-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाका अनुसार वुधबार पूर्वराजा महेन्द्रको जन्मदिन । अनि, थापाको नजरमा महेन्द्र ‘विश्व रंगमञ्चमा नेपाललाई स्थापित गर्ने, नेपाली जनतालाई भावनात्मक रुपमा एकीकरण गर्ने, नेपालको दीर्घकालीन विकासको आधार तयार गर्ने, छुवाछुत प्रथा अन्त्य गर्ने, क्रान्तिकारी भूमिसुधार लागुगर्ने राष्ट्रवादी राजा’ पनि ।

पत्रकार भूषण दाहालका अनुसार पनि महेन्द्रको जन्मदिन वुधबारै, त्यो पनि १००औँ जन्म दिन । उनको स्मरणमा ‘राजनीतिक रुपमा ‘प्रजानन्त्र बिरोधि’ मानिएका । तर, एक दुरदर्शी राष्ट्र परायण, समय अनुरुप प्रगतिशील र क्रान्तिकारी राजा महेन्द्रको १००औँ जन्म जयन्ती’ । साथमा उनले ट्वीटरमा नेपाल रहुन्जेल कहिल्यै गुमनाम नहुने एउटा तस्वीर’भनेर श्यामश्वेत फोटो पोष्ट्याई सम्झना गरेका छन् । तर, विकिपेडियालाई उनको जन्म जुन ११ सन् १९२० नारायणहिटी दरबार भनी उल्लेख गरेको छ । कुरा जे सुकै भएपनि पूर्व ‘महाराज’लाई जन्मदिनको शुभकामना ।

‘राजा महेन्द्र अत्यन्तै कपटी थिए । भन्थे एउटा, गर्थे अर्को । राजा महेन्द्र सारभूत रूपमा एउटा सैनिक शासक नै रहे । तर, सैनिक शासकका रूपमा पनि उनी कालापानी र सुस्तासमेत गरी ठाउँ–ठाउँमा मुलुकका सिमानाहरू भारतीय सैन्यद्वारा मिचिँदा अकर्मण्य रहे’

उनको काल (समय)
हेन्द्रको शासनकाल नवजात बहुदलीय संसदीय प्रजातान्त्रिक व्यवस्थाको निर्मम हत्याबाट सुरु भयो भन्छन्, केही लेखक तथा विश्लेषकहरु । यो यथार्थ र सत्य पनि ।  शाही घरानामा जन्मेर युवराज जीवनमा अभाव र दुःखपीडाका दिन बिताएका, आफ्नो मुलुकमा भारतीय चलखेललाई २००७ सालको दिल्ली प्रवासका दिनदेखि बुझ्दै आएका र राष्ट्रिय राजनीतिक दलहरूबीच अन्तर्कलहबाट देश नै कमजोर भई विदेशी हैकममा पर्न सक्ने खतरा छाएको यथार्थ सत्य बुझ्न सक्ने भइसकेका रुपमा व्याख्या गर्दै केहीले महेन्द्र उत्तराधिकारी बन्न योग्य भइसकेका थिए, भन्छन् ।

रोलक्रमबाट राजा हुन पाउने भए पनि दुई–दुई पटक (पहिलोपटक २००८ सालमा र दोस्रो पटक २०११ सालमा) झन्डै गद्दीच्युत भएबाट आत्मलघुता र कुण्ठाले ग्रस्त महेन्द्र दुई खड्गो टरेर जाँदा पनि स्वस्थ मनोविज्ञानमा फर्किन सकेका रहेनछन् । अनि, राजर्षि शासकको कालजयी महिमा एवं गरिमालाई बुझ्न सकेनन् । उनी ऐतिहासिक भूमिका ग्रहण गर्न चुके । त्यसैको फलस्वरूप सैन्य बलबाट बदलाको राजनीति चलाउन पुगेको भन्छन् केही समिक्षकहरु । जस कारण नेपाली कांग्रेसभित्रको सत्ता कलह र भारतीय चलखेलबाट पूरै मुलुकमा छाएको राष्ट्रियतासम्बन्धी तथा राजनीतिक अनिश्चितताको खतरा निवारण गर्न उनी विफल भए । उनी राष्ट्रका संरक्षक नभएर एकपछि अर्को राजनीतिक चक्रव्यूहका रचनाकार हुन पुगे ।

२००८ सालको प्रसंग, महेन्द्रले डा.के.आई. सिंह काण्डमा रक्षा दललाई उठाएर आफ्नै बाबुको गद्दी हत्याई सरकार पल्टाउन आफ्नो ससुरा हरिशमशेरको आर्थिक सहयोग लिँदाको हो । त्यो षड्यन्त्र विफल भएपछि र महेन्द्रले तिनै ससुराको अर्की छोरीसँग विवाह गर्ने ढिपी गर्दा राजा त्रिभुवनले महेन्द्रलाई डाँडा कटाएर गोर्खा धपाउने निर्णय गर्दा विश्वेश्वरप्रसाद कोइरालाले मर्यादा र आचारसंहिताको प्रसंग उठाएर विरोध गरेका थिए । फलस्वरुप महेन्द्र युवराजाधिराजमा कायम रहे
२०११ मा राजा त्रिभुवनको अन्त्यकाल आउन लाग्दा उनको उत्तराधिकारी कसलाई बनाउने भन्नेबारे प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र उनका विश्वासिला मन्त्री महावीरशमशेरले राजदरबारभित्र आपसी कुराकानी अंग्रेजी भाषामा गर्दै जाँदा त्यो कुराकानी सुन्न पुगेका त्रिभुवनका राजवैद्य सर्दार कविराज शिवनाथ रिमालले उत्तिखेरै महेन्द्रलाई जुरिक गई आफ्नो नाममा अख्तियारनामा लिएर आउन लगाएका थिए ।

त्रिभुवन हृदयरोगको लामो व्यथाका कारण २०११ को मध्यतिर स्विजरल्यान्ड उपचारार्थ जाँदा महेन्द्र राजकीय परिषद्का अध्यक्ष नियुक्त गरिएको ६ महिनापछि आफैं रकबाट राजा अर्थात् श्री ५ महाराजाधिराज हुन पुगे । उनी एक प्रकारको फिरन्तेबाट अमीर बने । शक्तिहीनताको अवस्थाबाट राज्यको सर्वोच्च सत्ता प्राप्त शासक बने । उनीसित जोरी खोज्ने अर्को कुनै राजनीतिक सत्ता थिएन ।

जनबल त दबेको दब्यै थियो । त्यसमाथि २००७ को क्रान्तिको नेतृत्व गर्ने नेपाली कांग्रेस ठाडो भारतीय चलखेलबाट टुक्रिसकेको थियो । उता नेपालको सम्पूर्ण राजनीतिमा हालीमुहाली गरिरहेका र विश्वेश्वरप्रसाद कोइरालाले प्रायः जसो होच्याएर ‘मुजफ्फरपुरका पूर्वमेजिस्ट्रेट’ भन्ने भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायणसिंह नेपालका धेरैजसो राजनीतिक खेलाडीहरूलाई लडाउने–भिडाउने गरिरहेका थिए । तथापि, संवैधानिक राजाको रूपमा आफ्नो देशको नाम र कीर्ति बढाउँदै नेपालको इतिहासमा एक विशिष्ट स्थान प्राप्त गर्ने उज्ज्वल परिदृश्य उदय भएको थियो । कवि राजा महेन्द्रको समक्ष अब्बल क्रान्तिकारी–देशभक्त इतिहासपुरुष टंकप्रसाद आचार्य तथा साहित्यकार एवं करिश्मायुक्त राजनेता विश्वेश्वरप्रसाद कोइरालालाई लिएर नेपालभित्र मात्र होइन, दक्षिण एसियाकै राजनीतिमा आ–आफ्नो अपेक्षित र उपयुक्त भूमिका निर्वाह गर्ने दायित्व आइपरेको थियो ।

यत्तिकैमा युवराजाधिराजको पहिलो राजकीय कार्य बडो संवेदनशील बुँदाबाट प्रारम्भ भयो । उनीबाट मातृका मन्त्रिमण्डलले २०१० सालमा निर्णय गरेबापत तीव्र विरोध उठेको प्रधान न्यायालय ऐन, दोस्रो संशोधनमा फेरि संशोधन भयो । नेपाली कांग्रेसले मातृका मन्त्रिमण्डलको विघटन र प्रधान न्यायालयको सम्बन्धमा नयाँ शाही संशोधनलाई २०११ सालको चैत्र २ गतेको आफ्नो मुखपत्र ’नेपाल पुकार’ मार्फत् सकारात्मक रूपमा स्वागत र्गयो । यस प्रकारले विश्वेश्वरप्रसाद कोइरालाले नयाँ शासकप्रति सौहार्द्रताको हात बढाए ।

टंकप्रसाद आचार्यको हकमाः २००७ को क्रान्तिका उपलब्धिहरूको संरक्षणार्थ नेपाल कम्युनिस्ट पार्टीसँगको मोर्चा विफल भएपछि पनि उनी आफ्नै निस्स्पृह ढंगले देश हितकारी राजनीति गरिरहेका थिए । तसर्थ उनले महेन्द्रपट्टिभन्दा पनि महेन्द्रले उनीपट्टि हात बढाउन आवश्यक थियो । त्यो काम महेन्द्रले २०१२ सालको माघ १३ गते मन्त्रिमण्डल गठन गर्न बोलाएर गरेकै हुन् । फलस्वरूप अन्तर्राष्ट्रिय जगत्मा देशको इज्जत बढ्यो, संवैधानिक एवं विकासप्रेमी राजाको रूपमा महेन्द्रकै कीर्ति बढ्यो र टंकप्रसाद आचार्यले देशको स्वाधीनता संरक्षण र सुदृढीकरणको नीतिद्वारा वैदेशिक र आन्तरिक क्षेत्रमा असाधारण महत्र्वको भूमिका निर्वाह गरे ।

तर, देशका लागि बोझ बनेको र भारतीय कूटनीतिको संवाहक रहेको मातृका मन्त्रिमण्डललाई २०११ फागुन १९ गते विघटन गर्दा महेन्द्र आफ्नो इतिहास–निर्दिष्ट बाटो पहिल्याउन चुके । महेन्द्रले आफ्नै बाबुको गद्दी र मुलुकको प्रजातान्त्रिक परिपाटी उखेल्ने षड्यन्त्र गरेबाट नै उनको वास्तविक अभिप्रायः उदांग भइसकेको थियो । २००८ साल माघ १० गतेको के.आई. सिंह फौजीकाण्डमा रक्षा दलले उनको अनुभूति नलिइकनै ‘कू’ गर्दा यो तथ्य पनि खुलेको थियो भनी टंकप्रसाद आचार्यले आफ्नो जीवनी लेखक जेम्स फिसरलाई स्पष्ट शब्दमा बताएका छन् ।

नेपालको परम्परामा राजा सैनिक अधिनायक वा निरंकुश तानाशाह हुन सक्दैनथ्यो । तर, महेन्द्रले राणा फौजी विद्रोहबाट राजाको सुरक्षा गर्न दरबारमा खटाइएको सैनिक ब्यारेकलाई आफ्नो संकीर्ण स्वार्थ पूरा गराउने साधन बनाउँदै अनगिन्ती पटक फौजी बर्दीमा नेपाली जनमानसलाई तर्साउन छाडेनन् । उनी सारभूत रूपमा एउटा सैनिक शासक नै रहे । तर, सैनिक शासकका रूपमा पनि उनी कालापानी र सुस्तासमेत गरी ठाउँठाउँमा मुलुकका सिमानाहरू भारतीय सैन्यद्वारा मिचिँदा अकर्मण्य नै रहे । भारतीय फौजी मिसनको तैनाथी र नेपालको मामिलामा भारतीय फौजी हस्तक्षेपविरुद्ध आवाज उठाउँदै नेपाल कम्युनिस्ट पार्टीले देशभरिका सडक तताउने गरेको प्रसंग र टंकप्रसाद आचार्यले आफ्नो शान्त कूटनीतिद्वारा त्यही ध्येय अघि बढाउँदै गएको सत्यलाई छोपेर महेन्द्रले भारतीय फौजी मिसनको फिर्तीको पूरै श्रेय आफूले लिए ।

आचार्य र कोइरालाले उठाएका देश विकासका प्रमुख कार्यहरू तथा चीनसँगको सम्बन्ध वृद्धिलाई निरन्तरता दिएको श्रेय महेन्द्रले निश्चय नै पाउँदछन् । तर, ती सबका अभियन्ता उनीमात्र एक हुन् भन्ने प्रचार र मान्यता सर्वथा इतिहासको विकृति हो । तथापि कोइराला ‘भारतपक्षीय’ नै देखिन्छन् । आफ्नो निरंकुश शासनलाई बचाउन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको सरकारसँग सन् १९६५ मा गोप्य फौजी सन्धि गरेका र हाम्रो कालापानी क्षेत्रभित्र भारतीय सैन्यले अवैध गतिविधि गरिरहँदा पनि मौन रहेका महेन्द्र ’राष्ट्रवादी’ नै रहिरहन्छन् । यो पनि इतिहासले हालसम्म मानेको अर्को घोर विकृतिलाई भविष्यले सच्याउला ।
फेरि पनि राजर्षिको प्रसँग उठाउँदा महेन्द्रले त्यस रूपमा इतिहासमा ठाउँ पाउन सक्नेथे । २०१३ सालमा काठमाडौंको आफ्नो गोकर्ण वनभित्रको वि श्रामगृहको पर्खाल मर्मत गर्न तत्कालीन प्रधानमन्त्रीसँग सरकारी ऋण सापटीका लागि पत्र लेखी पठाउँदा महेन्द्रले संवैधानिक राजाको विनम्रता एवं गरिमा देखाएका थिए । तर, उनी आत्मलघुता, ईष्र्यालुपन र लोभजस्तो चरित्रगत अवगुणहरूले गर्दा त्यस्तो हुन सकेनन् । पहिलो अवगुण प्रधानमन्त्रीद्वय आचार्य र कोइरालासँगका व्यवहारबाट स्पष्ट हुन्थ्यो । आचार्य र कोइरालाको अध्ययनशीलता र बौद्धिक गुण सम्पन्नताबाट महेन्द्र धेरै हीनताबोध र आत्मलघुताले पीडित रहन्थे ।

त्यसैले यी प्रजातन्त्रवादी राजनीतिज्ञहरूप्रति उनी ईष्र्याभावले ग्रस्त थिए । राप्रउ पोख्रेलका शब्दमा ’नेपालको स्वाधीनता र सार्वभौमिकतालाई यहाँको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षसँग जोडेर समुन्नत बनाउने आवश्यक ऐन नियमहरू तर्जुमा गरी संस्थागत स्वरूप दिएका आफ्नै प्रधानमन्त्री आचार्यलाई आधारहीन आरोप लगाएर आफ्नै सहमतिमा आचार्यले घरेलु र विदेशनीतिद्वारा देशकै उन्नति गरेको र गौरव बढाएको कामलाई महेन्द्रले आफ्नै अवनति ठानेको छुद्रता देखाएर उनीलाई आम चुनाव गर्न अयोग्य भएको बात लगाई पदच्यूत गरे । वास्तविकता के हो भने राजा नै आमचुनाव गर्ने–गराउने एकमात्र अधिकारी थिए । राजा महेन्द्रले चुनाव गराएका भए आजसम्ममा नेपालमा १२ वटाभन्दा बढी चुनाव भइसक्ने थिए । वास्तवमा राजा महेन्द्र अत्यन्तै कपटी थिए । भन्थे एउटा, गर्थे अर्को ।

विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रीकालमा पनि महेन्द्रको सामु राजर्षिभावले अघि बढ्न सक्ने झन् बढी सम्भावना थिए । तर, विप्रप्रतिको आत्मलघुतामा एकछत्र शासन चलाउने महत्र्वाकांक्षा गाँसिन पुग्दा त्यसले व्यक्तिगत विद्वेषको रूप लियो । त्यसबाट प्रजातान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने, मानव अधिकारको प्रत्याभूति गर्ने, जनताको हितमा कानुनी राज र सुशासन प्रणाली स्थापना गर्ने महान् कार्यमा संवैधानिक राजाबाट गरिमापूर्ण भूमिका निर्वाह गर्ने ऐतिहासिक अवसर तुहिन गयो ।

महेन्द्रले २०१५ सालको पहिलो संसदीय चुनावमा दुई–तिहाइ संख्याले विजयी भएको दल नेपाली कांग्रेसका सभापति कोइरालालाई पहिला त प्रधानमन्त्री बन्न नदिने अनेक कुचेष्टा गरे । त्यसमा विफल भएपछि उनको प्रधानमन्त्रीत्व काललाई सुचारु ढंगले चल्न नदिन अनेक बाधा(व्यवधान ल्याए । आखिरमा केही नलागी देशमा प्रारम्भ भएको प्रजातान्त्रिक बहुदलीय संसदीय व्यवस्था नै उन्मूलन गरे जसमा उनले दक्षिणी छिमेकी सरकारको कुटिल सहमति लिनेसम्मको अपराध गरे ।

विश्वेश्वरप्रसाद कोइराला आफू शक्तिशाली स्थितिमा हुँदा पनि गण्डक नहर निर्माणमा नेपाल ठगिनु सर्वथा अनुचितमात्र होइन राष्ट्रघाती कार्य पनि हो । तर ‘भारतपक्षीय’ प्रधानमन्त्रीलाई हटाउन ‘राष्ट्रवादी’ महेन्द्रले भारतीय प्रधानमन्त्रीको सहमति लिन गण्डक नहर उदघाटनको बेला रोज्नु झनै ठूलो राष्ट्रघाती काम हो । अनि संसारमै ठूलो प्रजातन्त्रवादी भनेर चिनिने देशका नेताले अर्को नवस्थापित छिमेकी संसदीय प्रजातन्त्रवादी देशका प्रधानमन्त्रीलाई हटाउने शाही षड्यन्त्रमा सहमति दिनु अत्यन्त लज्जास्पद कार्य हो ।

संसदीय व्यवस्थामा सुशासन दिन नसक्ने शासक दललाई चुनावबाट हटाउन सकिने प्रावधान हुन्छ । तर, त्यस्तो व्यवस्थाकै अवहेलना गरी उनले देशमा कायम संवैधानिक राजतन्त्रमाथि नै कुठाराघात गर्न पुगे । देशमा पञ्चायती शासनव्यवस्थाको रूपमा आफ्नो व्यक्तिगत तानाशाही लादे । त्यसबाट नेपालको इतिहासमा परेको अनिष्टकारी प्रभावले नेपाली समाजलाई आजसम्म पनि गाँजेको गाज्यै छ । प्रजातान्त्रिक शासन व्यवस्थासितको उनको निजी घृणा र ईष्र्याले उनलाई नृशंस शासक पनि बनायो । जनता तथा राष्ट्रिय हितबाट टाढिएको नीतिलाई निरन्तरता दिएर संकीर्ण स्वार्थले अन्त्यमा राजसंस्थालाई नै डुबायो भन्नुमा असत्य नहोला ।

देशका बहुसंख्यक जनता राजाको तानाशाही शासनका विरोधी भइनसकेका र नेपालका दुवै छिमेकी देश भारत र चीनबीच सम्बन्ध नराम्ररी बिग्रिने संकेत आइरहेको परिस्थितिमा नेपाली कांग्रेसले महेन्द्रको निरंकुशता समाप्त गर्न शान्तिपूर्ण सत्याग्रहमा विश्वास नगरी २०१८ साल कात्तिकमा सशस्त्र संघर्ष प्रारम्भ र्गयो । त्यो निश्चय नै दुस्साहसिक कार्य थियो । त्यसको दमन गर्ने सिलसिलामा राजा महेन्द्रले धेरैपटक नृशंसता देखाए । दुर्गानन्द झालाई फाँसी, जगतप्रकाशजंग शाह, तेजबहादुर अमात्य र सरोजप्रसाद कोइरालाको हत्या, जेल सार्ने बहानामा कांग्रेस समर्थक छात्रहरूको र अदालती कार्बाही नै नगरी अनेक राजनीतिक नेता र कार्यकर्ताहरूको विभिन्न नदी तटमा हत्याहरूको त्यसको प्रमाण हुन् । जगतप्रकाशजंग शाह र अन्य केहीको मामिलामा महेन्द्रको नृशंसताले हर्दै पार गरेको थियो ।

इतिहासकार डा. राजेश गौतम भरतपुर कार्यालयको अतिथिगृह काण्डलाई यस्तो वर्णन गर्दछन्, ‘जगतप्रकाश जंगको हत्या गरिएपछि (कर्णेल) भक्तनरसिंहले उनको शरीरबाट टाउको छुट्याउन लगाई आदेश भएअनुसार राजदरबारमा पठाए जहाँ राजा महेन्द्रले ऋषिकेश शाहलाई समेत राखी आफ्नो अगाडि किस्तीमा रातो कपडाले छोपेर ल्याएको टाउकोको कपडा आफूनजिकै रहेको सैनिकको तरबारले हटाउन लगाई ’तैंले मेरो राज्य खान खोजेको हैन ? ’ भन्दै आक्रोश व्यक्त गरेका थिए ।’ राजा सधैं क्षमाशील हुनुपर्छ र क्षमा ठूलो बल हो भन्ने शाश्वत सत्य राजा महेन्द्रले बुझेनन् ।

१९९७ सालका सहिदहरूको बलिदान र २००७ सालका प्रजातान्त्रिक योद्धाहरूको रगतबाट हासिल गरिएको प्रजातान्त्रिक संसदीय परिपाटीलाई ध्वस्त गरेका शासकपछिका वर्षमा प्रजातान्त्रिक व्यवस्थाको पुनस्र्थापना गर्न चाहन्थे भन्ने मान्यताले महेन्द्रलाई उनको मूल अपराधबाट क्षम्य गर्न कदापि मिल्दैन । त्यही कर्मबाट नेपालको इतिहास ३०–३० वर्षसम्मको अन्धकारमा बित्यो । अनि त्यसले स्थापना गरेको संस्थागत भ्रष्टाचार, दण्डविहीनता, सत्तामा रहँदा प्रतिपक्षीमाथि हुने गरेको दमन, हिंसा, हत्या, आर्थिक विपन्नता, संस्कृति एवं संस्कारको ह्रास (मूर्ति चोरी निकासी, सन् ६० को दशकको हिप्पी आन्दोलनताका नेपालमा हासिस उत्पादन नगर्नका लागि आएको पैसा आफ्नो बनाएको र सरकारबाटै पैसा लिई दरबार बनाएपछि सरकारलाई नै बेचेका जस्ता तथ्य विस्तार स्थानअभावले यहाँ चर्चा गरिएको छैन), वैदेशिक पराधीनता २०४६ सालको प्रजातन्त्र पुनस्र्थापना आन्दोलनको सफलतापछि झन मौलाउँदै गयो ।

यी सबको लागि २०१७ साल पुस १ गतेको अपराध नै दोषी छ । उनको त्यही अपराधले ल्याएको बेथितिले गर्दा नै प्राचीनकालका नेपाली ऋषिमुनि र बुद्ध पुरुषहरूले भारत र चीनबीच रहेको हाम्रो भूखण्ड संवैधानिक राजतन्त्रात्मक रहिरहनु अनिवार्य छ भनी स्थापित गरेका राज्य व्यवस्था पनि ढल्न गएको हो ।
महेन्द्रलाई बुझ्न सघाउने एउटा अनौठो विषय राजनीतिक दलहरूप्रति उनको तीव्र वितृष्णा पनि हो । महेन्द्र राजा भएपछि २०१२ को वैशाखमा दरबारमा सल्लाहकार सभाको लागि राजनीतिक र सामाजिक संस्थाहरूलाई बोलाइएको थियो । त्यसमा कुनै पनि राजनीतिक दलले भाग लिएन । पूर्ण सैन्य सत्ता आफ्नो हातमा आउँदा पनि राजनीतिक दलहरूबाट यसरी उपेक्षित हुन परेकोमा राजनीतिक दलहरूप्रति जीवनभर उनको घृणा र वैमनस्यता रह्यो ।

आफ्नो बैतडी जिल्ला भ्रमणको समयमा नेपाल प्रजा परिषद्ले उनको स्वागतमा टाँसेको पोस्टरलाई पनि उनले च्यात्न लगाएको सनकीपनलाई टंकप्रसाद आचार्यले आफ्नो उपर्युक्त जीवनकथाकारलाई पनि बताएका छन् । विश्वेश्वरप्रसाद कोइरालाप्रति उनको ईष्र्या र घृणाले न त उनमा कवि र साहित्यकारबीचको आत्मीय सम्बन्धको मान–मर्यादा राख्न लगायो, न त आफूलाई राजगद्दीको उत्तराधिकारी बनिरहन सघाएका व्यक्तिलाई अघिल्लो दिन भोज ख्वाएर भोलिपल्ट बन्दुकको नाल तेस्र्याउँदै झ्यालखान ठोकेको अत्यन्त लज्जाजनक व्यवहार गर्नसम्म पछि पार्यो । (अरविन्द रिमाल, अन्नपूर्ण फुर्सद, २१ असोज २०७४)

‘महाराजले आत्महत्या गरे !’
संविधान सभाको सट्टा संसदको चुनाव गराएर पनि जननिर्वाचित सरकारलाई सैनिक ‘कू’ गरी निरंकुश पञ्चायती व्यवस्था लादेपछि जारी नयाँ शिक्षा अन्तर्गत ‘महेन्द्र माला’ लगायतका पुस्तक पढ्दासम्म राजा महेन्द्रको मृत्यु हर्ट अट्याकबाट भएको भन्ने थाहा हुन्छ । तर, पत्रकार कृष्ण अविरलले लेखेको पुस्तक ‘रक्तकुण्ड’ले राजा महेन्द्रले आत्महत्या गरेको भनी जिकिर गरेको छ ।

अविरलले दरबारका धाई, सुसारे, इतिहासकार आदिसँगको प्रत्यक्ष कुराकानीमा आधारित भएर रिपोर्टिङ शैलिमा लेखेको पुस्तकमा दरबार हत्याकान्डसम्बन्धी सनसनीपूर्ण विवरण दिएका छन् ।  त्यसमा लेखिए अनुसार २०२८ सालको माघ महिनाको मध्यतिर राजा महेन्द्र चितवनको दियालो बंगलामा बसेका रहेछन् र एउटा भव्य भोजको आयोजना गरिएको र राजपरिवारका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि भनिएको थियो, त्यसमा । लेखकलाई यो कुरा चाहिँ वडामहारानी रत्नराज्यलक्ष्मीका सुसारेले सुनाएका ।

७ बजेसम्म पार्टी भएपछि राजा महेन्द्रले रानी रत्नलाई हेलिकप्टरबाट काठमाडौँ फर्कन भनेछन् । रत्नले भोलिमात्रै फर्कन्छु भन्दा पनि युवराज (वीरेन्द्र) र अधिराजकुमारहरु (ज्ञानेन्द्र र धीरेन्द्र) एक्लै भएकोले जानुपर्ने जिद्दी महेन्द्रले गरेछन्। माघ १६ गते रत्नसहितका फर्किएछन् । तर फर्किएकै बेला अचानक राति दियालो बंगलाबाट राजा महेन्द्र सिकिस्त बिरामी भएको खबर आएछ । राति हेलिकप्टर नउड्ने भएकोले भोलिपल्ट बिहान त्यहाँ पुग्दा त राजा महेन्द्र राति नै परमधाम् भइसकेछन् ।

अघिल्लो साँझ मात्रै हाँसीखुसी गरिरहेका राजा अकस्मात् मरेपछि सबै अचम्ममा परेका थिए । भोलिपल्ट राजपरिवार र राजदरबारका कर्मचारीहरु काठमाडौँ आएपछि नै राजाले आत्महत्याको गरेको बारेमा गाइँगुँइ सुनिन थालेको थियो, भनिएको छ ।  त्यसदिन दियालो बंगलामा नै भएका अरु कर्मचारीहरुको हवाला दिँदै पुस्तकमा भनिएको छ, ‘विषको असरले छटपटाउन थालेपछि मात्रै उनीहरुले थाहा पाएका । नजिकैको भरतपुर अस्पतालबाट डाक्टर, नर्स बोलाउन खोज्दा पनि राजाले अनुमति दिएनन् । उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पनि ल्याउन अनुमति दिएनन् । मलाई यहीँ मर्न दिनू भनेछन् । आर्मीका बिग्रेडियर जनरल सुशीलचन्द्र हल्डर भन्ने डाक्टरले अन्तिम अवस्थामा उनको रेखदेख गरेका थिए ।’

दरबारप्रति नकारात्मक धारणा उत्पन्न हुने डरले आत्महत्याका कुरा सार्वजनिक नगरी ह्रदयाघातको कारण बताइएको कुरा छ, अविरलको पुस्तकमा । रानी रत्नलाई साँझ जबर्जस्ती काठमाडौँ पठाउनुको पछाडि पनि आत्महत्याको योजनामा अवरोध आउँछ भनेर रहेछ भनी ती सुसारेले लेखेकलाई भनेका छन् । त्यसैले त्यतिबेलादेखि चितवनको दियालो बंगलामा राजपरिवारका सदस्यहरु सवारी हुन छाडेका बताइन्छ ।

लेखकले यो कुरालाई पुष्टि गर्न राजदरबारका विषयमा डाक्टरेट गर्ने सानुभाइ डंगोल, इतिहासकार पुरुषोत्तमशमशेर जबरा, अवकाशप्राप्त सैनिक अधिकारी दीप्तप्रकाश शाहसित पनि कुरा गरेका छन् । उनीहरुले पनि ह्रदयाघात नभई आत्महत्या नै कारण भएको आफूहरुले थाहा पाएको बताए । कतिपयले त्यसबेला त्यहाँ उपस्थित तत्कालीन प्रधानमन्त्री तथा वर्तमान राजाका उपाध्यक्ष भएर शाही शासनकालमा दमन मच्चाउने कीर्तिनिधि विष्टलाई भेटेर थप पुष्टि गर्न आग्रह गरेका छन्, लेखकलाई । निर्वाचित सरकारको मन्त्री छाेडेर राजाकाे चाकर भएका विष्टले राजाको नराम्रो हुने कुरा भन्थे ? र । यहाँनेर इतिहास लुकाइएको प्रष्ट संकेतहरु लेखकले छोडेका छन् ।