एजेन्सी । रोजर फेडेररले आफ्नो खेल जीवनको १००औँ एटिपी टूर उपाधि जितेका छन् । दुबई टेनिस च्याम्पियनसिपको उपाधि उचाल्दै स्विजरल्याण्डका फेडेररले १०० औँ एटिपी टूर उपाधि जितेका हुन् ।

३७ वर्षीय फेडेररले पहिलो उपाधि जितेको ६ हजार ६०० दिनपछि १०० औँ उपाधि जिते । २० पटकका ग्राण्डसलाम विजेता फेडेररले दुबईमा भएको खेलमा ग्रीसका स्टेफानो टिस्टिस्पासलाई ६–४ र ६–४ को सेटमा हराए ।

फेडेररले सन् २००१ को फेब्रुअरी ४ मा फ्रान्सका जुलिएन बोउटरलाई हराउँदै पहिलो एटिपी उपाधि जितेका थिए । टेनिसको इतिहासमा १०० औँ एटिपी टूर उपाधि जित्ने उहाँ दोस्रो खेलाडी बनेका छन् ।

यसअघि सन् १९८३ मा अमेरिकाका जिम्मी कोन्नोर्सले यो कीर्तिमान बनाएका थिए । विश्व वरियताको चौथो स्थानमा फर्किन लाग्नु भएका फेडेररले यो उपाधिसँगै आफ्नो सपना पूरा भएको बताए ।