काठमाडौँ । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि उक्त विधेयक खारेजीको माग गर्दै बुधबार माइतीघर मण्डलमा सरोकारवालाहरूले खबरदारीसभा आयोजना गरेका छन् । उक्त विधेयकले गुठीको सम्पदा र संस्कृतिमाथि प्रहार गर्ने भन्दै प्रदर्शनकारीले खारेजीको माग गरेका छन् ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिकलगायतका संघर्ष समितिले खबरदारी सभाको आयोजना गरेका हुन् । खबरदारी सभामा ‘होसियार १ मौनता हाम्रो सभ्यता हो, बाध्यता होइन’, ‘गुठी विधेयक खारेज गर’ लगायतका नारासहित खबरदारी सभा आयोजना भैरहेको छ । खबरदारी सभामा विभिन्न दलहरुका नेता तथा काठमाण्डौ उपत्यकाका जनप्रतिनिधिसमेतको उपस्थिति रहेको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरेर सरकारले विधेयक फिर्ता लिएको जानकारी दिए पनि गुठीयारहरुको नेतृत्वमा माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको छ ।

खबरदारी सभामा भूमि व्यवस्था मन्त्री पद्मा अर्याल र प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले आफूहरुलाई ठेस पुर्‍याएको भन्दै विरोध भएको छ । उपत्यकाका विभिन्न ठाउँबाट परम्परागत भेषभुषा र नेपाली झण्डा बोकेर प्रदर्शनकारी सडकमा ओर्लिएका छन् ।

नेपालको संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गर्न भन्दै सरकारले वैशाख १६ गते राष्ट्रियसभामा विधेयक पेस गरेको थियो ।