काठमाडौ । मान्छे आउने जाने क्रम कुनै बेला रोकिँदैन । काम गर्नेको हात पनि उत्तिकै चलिरहेको हुन्छ, जसरी फटाफट मान्छे ओहोरदोहोर गरिरहेका हुन्छन् । काउन्टरमा बस्ने मान्छेपनि उत्तिकै व्यस्त । यो कथा हो, नयाँबानेश्वरमा रहेको विशाल मःमः प्यालेसको । लोकेशनः–संसद भवनको पश्चिमपट्टी, काठमाडौं महानगर १० नम्बर वडाको कर उठाउने आन्तरिक राजश्व कार्यालय नपुग्दै । अझ, सम्झिन सजिलो अनामनगर जाने बाटोमा रहेको पिपलबोट नपुग्दै, अझ भनौ, छुक्कुबक्कु मन्दिर नपुग्दै । नयाँ बानेश्वर चोकबाट बाँयातिरको पेटी पछ्याउँदै पुरानो बानेश्वरतिर लम्किए ५०–६० मिटर मात्रै । बाहिर आन्तरिक राजश्व कार्यालयको साइनबोर्ड हेरे पुग्ने ।

काउन्टरमा पैसा तिर्नेको लाइन

मःमः मास्टर भनौँ वा सञ्चालक कुमार कार्कीसँग यो पल्टको भेट फरक रहयो । पहिले बसेरै गफ गरिएको थियो । यो पल्ट उनी व्यस्त थिए । व्यस्तताकैबीच उनलाई केही जिज्ञासा राखियो । तपाईको दिनचर्या र धन्दामा पोहोर परार भन्दा केही नौलोपन आयो ? जिज्ञासा भुँइमा खस्न नपाउँदै उनले भने, ‘फरक छ, पहिले–पहिले अर्डरको मःमः बोकेर हामी आफै कुद्नु पथ्र्यो । अहिले त, डिजिटल मार्केटले गज्जब गरिदिएको छ । पहिले मःमः खान कि यहीँ आउनु पथ्र्यो कि आसपासमा होम डेलिभरी गर्न सन्थ्यिो । अनलाइन मार्केटिङले सजिलो भएको छ, अब हामीले बनाएको मःमः कहाँ पुग्छ, पुग्छ । एकै पल्ट घ्याप्प हालेर लान्छ अनलाइन मार्केटवालाले ।’

अनि अनलाईन मार्केटवालालाई त टन्नै पैँसा दिनु पर्ला नि ? जवाफमा उनले भने, ‘धेरै पर्दैन वर्षमा २५ हजार त हो नि !’ उनले काटीमाटीमा रहेको विशाल मः मः पनि उत्तिकै चलिरहेको सुनाए । तर, भीडभाड भने आइतबारै हुने । आइतबार किन रहेछ ? ‘शनिबार सार्वजनिक विदा हुन्छ । आइतबार कार्यालय तथा पेशा व्यवसाय सबै खुल्छन् । अनि मासु खाने पनि प्राय आइतबार नै हुँदा रहेछन् । शनिबार, सोमबार, मंगलबार र विहिबार मान्छेहरु धर्मकर्मतिर लाग्छन् । व्रत उपवास हुन्छ धेरैको, त्यसैले पनि यी बारहरुमा मासुजन्य आइटम मान्छेले त्यति खाँदैनन् ।’

उनका अनुसार बफ मःमः नै बढी रुचाइएको छ । चिकेन, भेज मःमः पनि राम्रै चल्छ, तर, मुख्य चल्ने बफ मःमः नै हो । उनले नेवारी खाजा खोज्नेलाई अन्त पठाउँदैनन् । सिँढी चढेर एक तलामाथि उक्लिन मात्रै कष्ट गर्नुस् भन्छन् । तल मःमः प्यालेस छ, भने त्यसैको माथिल्लो तलामा नेवारी खाजा घर छ । डेलीभरी उत्तिकै चाँडो, अर्डर गरेर बस्दाबस्दै आइहाल्ने ।

महत्वपूर्ण कुरा उनले मूल्य पनि बढाएका छैनन् । पोहर परारकै मूल्य छ । भेज मः मः १०० । चिकेन १२० । बफ मः मः १०० । खुवाको मःमः १०० नै छ । एक प्लेट बफ मःमः बनाउन ८० रुपैँया खर्च हुन्छ भन्छन्, कार्की ।

बाँकी रुपैँया अचार, पिठो र ग्याँस खर्चसँग जोडिएको । ग्राहकले खाँदा १०० रुपैँया लिने हो भने उनलाई अब २० रुपैँया सोझै नाफा । यत्ति भएपछि के चाहियो । अँ साँची यो त महँगो भएन न र ? जवाफमा उनले भने, ‘हामी राम्ररी हेरेर महँगोमै मासु ल्याउँछौँ । फल मासु हुन्छ । मिसावट हुँदैन । मसला पनि हामी घरमै बनेको प्रयोग गर्छौँ ।’ चार प्रकारको अचार हुन्छ । अचार के के को ? जवाफमा उनले भने, ‘तील, बाबरी, खुर्सानी टिमुर र टमाटर ।’

खाजा खान आउनेले बसै भन्दा बढी के मन पराउँछन् ? उनले जवाफ दिए, बफ मः मः । किन ? ‘बोसोरहित छ, अर्को कुरा जुनसुकै उमेरकालाई हुने खालको छ । म आफै सुगरको रोगी हुुँ, मै तीनपल्ट भ्याइदिन्छु’ हाँस्दै उनले भने ।

अनि हामीले खाजा खाँदै गरेका केहीलाई सोध्यौँ, के राम्रो लाग्छ र ? तपाईहरु सधैँ यही आउनु हुन्छ ? वर्ष ३० का एक जनाले भने, ‘म पहिलोपल्ट आएको हुँ । मःमः असाध्यै मीठो, अचारको कुरै नगरौँ ।’
अनि भित्रपट्टी बसेका मनोज ढुंगानाले बफ मःमः असाध्यै राम्रो छ, भने । त्रि–चन्द्र कलेजमा बीएससी पढ्दै गरेका उनको प्राय खाजा खान आउने र साथीहरु भेट्न थलो नै बनेको छ, विशाल मःमः । उनले प्रतिप्रश्न गर्दै सोधे, यो के का लागि हो ? हामीले भन्यौँ, ‘यो अनलाईनको फिचरका लागि ।’ खाजाको विषय पनि समाचार हुन्छ र ? उनले फेरि सोधे । हामीले त्यसको जवाफ दिनै परेन । हामीले सुनायौँ, एयरपोर्टमा अहिले पनि विदेश जानेको लर्को छ, तर, यो खाजाघरमा काम गर्नेको संख्या हो ३७ । ती जना स्वदेशमै रोजगार भए, अर्कोतिर मान्छेले खाजालाई खानेबेलासम्म मात्रै महत्व दिन्छ, तर यसले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाइरहेको कुरा विर्सन मिल्ला र ? निम्न वर्गका मान्छेकहाँ पैँसा पुग्ने छरितो माध्यम हो, खाजा घर । भलै कुमार कार्कीले मःमः प्यालेस नै चलाए । तर, बाटोमा ठेला राखेर मःमः बेच्नेको कन्तुकमा पनि त पैँसा परिरहेको छ’ यत्ति भनेपछि उनको अनुहारमा एक प्रकारको चमक आयो । मनोजले पछि रमाइलो प्रश्न गरे ? तपाईहरु जहाँ जाँदा पनि खाजाको विषय छोड्नु हुन्न हो ? सँगै रहेका साथीहरु हाँसे,,, हामीले भन्यौँ, खाजाको विषय प्रायः छुट्दैन ।

कुमार कार्की (सेताे सर्ट लगाउने) ग्राहकलाई आफै अचार थपिदिँदै 

उनको खास घर चाँहि ओखलढुंगा । अहिले बस्ने भक्तपुरको सल्लाघारी । बानेश्वर र कालीमाटी चोकमा मःमः पसल चलाउँछन् । दुवै ठाउँ गरेर ३६–३७ जनालाई रोजगारी दिएका छन्, उनले । उनले भने हामी यत्रो मान्छे, ‘विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खट्छौँ ।

के भयो त मःमः ले ?
कुमार कार्कीलाई मःमःले हुनसम्म उपलब्धी भयो, उनकै भाषामाः घर, बन्यो, सम्पति जोडियो, छोराछोरी पढाईयो । तर, उनले एउटा गुनासो पनि गरे छोराछोरी राम्रै ठाउँमा पढाइयो, राम्रै भो । कहीले काँही मेरा दुःखबारे पनि चासो राखिदिए हुन्थ्यो । -प्रस्तुति भीम विश्वकर्मा