हेटौंडा । अहिले युवा जमात विदेश भनेको चाँडै बुझ्दछ । तर, आरनबारे सबैलाई थाहा नहुन सक्छ । चुलेसी, ओदान, कोरेसो, तावा, ताई, फाली, कब्जा, झिर जस्ता दैनिक जीवनका औजारहरु बनाउने ठाउँ हो आरन । यस्ता औजार आजभोलि खासै प्रचलनमा आउँदैनन् । कँचिया, हँसिया, खुर्पा, दाउ, कुटो, कोदालो र खुकुरी पनि यही घरेलु उद्योगमा बन्छ ।

हेटौँडा–६ चौघडामा सानो आरन छ । यहाँ खुकुरी, हँसिया, कँचिया, कुटो, कोदालो जस्ता किसानले प्रयोग गर्ने औजारहरु राखिएका छन् । अनि यहाँ काम गरिरहनुभएको छ हस्तबहादुर विश्वकर्मा । उमेरले ६४ वर्ष पुगेका विश्वकर्माको जोश र जाँगर भने तन्नेरीहरुको भन्दा कम छैन । वरिपरिका किसानका औजारलाई अर्जापी दिने मात्र हैन यो उमेरमा पनि आफैं नयाँ औजार बनाएर बेच्छन् ।

आकार हेरेर खुकुरीको एक हजार ८०० देखि माथि ४ हजारसम्म, कोदालो ७०० सयदेखि १ हजार ८०० सम्म, हँसिया ३०० देखि ५०० सम्म र कँचिया २०० देखि ३०० रुपैयाँसम्म पर्छ ।  उनका अनुसार खुकुरी बनाउन पर्ने मेहनतको मात्रै ९५ प्रतिशत ज्याला लाग्छ । कवाडमा ५० रुपैयाँ किलोमा पाइने गाडीको स्प्रिङ्ग पत्तालाई चम्किलो र आकर्षक खुकुरी बनाउन दुई दिन लाग्छ । ‘दुई दिनको कठोर मेहनत पर्ने खुकुरीको दुई हजार ज्याला त लिनै परयो नि, हैन र ?’ उनले प्रश्नसहित खुकुरी महङ्गो पर्नुको कारण खोले ।

काभ्रेपलाञ्चोकमा जन्मिएका विश्वकर्मा आफ्नो बुबाआमासँग २०२७ सालमा मकवानपुरको हात्तीसुढे भन्ने ठाउँमा बसाइँ सरे । त्यहीँ उनले आरन चलाउन सिके । बुबालाई सघाउँदा सघाउदै सिद्धहस्त बनेका विश्वकर्मा पाँच वर्ष अगाडि मात्रै हो, हेटौँंडा बसाइँ सरेको । उनी आउनुअघि यो क्षेत्रमा आरन थिएन । त्यसअघि स्थानीय बासिन्दालाई निक्कै नै समस्या रहेको स्थानीयवासी मिथिला देवकोटा स्मरण गरिन् । देवकोटाका अनुसार हँसिया, कँचिया र कुटा कोदाला अर्जाप्नु पर्दा चार पाँच किलोमिटर टाढा जानु पथ्र्याे । स्थानीयवासी तारादेवी सापकोटालाई पनि नजीकै आरन भएकामा सजिलो लागेको छ ।

तीन छोराका पिता विश्वकर्माका जेठो छोरोले मात्र पुख्र्यौली पेशा अङ्गालेका छन् । उनले हेटाँैंडाकै बस्तीपुरमा आरन खालेका छन् । माइला र कान्छा दुइभाइ भने अरु नै पेशा गर्छन् भन्छन्, हस्तबहादुर । घरमा श्रीमती, कान्छो छोरो, बुहारी र तीन नातिनातिनासँगै बस्नुभएका विश्वकर्मालाई दैनिक खर्च धान्न र नून तेल किन्न यो पेशाले पुगेको छ । ‘म दैनिक एक हजार रुपैयाँ बस्ने गरी काम गर्छु तर, कति दिन काम पनि नगरी बस्छु, त्यही भएर महिनामा १५ देखि २० हजारसम्म कमाइ हुन्छ होला’ उनले कमाइको अवस्थाबारे यसरी बताए ।

यो उमेरमा यस्तो काम गर्दा गाह्रो हुन्न ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘म अहिले पनि एक्लै खुकुरी बनाउन सक्छु । सकुञ्जेल काम गर्नुपर्छ, काम गर्न छोड्यो भने पो बूढो भइन्छ त’। ‘दलित’ शब्द र राज्यले दलितहरुलाई भनेर प्रदान गर्ने विशेष सुविधाको विरोध गर्ने विश्वकर्मा त्यस्तो सुविधाहरुमा पनि विभेद भइआएको जिकिर गर्छन् । जीवनकालमा दलित भएकै कारण अमानवीय व्यवहार भोग्नु परेको उनको अनुभव छ । अहिलेको आधुनिक र शिक्षित समाजभित्रका कथित ठूला जात भनिएकाहरुले गर्ने व्यवहारबाट सा¥है चित्त दुखेको बताउने उनलाई रक्सी खाने, सुँगुर खाने अनि आफूलाई ठूलो जात भन्नेहरुले आफूहरुसँग बसेर चिया खान हिच्किच्याएको देख्दा अनौठो लाग्छ । हेटौँडामा हातमा गन्न सकिने सङ्ख्यामा मात्रै आरन छन् । परम्परागत आरनको सङ्ख्या भने घट्दो रहेको सरोकारवाला बताउँछन् ।

हेटौँडा हरित नगरी हो । यहाँका प्रायः घरमा केही न केही बोट बिरुवाहरु रोपिएका छन् । मुख्य बजार बाहेक धेरै नगरवासीको सानो ठूलो करेसाबारी छ । उपमहानगरपालिकाले नै जनतालाई करेसाबारीतर्फ आकर्षण गर्न तालीमसमेत प्रदान गर्दैआएको छ । नगरभित्रै सयौं बिघा जमीनमा धान, गहुँ, मकै, कोदो, अदुवा तथा कयौं प्रकारका तरकारीहरु उत्पादन हुन्छ । ती किसानले प्रयोग गर्ने कृषि औजारको घरेलु मर्मत एवं उत्पादन केन्द्र अर्थात् आरनहरु भने लोप हँुदै गएका छन् । आरन व्यवसायीहरुको पलायनले राज्यको अर्थतन्त्रमै असर परेको बताउनुहुन्छ जातीय मुक्तिको आन्दोलनमा लामो समयदेखि लाग्दै आएका कमलकुमार विश्वकर्मा । उनका अनुसार यो व्यवसायबाट नयाँ पुस्ता टाढिनुका तीन कारण छन् । पहिलो कारण विभेद हो । आरन नै चलाएर बस्दा समाजले गर्ने विभेद झन् बढेर गरेकाले उनीहरुले यो पेशालाई निरन्तरता दिन सकेका छैनन् । दोस्रो, उचित ज्याला पाइँदैन ।

आरन सञ्चालनका लागि आवश्यक कोइला, काठपातको अभाव हुनु अर्को कारण हो । त्यही भएर आरनलाई आधुनिकीकरण गर्न सकिएको छैन । बाहिरी देशबाट आउने कृषि औजार भन्दा यहाँ बन्ने औजार बलिया हुन्छन् । यहाँको भौगोलिकता अनुसारका औजारहरु बन्ने र ती बीसौं वर्षसम्म पुनः प्रयोग गर्न मिल्ने हुन्छ । आरनलाई आधुनिक कृषि औजार उत्पादन केन्द्रका रुपमा सञ्चालन गरेर नयाँ पुस्तालाई आकर्षण गर्न सकिने उनी ठान्दछन् ।

नयाँ पुस्ताले यो पेशा अपनाउन रुचि नदेखाउँदा किसानलाई पर्ने समस्या त छँदैछ, आरन व्यवसाय र परम्परा नै लोप हुने खतरा बढेको छ । हेटाँैंडा नगरमा पनि आरन लगभग लोप हुने अवस्थामा पुगेको सामाजिक अभियन्ता नयाँ पाइला नेपालका अध्यक्ष विश्व सुनार बताउँछन् । उनका अनुसार काम नपाएर हैन नयाँ पुस्ताले यो पेशा नअङ्गालेर लोप हुने अवस्थामा पुगेको हो । किसानले वैकल्पिक बाटो रोज्ने अनि भविष्यमा आरनको आवश्यकता नै नपर्ने स्थिति आउन सक्नेतर्फ सचेत पार्दै उनले नयाँ पुस्तालाई यो पेशातर्फ आकर्षण गर्न सके राम्रो हुने बताए । उनका अनुसार आरन नहुनु भनेको हतियारको धार हुञ्जेल प्रयोग गर्नु अनि धार सकिए पछि फाल्नु हो । आरन भए कयौं पटक औजारहरुको पुनः प्रयोग गर्न मिल्छ । औजारहरु खरिदमा हुने लगानी पनि बचाउन सकिन्छ ।