बेझाड । उमेर धल्किदै गएपछि मान्छेमा जाँगर पनि घट्दै जान्छ । शरीरले आराम खोज्छ । तर, उमेर धल्के पनि चिमनारायणको जोश भने कहिल्यै बुढो भएन । अझै भनौ बढ्यौलिले त उनलाई छुदै छोएन । रामपुर नगरपालिका–५ सानीअमराई बस्ने चिमनारायण मानन्धरले ५६ वर्षको समय डोको बुनेरै बिताए । उमेरले नेटो कात्न थालिसक्यो । तर,डोको बुन्ने काममा भने जवानीकै जोश जागर निकाल्छन् मानन्धर ।

वन जङगल चहार्दै यो उमेरमा उनी आफैँ बाँसको चोया काँढेर डोको बुन्ने गर्छन् । “आफैँ बाँस खोज्न गाउँ गाउँमा जान्छु, घर ल्याएर चोया काँढ्छु, दिनभर डोको बुन्छु”, उनले भने । आफैँ चोया काँढेर दिनमा एउता डोको सिध्याएकै हुन्छन् उनी ।

मानन्धरले एक वटा डोकोको मूल्य रु २५० देखि ३०० सम्ममा बिक्री गर्छन् । “डोकोको माग गाउँघरमा बढिरहेको छ, डोको बुनेर नसक्दासम्म ग्राहक पर्खेर घरमै बसिरहन्छु”, उनले बताए । “हातमा सीप छ, घामपानीमा निस्कन नपर्ने र बूढेसकालमा दिन बिताउने बाटो पनि बनेको छ”, मानन्धर भन्छन् । उनले सानै उमेरदेखि बाउँबाजेसँग डोको बुन्ने सीप सिकेर व्यावसायिक रुपमा जीवनभर यो पेशा अंगालेका हुन् ।

“डोको बुनेर पहिला त छोराछोरीको पढाइ खर्च, घरखर्च चलाउँथे, अब त छोराछोरी सबै आआफ्नै पेशा व्यवसायमा लागेका छन्, डोको बुनेको केही रकम बंैकमा जम्मा गर्दै आएको छु”, मानन्धरले बताए । जीवनको अन्तिम समयसम्म पनि डोको बुन्ने उनको इच्छा छ । यस क्षेत्रमा डोको बुन्ने जनशक्ति कम हुँदा मानन्धरलाई डोको बुन्न यतिबेला भ्याइनभ्याइ छ । डोको बुन्ने व्यवसाय सँगसँगै किराना पसल पनि उनँले चलाएका छन् । पसलमा बसेर डोको बुन्ने गर्छन् उनी ।

विदेशको खाडीमुलुकमा गएर पसिना बगाउनुभन्दा घरमै बसेर डोको बुनी परिवार पाल्न युवापुस्तालाई उनको अनुरोध छ । हातमा सीप भयो भने जीवन बिताउन समस्या छैन । ज्येष्ठ नागरिक मानन्धरको व्यवसाय सबैका लागि उदाहरणयोग्य छ ।