काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । करिब सात दशक लामो समय वाम आन्दोलनमा समर्पित रहँदै राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेका अधिकारीको ८२ वर्षको उमेरमा शनिबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएको हो ।

श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या देखिएपछि २३ पुषदेखि अधिकारीलाई ललितपुरको मेडिसीटी अस्पतालमा राखिएको थियो । तर, स्वास्थ्यमा थप सुधार नभएपछि चिकित्सको सल्लाहमा २४ माघमा ह्याम्स अस्पताल सारिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि दुईहप्तादेखि भेन्टिलेटरमा राखेर गरिएको उपचारले पनि स्वास्थ्यमा सुधार भएन ।

को थिए भरतमोहन ?
महोत्तरी जिल्लाको भ्रमरपुरा गाउँमा २२ वैशाख, १९९३ मा जन्मिनु भएका अधिकारी नेपालको वामपन्थी आन्दोलनको पहिलो पुस्ताका नेता थिए । राणा शाहीले पिता रामचन्द्रको सुब्बा जागिर खोसेपछि अधिकारी परिवार वीरगञ्ज हुँदै बिराटनगर पुग्यो, जहाँ भरतमोहनसहित उनका दाजुभाइले मावली विपी परिवारको सामिप्यतामा प्रारम्भिक स्कूले शिक्षा आर्जन गरे ।

२००७ सालको क्रान्तिताका अध्ययनको सिलसिलामा बनारसमा पुग्नु भएका अधिकारी कम्युनिस्ट विचारधारा नजिकका नेपाली विद्यार्थीहरूले खोलेको ‘स्टडी सर्कल’मा संलग्न भए । भारतीय कम्युनिष्ट पार्टीलाई निर्वाचनमा सघाउने क्रममा १६ वर्षकै उमेरमा अधिकारीले २००९ सालमै भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिइसकेका थिए ।

२०१४ सालमा भएको नेपाल कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशन(फोहरा दरबार)बाट प्रतिनिधिका रुपमा माउ पार्टीमा छिरेका अधिकारी २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भए । भारतबाट अर्थशास्त्रमा एमए गरेपछि तत्कालीन सोभियत सरकारले अधिकारीलाई मस्कोमा पिएचडीको छात्रवृत्ति दिएको थियो । तर, अधिकारीले त्यो छात्रवृत्ति त्यागे । र, तत्कालीन राजा महेन्द्रको निरंकुश तानाशाहीविरुद्धको आन्दोलनमा होमिए ।

तेस्रो महाधिवेशनपछि कम्युनिष्ट पार्टीमा विभाजनको शृंखला सुरु भएपछि पूर्व कोशी प्रान्तीय कमिटीमा संगठित भएका अधिकारीले २०२८ सालमा मनमोहन अधिकारी र निर्मल लामा समूहसँग मिलेर केन्द्रीय न्यूक्लियस गठन गरे ।

२०३५ सालमा नेकपा मनमोहन समूहका पोलिटब्यूरो सदस्यमा निर्वाचित अधिकारी २०४३ मा साहना प्रधानले नेतृत्व गरेको नेकपा पुष्पलाल समूहको एकतापछि बनेको नेकपा मार्क्सवादीको पोलिट ब्यूरोमा निर्वाचित भए ।

पञ्चायत ढाल्नका लागि संयुक्त जनआन्दोलनमा जोड दिँदै अधिकारी २०४४ मा गठित संयुक्त वामर्मोचाको सदस्य बने । उनी २०४६ को जनआन्दोलन तत्कालीन मार्क्सवादीका तर्फबाट वामर्मोचाको एउटा कमाण्डरका रुपमा सहभागि भए ।

जनआन्दोलनको सफलतापछि विश्वनाथ उपाध्याय नेतृत्वको संविधान मस्यौदा आयोगमा एक मस्यौदा कारका रुपमा उनले लोकतान्त्रिक अधिकार सुनिश्चित गरिएको प्रगतिशील संविधान निर्माणमा भूमिका खेले ।

२०४७ मा तत्कालीन माले–मार्क्सवादी एकीकरणबाट नेकपा एमाले निर्माणमा वार्ता टोलीमा अगुवाई गर्दै उनी एकीकृत पार्टी निर्माणका लागि केन्द्रीय भूमिकाका साथै मदन भण्डारीलाई जनताको बहुदलीय जनवादको कार्यक्रम बनाउन सहयोगी भूमिकामा रहे ।

पार्टी एकीकरणपछि तत्कालीन एमालेमा उनी २५ वर्ष लगातार स्थायी समिति सदस्य भए । २०७२ सालमा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट भने उनले पार्टीभित्रका कामकाजमा सहभागि नहुने भन्दै विश्राम लिए । स्वेच्छिक अवकासपछि अधिकारी अस्वस्थताका बाबजुद पनि जनताको सेवामा लागिरहे । उनले वृद्धहरुको हक–हितका लागि सामाजिक अभियान र रचनात्मक कामलाई जारी राखे । विभिन्न पत्रपत्रिकामा उनका लेख त्यसपछि पनि आइरहे ।

यस्तै, उनी २०६१ माघ १९ पछि ८१ दिन नजरबन्दमा परेका थिए । दरबारलाई चुनौती दिनेमा भरतमोहन पनि एक हुन् । २०५९ सालमा बनेको सरकारको पालामा अर्थमन्त्री हुनु भएका नेता अधिकारीले वृद्ध भत्ता कार्यक्रम ल्याए । सय रुपैयाँबाट सुरु गरेको वृद्धभत्ता कार्यक्रमले अहिले पनि निरन्तरता पाइरहेको छ ।

राजनीतिक जीवन अवधिभर उनी २ पटक उपप्रधानमन्त्री, ४ पटक अर्थमन्त्री र १ पटक निर्माण यातायत मन्त्री भए । अधिकारी तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकार र झलनाथ खनाल नेतृत्वको सरकारका पालामा उपप्रधानमन्त्री बनेका हुन् ।

२०४७ को संविधानको मस्यौदाकार अधिकारीले २०५१ सालको तत्कालीन एमालेको ९ महिने अल्पमतको सरकारमा वृद्ध भत्ता जस्ता सामाजिक सुरक्षाको कार्यक्रम, गाउँमा बजेट केन्द्रीत गरिएको–‘आफ्नो गाउँ आफैँ बनाऊ’ कार्यक्रम लागू गरेर जनप्रिय अर्थमन्त्री एवं नेताको छवी बनाए ।

मोरङबाट चार पटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक मामिलासहित विभिन्न विभागीय प्रमुखको जिम्मेवारी सम्हाले । पूर्व एमालेको छैठौंदेखि आठौं महाधिवेशनसम्म उनले महाधिवेशन आयोजक मूल व्यवस्थापन कमिटीको संयोजकको जिम्मेवारी पनि लिए । पूर्व अर्थमन्त्री अधिकारीलाई तीन खम्बे अर्थ नीतिको बजेट लागू गर्ने योजनाकारका रुपमा समेत लिने गरिन्छ ।