एजेन्सी । पाकिस्तानको भूमिमा करीब ५६ घण्टा बिताएका भारतीय वायुसेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमान भारत फर्किएका छन् । अभिनन्दनलाई पाकिस्तानले शुक्रबार करीब साढे ९ बजे राति बाघा अटारी सीमाबाट भारतलाई बुझाएको हो । अभिनन्दनलाई विमानमा राखेर इस्लामाबादबाट लाहौर लगिएको थियो । त्यहाँबाट पाकिस्तानी सेनाका गाडीहरू अभिनन्दनलाई लिएर स्थलमार्गबाट वाघा पुगेका थिए । भारतीय वायुसेनाका अधिकारीहरू पनि हस्तान्तरण कार्यक्रममा उपस्थित भएको बीबीसीले जनाएको छ ।

पाकिस्तानले भारतको सीमामा सुम्पिएपछि दुवै तर्फको बोर्डरको गेट लगाइएको छ । त्यहाँ बीएसएफएका सम्पूर्ण अधिकारी, पञ्जका प्रशासनका सम्पूर्ण अधिकारी पुगेका थिए । अभिनन्दनलाई स्वागत गर्न हजारौँ भारतीयहरू सीमावर्ती अटारीमा जम्मा भएका थिए । उनीहरूले हातमा मिष्ठान्न, विभिन्न नारा लेखिएका ब्यानर र माला बोकेको देखिन्थ्यो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहिबारै पाकिस्तानी संसदको संयुक्त सत्रमा सम्बोधन गर्दै भारतीय पाइलट रिहा गर्ने जानकारी दिएका थिए ।

के भने अभिनन्दनले ?
यसैबीच, अभिनन्दनले आफू स्वदेश फर्किन पाएकोमा खुशी व्यक्त गरेको भारतीय वायु सेनाले जनाएको छ । भारतको भूमिमा टेक्ने वित्तिकै अभिनन्दनले ‘आफ्नो देश आउन पाउँदा निकै खुशी लागेको छ’ भनेको अभिनन्दनलाई लिन सीमा क्षेत्रमा पुगेका भारतीय अधिकारीले बताएका छन् ।

अभिनन्दन वायुसेनाको विमान मार्फत राति १२ बजेतिर दिल्ली विमानस्थलमा ओर्लिएपछि स्वास्थ्य जाँचका लागि सेनाको अस्पताल लगियो । अभिनन्दनको स्वदेश फिर्तीमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, रक्षा मन्त्री निर्मला सीतारमण, कांग्रेस अध्यक्ष राहुल गान्धी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीसहितका नेताले खुशी व्यक्त गरेका छन् ।

भारतीय वायु सेनाको विमानका चालक अभिनन्दनलाई पाकिस्तानी सेनाले गएको फेब्रुअरी २७ मा नियन्त्रणमा लिएको थियो । अभिनन्दनलाई दुई दिनपछि पाकिस्तानले रिहा गरेको हो ।

पाकिस्तानले सार्वजनिक गरेको भिडियोमा अभिनन्दनले ‘पाकिस्तानी सेना व्यवसायिक सेवा हो । मलाई अरुबाट बचायो, प्राथमिक उपचार दियो र अस्पतालमा जाँच गरायो’ भन्नु भएको छ ।