काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा इमान्दार नेताहरु नभएको टिप्पणी गरेका छन् ।

शनिबार डिल्लीबजार बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, विपी कोइरालाजस्ता नेताहरु कोही नभएको बताए । यदि भए आफूलाई देखाई दिनसमेत चुनौति दिए ।

पूर्व राष्ट्रपति यादवले अहिले इमान्दार मान्छेहरुले चुनाव जित्न नसक्ने अवस्था आएको भन्दै ठेकेदार र पैसा लिएर सांसद बनाउने काम भइरहेकाले मुलुकमा इमान्दार राजनीति गर्नेहरुको अभाव रहेको उनको तर्क थियो ।

पूर्व राष्ट्रपति यादवले राजनीति ठिक नभएकाले मुलुकको शैक्षिक क्षेत्रको पनि उचित विकास हुन नसकेको बताए । उनले मुलुकको भूगोल सुहाउँदो शिक्षाको आवश्यकतामा जोड दिँदै विज्ञहरुको सुझाव लिएर मुलुकको शिक्षा क्षेत्रको उचित विकासमा सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए ।