काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।

अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको जानकारी गराएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका अधिकारी निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा भर्ना भएका थिए ।

मेडिसिटी अस्पतालमा एकमहिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि गत माघ २४ गते अधिकारीलाई ह्याम्स अस्पतालमा रिफर गरिएको थियो ।

नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित थिए । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए । त्यसबेलाको वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन उनकै योजना थियो । उक्त कार्य अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ ।