काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने औलो रोग तराई हुँदै हिमाली जिल्लामा समेत देखिन थालेको छ । नेपालले सन् २०२५ सम्म औलो रोग निवारण गर्ने लक्ष्य लिए पनि हिमाली जिल्लामा फैलिएको औलो र भारत लगायत मुलुकबाट कामदारले ल्याएको आयातित औलोका कारण उक्त रोग निवारणमा कठिनाइ देखिएको हो । लक्ष्य अनुसार पाँच वर्षअघि नै औलोबाट मृत्यु हुनेको संख्या शून्यमा झार्नुपर्ने थियो तर बर्सेनि यो रोगबाट मानिसको मृत्यु भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष मात्रै एक हजार १८७ जना व्यक्तिलाई औलो लागेको प्रमाणित भएको थियो । विगत वर्षभन्दा यो सङ्ख्या धेरै हो । आर्थिक वर्ष २०७३/०७४ मा एक हजार १२८ जनामा औलो रोग लागेको थियो । आ.व. २०७२/०७३ मा ९९१ जना व्यक्ति औलो रोगको चपेटामा थिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले सन् २०२५ सम्ममा औलो रोग निवारण गर्न कठिनाई भएको बताए । उनले औलो सार्ने लामखुट्टे तराईबाट पहाड हुँदै हिमालमा समेत देखा परेकाले कठिनाई उत्पन्न भएको बताए । उनले औलो निवारणका लागि सरकारले औलो खोजपड्ताललाई चुस्त दुरुस्त पारी औलो सर्ने दरलाई घटाउनुपर्ने भन्दै औलोको गुणस्तरीय निदान र प्रभावकारी उपचारमा समेत पहुँच बढाउनुपर्ने बताए ।

पछिल्लो समय हिमाली जिल्ला मुगु, मुस्ताङ, बाजुरा, हुम्ला लगायत जिल्लामा औलो रोग फैलिएको छ । डा. लालले भने, “हिमाली जिल्लामा अत्यन्त पातलो बस्ती हुने भएकाले लामखुट्टे नियन्त्रणमा कठिनाइ भएको छ ।” उनले हिमाली क्षेत्रसँगै भारत लगायत मुलुकबाट आउने बिरामीबाट सर्ने आयातित औलो निवारणमा प्रमुख चुनौती देखापरेको बताए ।

भारतसँग खुला सिमानाका कारण औलो रोगी बढेको भन्दै उनले भारतमा लामखुट्टे नियन्त्रण गर्दा नेपालमा नियन्त्रण नहुने र नेपालमा हुँदा भारतमा नहुने समस्या रहेको बताए । उनले देशभरका कुल औलोका बिरामीमध्ये ४९.३६ प्रतिशत सुदूरपश्चिम प्रदेशमा रहेको भन्दै कैलाली र कञ्चनपुर जिल्ला औलोको उच्च जोखिममा रहेको बताए । डा. लालले सुदूरपश्चिमका बिरामीमध्ये ५३.९४ प्रतिशत आयातित परजीवी रहेको बताए । भारतमा काम गर्न जाने भएकाले उक्त क्षेत्रमा औलोका रोगी धेरै रहेको उनको भनाइ छ ।

रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा कीटजन्य रोग फोकल पर्सन लिलाविक्रम थापाले सुदूरपश्चिमपछि हिमाली जिल्ला मुगुमा औलोका बिरामी धेरै रहेको जानकारी दिए । थापाले पश्चिम नेपालका कैलाली, मुगु, कञ्चनपुर, बाँके, बाजुरा, सुर्खेत कपिलवस्तु, बर्दिया, बैतडी र अछाम औलो संक्रमण हुने प्रमुख दश जिल्लामा पर्ने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले औलो नियन्त्रण गर्न सबै पक्षलाई समेटेर जानुपर्ने बताए । उनले औलोबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीबारे जनचेतना फैलाउनुपर्ने बताए ।

यसैबीच ‘आफैबाट सुरु गरौं, औलोलाई शून्यमा पुरयाऔ’ भन्ने नारासाथ बिहीबार विश्व औलो दिवस मनाइएको छ । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरी विश्व औलो दिवस मनाइयो ।