स्तब्ध भएको उल्लेख गरेका छन् ।

काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
नेपाली काङ्ग्रेस संसदीय दलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्ति जारी गरी मन्त्री अधिकारीसहित मृत्यु भएका सातै जनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

दुर्घटनामा मन्त्रीसहित वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाली नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रवदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकप्टर पाइलट प्रभाकर केसीको निधन भएको थियो ।

मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने
हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनकै गृह जिल्ला कास्कीमा हुने भएको छ ।

कास्की क्षेत्र नम्बर २ बाट सङ्घीय संसद्का लागि निर्वा्चित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उहाँका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए । मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका हुन् ।

यो पल्ट द्वन्द्वकाल जस्तो मृत्यु जितेर फर्किएनन् रवीन्द्र