सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेका छन् । विक्रम संवतको पात्रो फेरिएको छ । गतेमा गरिने गणनालाई सौर्यमास भनिन्छ, भने तिथिमा गरिने गणनालाई चन्द्रमास भनिन्छ ।

राष्ट्रिय प्रचलनमा रहेको विक्रम संवतको वर्ष २०७५ विदा भएको छ । वर्ष २०७६ को सुरुवात भएको छ, साताको पहिलो, आइतबारबाट । जोतिषिको भाषामा वर्षको पहिलो दिन पहिलोबार आइत परेको छ, त्यो पनि शनि राजा र सूर्य मन्त्री भएको अवस्थामा । उनीहरुका अनुसार यसको अर्थ संघर्ष भइसहन्छ भन्ने हो ।

जे होस्, त्यो अकाट्य भने होइन । ति वाधा व्यवधानबाट बाहिर आउने उपायहरु पनि छन् । त्यसैले सापेक्ष भएर सोच्नु र सकारात्मक भएर सोच्नु पर्दछ । निरपेक्षतालाई बढावा दिनु हुँदैन ।

विगतको रिसराग, मनमुटाव, क्लेस बिर्सेर नयाँ वर्ष २०७६ मा सबैको जय हास्, सुख, समृद्धि प्राप्ति होस् भनेर हामी एकापसमा जसरी शुभकामना आदान–प्रदान गर्छौँ त्यसरी नै, सदावहार एउटै व्यवहार गरौँ ।

२०७५ मा विभिन्न प्राकृतिक घटनासँगै सडक तथा हवाई दुर्घटनामा परिवारदेखि राष्ट्रिय क्षेत्रमा विशिष्ट योगदान गरेका राष्ट्रसेवक हामीबाट सँधैका लागि विदा भए । तर, हामी हातेमालो गरेर पीडा साम्य पार्दै अघि बढिरहेका छौँ ।

राज्यले लिएको संकल्प हो,– समृद्ध नेपाल, सुखी नेपालीको । राजनीतिक दाउपेच, टुटफुट र द्वन्द्वको राजनीतिक विगतलाई पछार्दै २०७५ को पूर्वाद्र्धमा दुई ठूला कम्युनिस्ट पार्टीको एकताको घोषणासहित जनतालाई उत्साही बनाएको वर्तमान सरकारले यो लक्ष्य प्रस्तुत गरेको हो । सरकारको एक वर्ष गुज्रिसकेको छ । योबीचमा थुप्रै आलोचना खेपेको सरकारले केही आधारहरु पनि दिएको छ । अब त्यसैको जगमा उभिएर अघि बढ्नुको विकल्प छैन । अर्कोतिर नागरिक चाहनालाई विलकुलै बेवास्ता गरिनु हुँदैन ।

सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक सरकारको पहिलो योजना, बजेट खाकाबारे जनतालाई जानकारी दिन, बुझाउन, उत्प्रेरित गराउन, नयाँ संविधानबमोजिमका कानुनी प्रबन्ध मिलाउनमै २०७५ को अधिकांश समय बित्यो । अत्यावश्यक नयाँ कानुन २०७५ मै बनाइए । अर्थात् आधार वर्ष बन्यो २०७५ । सरकारले विगतका नेतृत्वबाट आँट नगरिएका, कल्पना पनि नगरिएका पूर्व–पश्चिम र उत्तर–दक्षिण सीमा वारपार गर्ने रेलमार्ग, पेट्रोलियम पाइपलाइन, आफ्नै पानीजहाज, आफ्नै स्याटेलाइट प्रक्षेपणका सपना देखायो । यस्ता दूरगामी महत्वका योजना मुलुक एक्लैको बुतामा सम्भव छैन ।

विगतमा लामो समयदेखि जनतालाई थकित र निराश पारेका भ्रष्टाचार, ढिलासुस्ती, माफियाकरण, बिचौलिया, सिन्डिकेट र अपारदर्शिताविरुद्ध सरकारले पाइला अगाडि बढाएको छ । यी विकृतिका जालोमा सर्वसाधारण त के नीति निर्माण तहका नेतृत्वगणसमेत परेका थिए ।

तर, कोही बोल्न आँट गर्दैनथे । तर, अहिले यस्ता प्रकरण बाहिरबा आएका छन् । यहाँनेर बुझ्नैपर्ने कुराः अहिले उधिनिएका प्रकरण ताजा होइनन्, विगतमा हुर्केका तर लुकाइएका हुन् । मुलुकको मूली शासक एवं प्रधानमन्त्रीले अब उपरान्त त्यस्ता गतिविधि दोहोरिने छैनन् भनिसकेका छन्, देशबासीका नाममा सम्बोधन गर्दैै ।

अब विगतका यस्ता विकृतिलाई उदाङ्ग पार्ने, शून्य सहनशीलताको प्रतिबद्धताअनुरूप कारबाहीको दायरामा पार्ने र नयाँ शासन, संस्कृतिको सङ्कल्प पूरा गर्न दत्तचित्त हुनुपर्ने आवश्यकता टड्कारो छ । सपना देख्ने तर काम नगर्ने छेपारे दिनचर्याले गन्तव्यमा पुग्नै सकिँदैन । नयाँ वर्ष २०७६ सपना देख्ने वर्ष मात्रै नबनोस्, सपनालाई विपनामा रूपान्तरण गर्ने वर्ष बनोस्, संगलमय शुभकामना ।