काठमाडौं । जापानमा नेपाली कामदार पठाउने खास मापदण्ड तयार नै नभई व्यवसायीहरुले राहदानी अर्थात् पासपोर्ट संकलनलाई तीब्रता दिएका छन् ।
उनीहरुले गाउँ–गाउँ पुगेर राहदानी संकलन गरिरहेका छन्, यानिकी खोँचे थाप्दै छन् । वैदेशिक रोजगारविज्ञ प्राध्यापक डाक्टर गणेश गुरुङले यसको पुष्टि गरिदिए ।

‘व्यवसायीहरुले राहदानी संकलन गरिरहेका छन् । पछि जस्तो रुपमा जापान सरकारले आवश्यकताको माग गरेपनि आफ्नो हात माथि पार्नको लागि यो कार्य भइराखेको छ । यो राम्रो होइन ।’ 
तपाईले त्यस्तो भेट्नु भो ?
–एकदमै मैले अहिले तपाईसँग कुरा गरिरहँदा पनि महसुस गरिरहेको छुँ । थाहा पाइरहेको छु । कति जना त मलाई सोध्न आएका छन्, मैले राहदानी फलानो फलानोलाई दिए, के गर्ने हो भनेर । यो किन गरेको भने, यो क्षेत्रमा लागेका व्यवसायीहरुले जापान सरकारले जस्तो मापदण्ड पेश गरे पनि आफुसँग कामदार धेरै भयो भने आफ्नो हात माथि पर्छ, आफ्नो व्यवसाय माथि जान्छ भन्ने जोडघटाउ निकालिरहेका छन् । व्यवसायी र एजेण्टहरुले पासपोर्ट हातमा राखेर प्रभूत्व जमाउने प्रयास गरिरहेका छन् । यो स्पष्ट रुपले थाहा भइसकेको छ । यो पुष्ट कुरा हो ।

गुरुङका अनुसार जापानले नेपालबाट लिने कामदारको प्रकृति, सीप, क्षमता आदीको यकिन मापदण्ड थाहा नभई यसरी राहदानी संकलन गरिनु राम्रो हुँदै होइन । यस्तै, उनले अहिलेलाई व्यवसायी अर्थात् म्यानपावर भन्दा पनि, दुबै देशका सरकारी संयन्त्रमार्फ कामदार लैजानु नै उपयुक्त हुने बताए । अहिलेलाई सरकारी संयन्त्र नै उपयुक्त भन्नुको कारणः अहिले वैदेशिक रोजगारीमा जे जति ठगि भएको छ, त्यसले व्यवसायीमाथिको विश्वास र भरोसा मरेको छ, दक्षिण कोरिया बाहेक । कोरियालाई उदाहरण मान्दै अहिलेलाई सरकारले नै कामदार पठाइदिए गरिब, निमुखा नेपालीको कल्याण हुन्छ भन्ने मेरो भनाई हो,–उनले भनेका छन् ।

यद्यपि, खुलाबजार अर्थतन्त्रसँग जोड्दै उनले भने, ‘खुला बजार अर्थतन्त्र अँगालीसकेपछि व्यवसायीलाई घृणाा गर्न पाइँदैन । व्यवसायीमार्फत नै जानु उपयुक्त हुन्छ । तत्काललाई दक्षिण कोरियामा इपीएसमार्फत पठाएजस्तै सरकारी संयन्त्रबाट जाँदा पछि अन्य विकल्पहरुमा जान सहज हुन्छ । त्यो बेलासम्म गृहकार्य गर्ने समय पनि पाइन्छ । मध्यमार्गी बाटो यो हो ।’

वैदेशिक रोजगारविज्ञ डा. गुरुङले यसो भनिरहँदा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ व्यवसायीले नै जापानमा कामदार लैजाने भनी प्रचार गरिरहेका छन् । उनले केही दिन पहिले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै व्यवसायीले नै कामदार पठाउने भनेका थिए ।

उता, सरकारले जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको र आउने अप्रिल देखिनै पठाउने पक्रिया सुरु हुने बताएको छ । नेपाली कामदार लैजान जापानी र नेपाली प्राविधिक टोलीबीच निरन्तरको छलफलपछि श्रम सम्झौता गर्ने सरकारको तयारी छ । सरकारले यसका लागि भाषा परिक्षा सञ्चालन गर्ने बताएको छ ।