नेपालमा राजनीतिक संस्कार हराउँदै गएको र अराजनीतिक संस्कार जरा गाड्दै गएको पछिल्लो एक घटनाले पुष्टि गरेको छ । मंगलबार साँझपख संघको राजधानी काठमाडौंमा महामहिम राष्ट्रपतिको सवारीले एउटा उत्ताउलो परिस्थिति जन्मायो । ट्राफिक प्रहरीले झण्डै ४० मिनेट सवारी जाम गरेपछि निजी सवारी रोकेर बसिरहेका केही युवाको धैर्यता टुट्यो । त्यहीबीचबाट एकजनाले ‘यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौं’ भने । बाँकी सबैले ‘हो हो’ भन्दै आफ्नो सवारी साधन अघि बढाए । केहीले त्यसको श्रव्य दृष्य सामग्री नै बनाउन भ्याएछन् ।

साढे सात बजेतिर ‘चित्र–शब्द’ नामको ट्विटर ह्यान्डलबाट एउटा भिडियो पोस्ट भयो । भिडियोमाथि ‘यहाँबाट राष्ट्रपतिको सवारी हुँदै थियो । ४० मिनेटदेखि ट्राफिकले रोकेर राखिरहेका थिए । त्यतिकैमा एकजना मानिस आजित हुँदै बोले, ‘यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौ ।’ सबैले ‘हो हो’ भन्दै आफ्नो सवारी साधन अघि बढाए’ ।

राष्ट्रपति विद्यादेवी भन्डारीको सवारीका क्रममा भएको जामको हैरानी खेप्न नसकेपछि मोटरसाइकल चालकले ट्राफिक जामविरुद्ध उत्रिएर जबर्जस्ती सवारी चलाएको भन्दै पोस्ट भएको त्यो भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ । भिडियो भाइरल भएसँगै यात्रुले ‘ठिक’गरे, ट्राफिकसहित सुरक्षा निकायले अब बुझ्ने समय आएकोलगायत जस्ता टिप्पणीहरु बढी आइरहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भिडियोको गलत ब्याख्या हुँदा भाइरल भएको भनिरहेको छ । महाशाखा प्रमुख एसएसपी बसन्त पन्त भिडियो जाम खोलिएपछि खिचिएको भन्छन् ।

अब कुरा जे सुकै होस्, मुलुकको अभिभावक अथवा राष्ट्रप्रमुखबारे यसरी घृणा फैलिनु राम्रो लक्षण हुँदै होइन । राष्ट्रपतिलाई बेलाबेलामा विवादमा ल्याइने गतिविधिको पनि अन्त्य हुनै पर्दछ । केही समय पहिले एउटा ‘लुट कान्छा लुट’ बोलको गीतले बजार ततायो । राष्ट्रपति व्यक्ति हो भन्ने भ्रमबाट मुक्त हुनै पर्दछ । त्यो एउटा सर्वोच्च संस्था हो । देशको गरिमा हो । निर्वाध ढंगले हिड्न, डुल्न र बोल्न पाउनु अभिव्यक्ति दिन पाउनु नागरिकको नैसर्गिक अधिकार हो । तर, त्यो उच्च गरिमामय संस्था वा पदको सम्मान गर्नु हरेक नागरिकको कर्तव्य पनि ।

मुलुकका अन्य व्यवस्थालाई लिएर अथवा अन्यत्र भएका कमी कमजोरीलाई लिएर राष्ट्र प्रमुखको बेइज्जती गरिनु तथा उच्च गरिमामय संस्थाप्रति घृणा वा द्वेष फैलाउनु नसियतपूर्ण छ । घृणाको अर्को रुप अपराध हो, त्यसैले त्यो नसियतपूर्ण हो, भनिएको । ट्राफिक व्यवस्था र बाटोको मामिला मिलाउने विकल्प ट्राफिक प्रहरीसँग हुनुपर्दछ । वैकल्पिक बाटो प्रयोग गर्ने व्यवस्था पहिले नै गरिनु पर्दथ्यो । काठमाडौंका हरेक खोला किनारबाट कोरिडोरहरु छन् । अन्य बैकल्पिक बाटा पनि नभएका होइनन् । राष्ट्रप्रमुखको सवारी हुँदैछ, भन्नेकुरा राष्ट्रपति मुखैमा आइपुगिसकेपछि थाहा हुने परिपाटी राज्य व्यवस्थाभित्र अन्त्य हुनै पर्दछ । एकैछिन् त हो, नि सबैले एक छिन् गाडि रोक्दा के फरक पर्छ भन्ने परिपाटीले नै यहाँ विगारिरहेको छ । जसको फलस्वरुप राष्ट्रप्रमुखमाथि घृणा फैलाउने कार्य भयो । नभए त्यो भिडियो कसरी भाइरल हुन्छ ? त्यो भाइरल हुनेका कारणहरु के हुन् ? त्यसका पछाडिका कारण सामान्य छन् । सबै भन्दा पहिलो कुरा महत्वकांक्षा । मान्छेहरु हिजो आज, धेरै महत्वकांक्षी भएका छन्, अर्कोतिर अति विलासी । आफ्नो सजिलो मात्रै हेर्न थालेका छन् मान्छेहरु । नैतिकता हराउँदै गएको छ । अर्को फस्दा ताली र लाली एकैपल्ट छुट्छ मान्छेहरुको । यो सामाजिक विसंगति र विकृति हो, यसरी घृणा फैलाउने छुट कोही कसैलाई हुँदैन । अभिव्यक्ति स्वतन्त्रताको नाममा घृणा फैलाउने छुट कुनै पनि लोकतान्त्रिक मुलुकमा हुँदैन । आफ्नै राष्ट्रप्रमुखको अपमान गर्ने भन्ने पनि कहीँ हुन्छ । कार्यपालिकाले गरेको दोष राष्ट्रपतिमाथि किन रु यहाँ जे भइरहेको छ, त्यो गलत छ ।

यो समस्या आउनुका पछाडि पनि नियत र नैतिकता नै जोडिन्छ । पछिल्लो समय राजनीतिक दलभित्र विचौलिया र व्यापारीहरु हावी भएको प्रष्ट भएको छ । त्यहाँमात्रै होइन, राज्यव्यवस्थाका हरेक अंग र पंक्तिमा विचौलिया हावी छ । राष्ट्रपतिमाथि औँला उठ्नु, सर्वोच्च न्यायालयमाथि औँला ठडिनु, संवैधानिक निकायका पदाधिकारीको नाक काटिनु त्यसैको परिणाम हो । यसमा कसैले नाक खुम्च्याउनु पर्ने कारण नै छैन । उपरान्त यस प्रकारका घृणा र द्वेष कसैले फैलाउनु हुँदैन र त्यस्तो सन्देश जाने सामग्री वा अभिव्यक्तिलाई प्रश्रय दिनु हुँदैन । त्यही हो, सच्चा नागरिकको परिचय ।