पोखरा । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमै सकिने भएको छ । उनका साथी धनराज आचार्यले ७ दिनमै काजकिरिया सकिने जानकारी दिए ।

पोखरास्थित मालेपाटनको जनप्रिय टोलस्थित निवासमा मन्त्री अधिकारीको काजकिरिया गर्न लागिएको छ । शुक्रबार श्रद्धाञ्जलि सभामा बोल्दै मन्त्री अधिकारीका बाल्यकालका समेत साथी रहेका आचार्यले अधिकारीको काजकिरिया ७ दिनमा सक्ने बताउनु भएको हो ।

उनले, ‘मन्त्री अधिकारीकी धर्मपत्नी विद्या, बुबा आमा, दुई भाइसँग सल्लाह गरेर काजकिरिया ७ दिन गर्ने निर्णय गरिएको हो’ भने । आचार्यका अनुसार मन्त्री अधिकारीको काजकिरिया फागुन २१ गते सकिने छ ।