काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारको जागिर खुस्किएको छ । जागिर खुस्किएको चाँहि उनकै मतिले । आर्थिक अपचलन गरेको आरोप छ, उनीमाथि ।

पदीय दायित्व पूरा नगरेको, एमआरआई खरिद प्रक्रिया स्वीकृत नभई रकमान्तर गरेर पटक–पटक टेन्डर रद्द गरेको, मन्त्रालयले दिएको निर्देशनलाई अवज्ञा गर्दै अटेर गरेको, चेन अफ कमाण्ड नमानेको जस्ता आरोपले उनको थाप्लो खुइलिने पक्का छ । विवादित रौनियारलाई बर्खास्त गर्न शुक्रबार बालुवाटारमा ४२औं सिनेट बैठक बस्यो । त्यहाँ उनलाई स्पष्टिकरणको मौका दिइएको थियो । ५ मिनेटमा उनले लरतरो बोले, चित्तबुझ्दो ढंगले कुरा राख्न सकेनन् ।

बर्खास्तमा परिसकेपछि उनले सिनेट बैठकमा पाँच मिनेटमात्र बोल्न दिएर उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बाहिर धपाएको सुनाए । आफुलाई बाहिर पठाएको र बैठकमा सिनेटरसँगको छलफलमा बस्न नदिई तानाशाही रूपमा एकलौटी निर्णय गरेको उनको भनाई छ । उनले आफु प्रतिष्ठानको उपकुलपति नै रहेको फेरि पनि दावी गरे । उनले, ‘म अहिले पनि प्रतिष्ठानमा उपकुलपति नै छु । मलाई प्रधानमन्क्रीले नियुत्ति दिएको हो । उपेन्द्र यादवले होइन’ भने । अब उनी जतिनै तातिएपनि केही हुने वाला छैन । कारण: बोल्नलाई दिएको ५ मिनेटमा उनले आफ्नाे आङ्मा चिसो पानी खन्याइसकेका थिए ।

उनले आफू उपकुलपति भएर आउनु अघि नै निर्णय भएका चार सय शय्याको एमसीएच भवन, २ सय शय्याको क्यान्सर उपचार केन्द्र (अंकोलोजी), २ सय शय्याको मुटुरोग उपचार केन्द्र (कार्डियोलोजी) को भवन र एनएफआरएसका विषयमा पहिलेकै निर्णयकर्ता नै छानबिन समितिको सदस्य भएकाले उनरुविरुद्ध प्रधानमन्त्रीकोमा जान लागेको उनले सुनाए ।  उनीदेखि प्रधानमन्त्री ओली पहिले नै फायर छन् । रौनियारले यसअघि प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बोलाएको सिनेट बैठक बहिस्कार गरेका थिए । सिनेट बैठक प्रतिष्ठानको ऐन विपरित भएको भन्दै प्रधानमन्त्री कार्यलयविरुद्ध रौनियारले सर्वोच्च अदालतमा मुद्दा समेत हाले । यस्तो विधि गर्दै हिँडेका उनका कुरा प्रधानमन्त्रीले सुन्लान् र ?

प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रौनियारलाई बर्खास्त मात्रै होइन, आर्थिक अनियमितता छानबिन गर्न एक उच्चस्तरीय समिति समेत बनाउन लगाउँदै छन् । अब उनको करङ ‘डणाल्नो’ जताबाट पनि भाँचिने भइहाल्यो । सिनेटले शिक्षाध्यक्ष डा. गुरुप्रसाद खनाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी समेत दिइसकेको छ ।  प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी र स्वास्थ्यमन्त्री यादवसहित प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनाल र रजिस्ट्रार तुलबहादुर श्रेष्ठले तयार पारेको प्रतिवेदनले उनको नियत खोलेपछि बर्खास्त गरिएको बताइँदै छ । यद्यपि, ती दुवै प्रतिवेदन सार्वजनिक भने गरिएको छैन ।

गगनले सिफारिस गरेका रौनियारलाई उपेन्द्रले लखेटे
रौनियार कांग्रेसको कोटाबाट तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको सिफारिसमा दुई वर्षअघि प्रतिष्ठानको उपकुलपति भएका थिए । उनको विपक्षमा रहेका रजिस्ट्रार तुलबहादुर श्रेष्ठ तत्कालीन एमाले र शिक्षाध्यक्ष डा. खनाल तत्कालीन नेकपा एमाओवादी कोटाबाट प्रतिष्ठानमा आएका हुन् ।

स्वास्थ्यमन्त्री यादवले फागुन १६ गते सिनेट बैठक बस्न निर्देशन दिएपछि त्यसलाई रोक्न उपकुलपति रौनियारले सर्वोच्च अदालतमा रिट हाले । सर्वोच्चले निषेधाज्ञा जारी नगरी आउँदो आइतबार दुवैपक्ष राखेर छलफल गर्न बोलाएको छ । तर, यहाँनेर सरकारले चलाखि गरेको छ । आइतबार छलफललाई बोलाएको अवस्थामा सिनेटले भने रौनियारलाई लखेट्यो । रौनियारको मति त यो परिणामको मूल कारण हुँदै हो, तर सहकुलपति तथा स्वास्थ्यमन्त्री यादवले सर्वोच्चको छलफल अघिनै पदबाट गलत्याउनु भने शंका उब्जाएको छ । यहाँनेर पूर्वाग्रह गन्हाएको छ । तर, आफ्नो ल्याउने र अर्काका फ्याँक्ने चलन भने नौलो होइन । अलि अलि तमासा सबैले देखाउँछन् । उपेन्द्र यादवको कदम पनि पूरानै तमासा प्रेरित हो, भन्न धक मान्नु पर्दैन ।

सम्बन्धित
प्रतिष्ठानमा देखिएको नीतिगत एवं आर्थिक अपचलनका कारण प्रतिष्ठान नै धराशायी अवस्थामा पुगेको छ । तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहोराकै पालामा सञ्चालक समिति बैठक (सिनेट) बोलाउन चिठ्ठी लेखियो । रौनियारले पुच्छरसम्म पनि हल्लाएनन् । अहिले पनि सहकुलपति एवं स्वास्थ्यमन्त्रीले सिनेट बैठकका लागि चारपटक चिठ्ठी लेखे ।

शुक्रबार भने प्रधानमन्त्री ओलीले हस्तक्षेप नै गर्नु पर्ने अवस्था आयो । उनकै प्रत्यक्ष हस्तक्षेप तथा निर्देशनमा सिनेट बैठक बस्यो । ‘आर्थिक र नीतिगत भ्रष्टाचारका धेरै विषय अडकिएर बसेका थिए । मातृशिशु भवन, क्यान्सर तथा मुटुरोग निदानको विशिष्ट सुविधायुक्त भवन निर्माणसहित विषयमा करोडौं रुपैयाँ भ्रष्टाचारको उजुरी उपकुलपतिविरुद्ध परेको अवस्था छ । अहिले अख्तियार र अदालतमा मात्रै झन्डै एक दर्जन मुद्दाहरू अल्झेर बसेका छन् । यी विषयमा परामर्श गर्न उपकुलपतिले चाहनुभएकै छैन’ बैठकमा सहभागि प्रतिष्ठानका पदाधिकारीले भनेका छन् ।

क्यान्सर र मुटुरोग निदानमा विशिष्ट केन्द्र निर्माणमा कुल ४ सय शय्याको भवन बनाउन आर्थिक वर्ष २०७२–०७३ मै १४ करोड रुपैयाँ निकासा भएकोमा त्यो रकम रकमान्तर भइसकेको र भवन बनाउने निर्णयसमेत खारेज भएकोबारे स्वास्थ्यमन्त्री यादवले सिनेट बैठकमै चासो राखेका थिए । नक्सा, डिजाइनिङ र परामर्शदाता नियुक्तिमै ७ करोड रुपैयाँ खर्च भइसकेको बताइन्छ ।

प्रतिष्ठानमा धेरै पुरानो एमआरआई मेसिन रहेकाले नयाँ मेसिन ल्याउनेबारे २०७२–०७३ मै स्वास्थ्य सेवा विभागको ‘स्पेसिफिकेसन’ अनुसार ‘१.५ टेस्ला’ एमआरआई खरिद गर्ने निर्णय भएको थियो ।
त्यही मेसिन ल्याउन यसअघिका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासले पहल गर्दा तत्कालीन रेडियोलोजी विभाग प्रमुख रहेका रौनियारले त्यो क्षमताको एमआरआई उपकरण खरिद गर्ने प्रक्रिया खारेज गरिदिएका थिए । ‘त्यही एमआरआई उपकरण (१.५ टेस्ला) वर्तमान उपकुलपति रौनियारले खरिद गर्न लाग्दा पहिले खरिद गर्न लागेकोभन्दा ६ करोड रुपैयाँ बढीको टेण्डर पारित गरेपछि आर्थिक चलखेलको सुइको मिलेको हो ।

उपकुलपति रौनियारले खास मूल्य १२ करोड पर्ने उपकरण १८ करोड रुपैयाँमा किन्न लागेपछि प्रतिष्ठानमा निवाद उठेको थियो । रौनियार एमआरआई उपकरण खरिद प्रकरणमा मुछिएपछि पूर्वस्वास्थ्यमन्त्री बोहराको पालामा बसेको ४०औं सिनेट बैठकले तत्कालीन स्वास्थ्य सचिव किरण रेग्मीको संयोजकत्वमा एक छानबिन समिति गठन भएको थियो ।

तर, छानबिन पूरा हुनै नपाई सचिव रेग्मीले अवकाश पाएपछि यो विषय थन्किएको थियो । आर्थिक र नीतिगत अपचलनको आरोपमा मुछिँदै गएपछि स्वास्थ्यमन्त्री यादवले कुनै प्रकारको आर्थिक कामकारबाही सञ्चालन नगर्न निर्देश गरे पनि उपकुलपति रौनियारले पछिल्लो ५ महिनामा मात्रै ५ करोड रुपैयाँभन्दा बढी बजेट आफुखुसी रकमान्तर गरिसकेको विषयले पनि शुक्रबारको सिनेट बैठकमा प्रवेश पाएको थियो । त्यो विषयमा रौनियारले चित्त बुझ्दो जवाफ दिएनन् । उनको जागिर एम्बुसमा पर्यो ।

यस्तै, सिनेट बैठकले चार वर्षअघि निर्माण सुरु भएर बीचैमा रोकिएको ४ सय शय्याको मातृ तथा शिशु उपचार केन्द्र भवन (एमसीएच) निर्माण योजना फुकुवा गरेको छ  । यस्तै, २ सय शय्याको क्यान्सर उपचार केन्द्र (अंकोलोजी), २ सय शय्याको मुटुरोग उपचार केन्द्र (कार्डियोलोजी) को भवन र एनएफआरएस योजनालाई अर्को वर्षदेखि निरन्तरता दिने निर्णय पनि सिनेटको छ ।