गाईघाट । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ ।

बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ ।

बालिका हत्या गर्ने १६ वर्षीय किशोरविरुद्ध १२ वर्षको जेल सजाय र रु एक लाख आर्थिक बिगो भराउने र अर्का १७ वर्षीय किशोरविरुद्ध १६ वर्ष दुई महीना जेल सजाय र रु ३० हजार जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।

दुवै किशोर १८ वर्षभन्दा तल भएका कारण पूरा उमेर भएकाहरुले पाउने पूर्ण जन्मकैद सजायको आधा सजाय गर्ने ती किशोरलाई कानूनी व्यवस्था भएबमोजिम जन्मकैदको फैसला भएको पनि अदालतले जनाएको छ ।