काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको नारायणहिटी दरबारभित्रका थप कक्षको उद्घाटन गर्ने धोको अपूरै रह्यो ।

केही दिनअघि मात्रै उनले नारायणहिटी दरबार सङ्ग्रहालयका पदाधिकारीलाई आफू छिट्टै थप कक्ष उद्घाटन चाहाना राखेका थिए ।

सङ्ग्रहालयका प्रमुख अद्वैतप्रकाश श्रेष्ठका कानमा स्वर्गीय अधिकारीले ‘अद्वैतजी, के के सम्पदा र कक्ष देखाउन बाँकी छ ? भनेर राख्नुभएको जिज्ञाशा अझै गुञ्जिरहेको छ ।

उनले केही दिनअघि भेट्दा मन्त्री अधिकारीले राखेका कुरा सम्झिँदै उनले भने, ‘अब केही उद्घाटन गर्न बाँकी छ मैले भनेर उहाँले सोध्दै हुनुहुन्थ्यो । मैले पुस्तकालय, केही हल सार्वजनिक गर्न बाँकी छ भने । उहाँले सिनेमा हल हो भनेर सोध्नु भयो । मैले त्यो होइन, अरू र श्रीसदन हो मन्त्रीज्यू भनेको थिए । अनि उहाँले ‘ल, ल ठिक छ, म छिटै आउँला भन्नुभएको थियो ।’

दिवंगत अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी लिएपछि गत जेठ १६ गते पहिलोपटक नारायणहिटीमा पाइला टेके । उनले त्यस बखत दरबार अवलोकन गर्नुका साथै त्रिभुवन सदन र त्यहाँ भएको हत्याका बारेमा विशेष चासो राखेका थिए । वलोकनको अन्तिममा उनले हालसम्म सार्वजनिक नगरिएको तत्कालीन राजपरिवारको सिनेमा हल हेरेका थिए । उनले हलभित्र प्रवेश गरी पर्दा र प्रोजेक्टर राखिने स्थानलाई अवलोकन गर्दै सिनेमा हलका बारेमा जिज्ञाशा राखेका थिए ।

सङ्ग्रहालयका प्रमुख श्रेष्ठले सिनेमा हल ‘अन्डरग्राउन्ड’ भएकाले तत्काल सार्वजनिक गर्ने योजनामा नरहेको स्पष्ट पारे अवलोकनपछि अधिकारीले त्यहाँ रहेको आगन्तुक पुस्तिकामा लेखेका थिए, ‘नारायणहिटी दरबार सङ्ग्रहालयको निरीक्षण तथा अवलोकन गर्ने अवसर प्राप्त भयो । नारायणहिटी दरबार सङ्ग्रहालयलाई व्यवस्थित गर्नको लागि गरिएका प्रयासहरू प्रशंसनीय हुन् तर पर्याप्त छैनन् । ऐतिहासिक संरक्षण र व्यवस्थापनका लागि अझ मिहिनेत गर्नुपर्ने छ । व्यवस्थापनमा संलग्न सबै कर्मचारी साथीहरूलाई धन्यबाद दिन चाहन्छु ।’

ठिक १० महिनापछि आगन्तुक पुस्तिकामा लेखिएका ती अक्षर देखाउँदै सङ्ग्रहालय प्रमुख श्रेष्ठले भने, ‘दरबार संग्रहालयलाई व्यवस्थित गर्ने कुरामा उहाँले निकै चासो लिनुभएको थियो । उहाँले सबै कक्षहरुलाई छिटो प्रदर्शनीमा ल्याउनु पर्दछ भन्ने चाहना राख्नुभएको थियो ।’

अधिकारी मन्त्री बनेपछि तीनपटक दरबार सङ्ग्रहालय पुगे । जेठपछि श्रीपेच प्रदर्शन गर्दा र विभिन्न १० वटा कक्ष उद्घाटन गर्दा उनी नारायणहिटी दरबार पुगेका हुन् ।

उनले गएको मङ्सिर ७ गते नारायणहिटी दरबारभित्रका सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिरहा, पर्सा, चितवन, कपिलवस्तु र तत्कालीन राजाका अंगरक्षकको कक्ष उद्घाटन गरे । सिन्धुली कक्षलाई तत्कालीन बडामहारानीले शृङ्गार गर्न, झापा कक्षलाई अन्य व्यक्तिले राजासँग भेट गर्न, इलाम कक्षलाई प्रधानमन्त्रीले सातामा एकपटक भेट्न, सुनसरी कक्ष जनै पूर्णिमामा राजपरिवारले जनै फेर्न र डोरो बाँध्न प्रयोग हुन्थ्यो । सप्तरी कक्षमा युवराज्ञीको जन्मोत्सवमा मुमा रत्न शाहले भोज गर्न, सिरहा कक्ष खाना खानु अघि कुराकानी गर्न प्रयोग गरिन्थ्यो ।