दार्चुला । जीप दुर्घटनामा परी दार्चुलामा ११ जनाको मृत्यु भएको छ । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा भएको जीप दुर्घटनामा परी ११ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेकोे जीप महाकाली नदीमा खसेको हो ।
सख्त घाइते जीप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको छ । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको बताइएको छ । प्रहरीका अनुसार जोखिमपूर्ण रहेको भन्दै बन्द गरिएको तथा गाडी चलाउन प्रतिबन्ध लगाइएको बाटोमा जिप दुर्घटना भएको हो ।