काठमाडौं । चार दिनको अन्तरालमा नेपालले एकपछि अर्को अपूरणीय क्षति व्यहोरेको छ । गएको वुधबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भयो ।
त्यसको चार दिन नवित्दै शनिबार साँझ पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । रवीन्द्र आशाको दियो थिए भने, भरतमोहन समाज सुधारका मीयो । भरतमोहनको निधन नेपाली समाज र नेपाली अर्थतन्त्रका लागि ठूलो क्षति हो, भन्छन्–अर्थशास्त्री एवं प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारी ।
भरतमोहन जनप्रिय मात्रै थिएनन्, त्यागि पनि । भारतबाट अर्थशास्त्रमा एमए गरेपछि तत्कालीन सोभियत सरकारले उनलाई मस्कोमा पिएचडीको छात्रवृत्ति दिएको थियो । तर, उनी छात्रवृत्ति त्यागेर तत्कालीन राजा महेन्द्रको निरंकुश तानाशाहीविरुद्धको आन्दोलनमा होमिए ।
यस्तै, संविधान निर्माणमा पनि उनको महत्वपूर्ण योगदान रहयो । त्यस्तै योगदान गर्ने नेता थिए, ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका रवीन्द्र अधिकारी । उनले संविधान सभामा राष्ट्रिय हितको संरक्षण समिति र युवाहरुको दबाब समिति निर्माण गरी संविधान सभा निर्माणमा निरन्तर खबरदारी गरे । पछिल्लो समय उनी नेपालको पर्यटन तथा हवाई क्षेत्रलाई व्यवस्थित बनाउन लागि परेका थिए । यद्यपि, यही बेला उनलाई ‘फराकिलो जीउ’ भएका दुई हवाइजहाज खरिदमा घोटाला गरेको आरोप लागिरहेको थियो । तर, उनले त्यसबारे स्पष्टिकरण दिन नपाउँदै, निधन भयो ।
उनको निधन भएको चारदिनपछि एउटै पार्टीका पाका नेता भरतमोहनको पनि निधन । चार दिनको अन्तरालमा दुई दियो निभे । नेपाली जनताका दुई उत्तराधिकारी । यहाँनेर एउटा संयोग मिलेछ । एकै महिना, एकै दिन जन्मिएका दुई दुई शीर्ष नेताको देहावसान एउटै महिनामा भयो । हेलिकोप्टर दुर्घटनामा निधन भएका रवीन्द्र र भरतमोहन एउटै महिना जन्मिएका रहेछन् । विक्रम संवतमा हरेक साल नौलो भनिने, वैशाखमा ।
भरतमोहनः महोत्तरी जिल्लाको भ्रमरपुरा गाउँमा १९९३ साल वैशाख २२, मा जन्मिएका थिए भने, रवीन्द्रः कास्कीको भरतपोखरीस्थित जामुनाबोटमा २०२६ साल वैशाख २२ गतेकै दिन जन्मिएका । दुवैको थर अधिकारी, दुवै एउटै पार्टीका, दुवै मन्त्री भएका, दुवै लोकप्रिय लगायत धेरै कुराले भरतमोहन र रवीन्द्र अधिकारीबीच मेल खाएको छ । अधिकारी द्वयलाई श्रद्धासुमन ।
भरतमोहनबारे जान्न यो पनि पढौँ
सम्झनामा जनप्रिय भरतमोहन
अनि, रवीन्द्रबारे जान्न यो पढौँ