काठमाडौं । नेपाल र युएईबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्वीजल्याण्डको जेनेभामा सम्पन्न कार्यक्रममा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले समझदारीपत्रमा हस्ताक्षर गरे ।

युएई सरकारले बीमा कोषको व्यवस्था लगायत श्रम आप्रवासनका क्षेत्रमा हालसालै धेरै सुधारका कदमहरु अघि बढाएपछि यो नयाँ सहमति भएको बताइएको छ । पाँच वर्षसम्मको सेवा अवधिका लागि हरेक वर्षको सेवा वापत २१ दिनका दरले र सो भन्दा बढि सेवा अवधिका लागि वार्षिक ३० दिनका दरले उपदान पाउने व्यवस्था समेत गरिएको छ ।

कामदारको छनोट, भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था यो समझदारीमा गरिएको छ । कुनै पनि कामदारलाई ज्याला, ओभरटाइम भत्ता, कार्य वातारण र न्यायमा पहुँच जस्ता विषयमा विभेद गर्न नपाइने र सबै विदेशी श्रमिकलाई समान व्यवहार हुनुपर्ने मान्यतालाई यो समझदारीले स्थापित गरेको छ ।

व्यवसायजन्य दुर्घटना वा रोग लागेमा त्यसको उपचारमा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । वार्षिक करिब ५० हजार नेपाली रोजगारीका लागि जाने मुलुक युएई नेपालको चौथो प्रमुख गन्तव्य स्थल हो ।