काठमाडौँ । मैत्रीपुर महाविहारका चक्रेश्वर धूपरत्न बज्राचार्यले शनिबारदेखि बज्रयान बौद्धधर्मको सर्वोच्च पद मूल चक्रेश्वराभिषक भएका छन् । काठमाडौँका विभिन्न १८ वटा बज्रयान बौद्धधर्मसँग सम्बन्धित महाविहार तथा १६ वटा बहीका ज्येष्ठ चक्रेश्वरलाई यो पद दिइने परम्परा रहेको छ ।

नेपाल परम्परागत बौद्धधर्म सङ्घ, मैत्रीपुर महाविहार, फ्रेण्डस् अफ शान्तिपुरको संयुक्त तत्वाबधानमा शनिबार भएको यो मूल चक्रेश्वराभिषेकको परम्परा लिच्छ्वीकालदेखि शुरु भएको जनविश्वास छ ।

काठमाडौँको थँहितीस्थित मैत्रीपुर महाविहारमा शनिबार भएको विशेष कार्यक्रममा राजगुरुजु मञ्जुश्रीरत्न बज्राचार्यले भगवान बुद्धको मुकुट पहिराई दिई धूपरत्न बज्राचार्यलाई मूल चक्रेश्वराभिषेक गरेका थिए ।

समारोहमा बौद्धविद्वान नरेशमान बज्राचार्यले बज्रयान बौद्धधर्मको अभिषेक गाथा वाचन गरेका थिए । उनले विशेष मन्त्रोच्चारणका साथ कलषाभिषेक, मुखुताभिषेक, चक्राभिषेक, छत्राभिषेक वाचन गरेका थिए ।

राजगुरुजु मञ्जुश्रीरत्न बज्राचार्यले भगवान बुद्धको मुकुट पहिराएर बज्र, गँ तथा छत्र हस्तान्तरण गरे । प्राध्यापन पेशामा आबद्ध धूपरत्न बज्राचार्य सन् १९६० तिरका विद्वान हुन् ।

कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुरका चक्रेश्वरको पनि उपस्थिति थियो ।

त्यस अवसरमा बौद्ध विद्वान एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति नरेशमान बज्राचार्यले विश्वभर छरिएर रहेको बताउँदै बुद्धधर्ममा बुद्ध, धर्म तथा सङ्घको विशेष महत्व रहेको बताए । उनले नेपालमा मात्र नभई श्रीलङ्का, चीन, थाइल्याण्डजस्ता मुलुकमा पनि बौद्ध धर्मावलम्बीको मूलचक्रेश्वराभिषेक गर्ने प्रचलन रहेको बताए ।

बुद्धधर्ममा अर्हत फल लाभ गरेका श्रावक बुद्ध, प्रत्येक बुद्ध तथा सम्यक बुद्ध रहेको बताउँदै बज्राचार्यले संसारमा बुद्ध जहिले पनि हुन्छ भन्ने बौद्ध धर्मावलम्बीको विश्वास हुने बताए ।

राजगुरुजु मन्जुश्रीरत्न बज्राचार्यले बज्रयान बौद्धधर्मको विकास गर्नका लागि दे थाय्पा सम्मान कोष स्थापना गर्नुपर्ने विचार व्यक्त गरे ।

बौद्ध विद्वान भीमरत्न बज्राचार्य, मैत्रीपुर महाविहार संरक्षण समितिका अध्यक्ष सूर्यरत्न बज्राचार्यले मल्लकालसम्म बज्रयान बौद्धधर्मलाई राज्यको धर्मको रुपमा ग्रहण गर्दै आएकामा हाल राज्यले बेवास्ता गरेको बताए ।