दार्चुला । ११ जनाको निधन हुनेगरी शुक्रबार भएको जीप दुर्घटनाबारे छानविन हुने भएको छ । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा भन्ने ठाउँमा शुक्रबार साँझ भएको जीप दुर्घटनाबारे छानविन हुने सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर कुँवरले बताएका छन् ।

उनका अनुसार दार्चुला–तिङ्कर सडक सिंगल ट्रयाक मात्रै हो । जुनबाटोमा जीपले पाँच जना यात्रु मात्रै बोक्न पाउँछ । अझ त्यसमा पनि राताकाठा भन्ने ठाउँमा त सबै यात्रु ओरालेर मात्रै पाटो पार गराउनु भन्ने, कुरा परमिटमै भनिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टकै कुरा पनि बाँझिएको छ । प्रमुख जिल्ला अधिकारी विष्टले त्यो बाटोमा गाडी चलाउन प्रतिबन्ध थियो, भने । तर, सहायक प्रमुख जिल्ला अधिकारीले पाँच बोक्न पाउने तर अफ्ठेरो ठाउँमा सबै यात्रु ओराल्ने भन्ने सम्झौता छ, भने । कुरा जे सुकै भएपनि सिंगल ट्रयाकमा भरिभराउ यात्रु बोकेर गाडी कुदाउनु जबरजस्ती काल निम्त्याउनु नै हो । यसबारे बढी चासो राख्नु पर्ने स्थानीय सरकारले हो । यहाँनेर, जनप्रतिनिधिको भूमिका खड्कियो ।

शुक्रबार सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेकोे जीप महाकाली नदीमा खस्यो । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेसँगै टुक्रिएको छ । ११ जनाको घटनास्थलमै निधन भयो ।

निधन भएकाको नामावली
–कल्याण सिं बडाल : दुहुँ गाउँपालिका २, वर्ष ४५
–निर्मला बडाल : दुँहुँ गाउँपालिका २, वर्ष १६ (कल्याण सिं बडालकी छाेरी)
–परूली धामी : दुँहुँ गाउँपालिका २, वर्ष ३५
–धनबहादुर बम :  दुँहुँ गाउँपालिका १, वर्ष ५४
–अम्मरा बम : दुँहुँ गाउँपालिका ४, वर्ष ५५
–आयुसा बम :  दुँहुँ गाउँपालिका ४, वर्ष ७
–गाेमती बम : दुँहुँ गाउँपालिका १, वर्ष ४५
–धना बम : दुँहुँ गाउँपालिका १, वर्ष ७१
–मानमती भट्ट :  दुँहुँ गाउँपालिका १, वर्ष ५३
–धनबहादुर चन्द : बैतडी दोगडा ६ सित्तड, वर्ष ६०
–स्नेहा चन्द : बैतडी दोगडा ६ सित्तड, वर्ष २१
–चालक दीपकसिंह धामीको भारतको विथौरागढमा उपचार हुँदै

यो दुर्घटनाको छानविन हुन्छ

–टेकबहादुर कुँवर, सहायक प्रमुख जिल्ला अधिकारी, दार्चुला

० अब पनि त्याे ज्यानमारा बाटाेमा गाडी चल्छन् ?
–त्यो सिंगल बाटो हो, निर्माण पनि भइरहेको छ । भीर छ, तल महाकाली छ । हामीले त्यो ठाउँमा पेसेन्जर ओरालेर मात्रै जान दिने भनेर परमिट दिएका छौँ । पेसेन्जर झारेर मात्रै चलाउनु भनेर भनेका थियौँ हामीले ।

० यो विषयमा छानविन हुन्छ कि हुँदैन ?
–छानविन हुन्छ । हामीले कमिटमेन्ट पनि गराएका छौँ, पाँच जना भन्दा बढी यात्रु राख्यो भने आफै क्षतिपूर्ति दिन्छु भनेर । छानविन सुरु हुन्छ अब ।

० ११ जनाको निधन भएको छ, अब ति सबैलाई कसले, कहाँबाट, कसरी क्षतिपूर्ति दिन्छ ?
–यातायतले अनुमति दिएको पाँच जनाको त, बीमा गरेको होला । अरु समितिले हामी आफै तिरौँला भन्ने कुरा गरेको छ ।

० जुन गाडि दुर्घटना भयो, अहिले पनि समितिमै हो ?
–समितिमै छ । यिनिहरु प्रा.लि.मा लैजानु पर्ने हो । महाकालीको बस समिति छ, यो जीप पनि त्यही अन्र्तगतकै हो । हामी प्रालिमा जान्छौँ भन्छन्, अहिले पनि समितिबाटै चलाइरहेका छन् ।

० अहिले पनि समिति मै छन् उनीहरु ?
–हो, समितिमै छन् ।

० यो सिण्डिकेट हैन त ?
–भन्छन् क्यारे । त्यही भएर कम्पनीमा जानू भनेको होला सरकारले ।

पढिहाल्नु भो, दाुर्चलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर कुँवरले भनेका कुरा । अनि चाल पाउनु भो त ? दार्चुलामा त सरकारले सिण्डकेट तोडेको रहेनछ, भन्ने । वर्तमान सरकार आउनेवित्तिकै मुलुकबाट यायायात क्षेत्रको सिण्डकेट अन्त्य भयो भनेर निकै हल्लाखल्ला भएको थियो । केही महिनाभित्रै सबै देशभर रहेका यातायात समितिहरु कम्पनीमा रुपान्तरण हुन्छन्, स्वच्छ प्रतिस्पर्धा हुन्छ, यात्रुले सुख पाउँछन्, भनियो त्यो बेला । केही यातायात समिति ‘लाजकाज’ कम्पनीमा गए ।

तर, ५ सय हाराहारी रहेका यातायात समिति कहिले खारेज भइसक्नु । सबै खारेज भए भन्ने सरकारले नै पछि घुँडा टेक्यो । अहिले पनि यातायात समितिहरुको छाता संस्था सग्लै छ । त्यही छाता संगठनले छाता घुमाएजस्तो फन्फन्ती घुमाइरहेकै छ । यही बेला यातायातवालाहरुले सार्वजनिक सवारीको भाडा बढाउने गाइँगुइँ पनि सुनिँदै छ ।

सिण्डिकेट अन्त्य भयो भन्ने मन्त्री ज्यूको मुखमा ‘बुजो’ बिर्को लागेको अवस्था छ । प्रधानमन्त्रीलाई दुर्घटनामा निधन भएकालाई श्रद्धाञ्जली दिनै ठिक्क छ । दार्चुला दुर्घटनामा पनि प्रधानमन्त्रीको एकसरो समवेदना बाहेक अरु चालचुल सुनिएन ।