भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका– १ भाराङ्गीकी १८ वर्षीया लालकुमारी चेपाङका काखमा दुई सन्तान छन् । १५ वर्षको उमेरमा बिहे गरेकी लालकुमारीले कक्षा ४ मा पढ्दापढ्दै विद्यालय छाडिन् ।

कलिलो उमेरमै दुई सन्तानकी आमा बनेकी लालकुमारीको विवाहपछि उच्च तहसम्मको अध्ययन गर्ने सपना अधुरै रह्यो । लालकुमारीलाई अझै पनि पढ्ने इच्छा छ तर उनलाई काखका सन्तान स्याहार्नै फुर्सद छैन ।

लालकुमारी जस्तै इच्छाकामना–२ थाप्राङ्की २२ वर्षीय माया चेपाङको पनि अवस्था उस्तै छ । उनको विवाह भएको छ वर्ष भयो । मायाको १६ वर्षको उमेरमा विवाह भयो । त्यतिबेला माया कक्षा ६ मा पढ्दै थिइन् । विवाहपछि उनले अध्ययनलाई निरन्तरता दिन सकिनन् । कलिलै उमेरमा उनी तीन सन्तानकी आमा बनिनन् ।

‘सन्तानलाई पढाउने उहाँको इच्छा छ तर परिवारको अवस्थाले नियमित स्कुल पठाउन सक्ने अवस्था छैन, माया भन्छिन्, ‘गरीब भएकै कारण पढ्नसमेत नसक्ने अवस्था हुँदो रहेछ, मायाले गुनासो गर्नुभयो ।’

इच्छाकामना एककै सन्तु चेपाङको उमेर १६ वर्ष भयो । उनको पनि विवाह भइसक्यो । विवाह भएको धेरै भा छैन, यही साल हो । उनले एक कक्षा पनि पढ्न पाएनन् । घरको अवस्था र साना भाइबहिनी हेर्नुपरेका कारण पढ्न नपाएको उनी बताउँछन् । उनी जस्तै चितवनका पहाडी क्षेत्रका अधिकांश चेपाङ समुदायका बालबालिकाको पढाइ नियमित छैन ।

कोही विद्यालय नै जान पाउँदैनन् भने गएका पनि नियमित हुँदैनन् । चेपाङ गाउँ पस्नेबित्तिकै पूरै जीउ नढाकिएका महिला र फाटेका जाँघे लगाएर खेल्दै गरेका बालबालिका देख्नु सामान्य नै हो । कतै स्कुल जाने उमेरका कलिला युवती काखे नानी लिएर काममा जोतिँदै गरेका देखिन्छन् ।

चेतनाको अभाव, गरीबी र भौगोलिक विकटताका कारण चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउनै समस्या देखिएको राष्ट्रिय आधारभूत विद्यालय भाराङका प्राचार्य दीपबहादुर गुरुङ बताउँछन् । बल्लतल्ल भर्ना भएका विद्यालय तहका बालबालिका बीचैमा पढाइ छोड्ने समस्या झन् तड्कारो बनेको उनको भनाइ छ । अधिकांशका अभिभावक शिक्षित छैनन्’ गुरुङले भने, ‘बाबुआमा काममा जानुपर्ने भएकाले ठूलाले सानालाई हेर्नुपर्नै बाध्यता छ ।’ भौगोलिक विकटताका कारण पनि कतिपय बालबालिका नियमित विद्यालय आउन नसकेको गुरुङले बताए ।

चेपाङ गाउँको अर्को समस्या सानैमा कुल्ली काम गर्न बजार जानु पनि हो । परिवारको आर्थिक अवस्थाका कारण सानैमा घरखर्च चलाउन बालबालिकालाई श्रमको रुपमा प्रयोग गर्ने गरिएको गुरुङले बताए । कक्षा ५ सम्म अध्ययन हुने राष्ट्रिय आधारभूत विद्यालय भाराङ्गमा २०९ जना विद्यार्थी छन् । तीमध्ये १५० जना मात्र नियमित छन् । पछिल्लो समय भरतपुरलगायतका क्षेत्रमा चेपाङ बालबालिका लागि खोलिएका विभिन्न संरक्षण केन्द्र र विद्यालयका कारण पनि गाउँमा अध्ययन गर्नेको कमी भएको उनले बताए ।

इच्छाकामना गाउँपालिकाका शिक्षा अधिकृत दीपक सिग्देल खाजा कार्यक्रम हटेपछि चेपाङ बालबालिकालाई विद्यालयमा नियमित बनाउन धौधौ भएको बताउँछन् । उनले भनेका छन्, ‘चेपाङ गाउँमा खाजा कार्यक्रम प्रभावकारी बनेको थियो, खाजा कटौती भएपछि बालबालिका विद्यालय आउनै छाडे ।’ बालबालिकालाई नियमित विद्यालय ल्याउनका लागि अनुगमन र घरदैलोलाई निरन्तरता दिएको उनले बताए ।

शिक्षक दरबन्दी मिलान गर्दा पनि बढी विद्यार्थी भएको विद्यालयमा शिक्षक पठाएको सिग्देलको भनाइ छ । चेपाङ बालबालिका विद्यालयमा नियमित नभएपछि एकीकृत गरेर छात्रवास सञ्चालन गरेर पढाउने योजना गाउँपालिकाको रहेको छ । इच्छाकामना–१ को मावि हात्तीबाङमा छात्रवास निर्माण भइरहेको सिग्देलले बताए । चेपाङ गाउँका बालबालिका करीब तीन घण्टासम्म हिँडेर विद्यालय जान बाध्य छन् ।