काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव परीक्षणका लागि समय लाग्ने भएपछि सैनिक मञ्च टुँडिखेलमा हुने श्रद्धाञ्जली कार्यक्रम सरेको छ ।

सेनाको हेलिकप्टरमार्फत विहिबार दिउँसो काठमाडौं ल्याइएका शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गर्न समय लाग्ने भएकाले श्रद्धाञ्जली कार्यक्रम सरेको हो । पोष्टमार्टमका लागि १० देखि १५ घण्टा लाग्ने भएकाले विहिबारका लागि निर्धारित कार्यक्रम शुक्रबार बिहान ८ बजेसम्मका लागि सारिएको हो ।

शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका निमित्त प्रमुख डा. रिजेन श्रेष्ठका अनुसार शवको पहिचान नभएकाले शवको डिएनएका समय लाग्ने भएको हो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले समेत पोष्टमार्टमको कामले समय लिएको हुँदा ताप्लेजुङ दुर्घटनामा दिवंगत मन्त्रीसहितका व्यक्तित्वप्रतिको श्रद्धान्जली कार्यक्रम शुक्रबार विहान ८ बजेपछि मात्रै हुने जानकारी दिएका छन् ।

ताप्लेजुङको दाह्रेभीरमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको थियो ।