नेपालगञ्ज । “श्रीमानको उपचार गर्न थालेको ६ वर्ष बढी भयो, सात लाख खर्च भयो तर रोग निको नै हुँदैन”, बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले भनिन् ।
शर्मिलाका श्रीमानलनई निको नहुने रोग सिकलसेल एनिमिया भएको छ । यो रोग लागेमा पोषणयुक्त खानपान र रहनसहन व्यवस्थित गर्न सकियो भने सामान्य जीवन बाँच्न सकिन्छ ।

“पश्चिम नेपालका आदिवासी थारू समुदायमा देखिएको यो रोग वंशाणुगत सर्ने रोग हो । सिकलसेल श्रीमानबाट श्रीमतीमा सर्दैन तर उनीहरुबाट जन्मेको बच्चामा सर्ने सम्भावना अधिक हुन्छ । विशेषतः नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलालीका थारू समुदायमा यो रोग बढी देखिएको छ । सिकलसेल एनिमिया एक प्रकारको रक्तअल्पत्ता भए पनि यो अलि कडा खालको हुन्छ”, भेरी अञ्चल अस्पतालका डा. राजन पाण्डे बताउछन् ।

“जीवनभर ओखती खाइरहनुपर्ने यो रोगका बिरामीलाई आर्थिक सङ्कट पर्ने भएकाले सरकारले निःशुल्क उपचार र औषधिको व्यवस्था मिलाउनुपर्छ”, बर्दिया बाँसगढीका पूर्णबहादुर थारूको माग छ ।

नेपाल सरकारले यो रोगको परीक्षण र उपचारका लागि नेपालगञ्जको भेरी अञ्चल अस्पताल, बर्दियाको राजापुर प्राथमिक स्वास्थ्य केन्द्र र कैलालीको सेती अञ्चल अस्पतालमा आवश्यक व्यवस्था मिलाएको छ । यसैगरी निजीमा बाँकेको मेडिकल कलेज कोहलपुर, नेपालगञ्जको सिद्धार्थ अस्पताल र कैलालीको घोडाघोडी अस्पतालमा यो रोगको उपचार हुन्छ ।

केही समयअघि बर्दियामा यो रोगको जाँचका लागि गरिएको कार्यक्रममा २५ हजारभन्दा बढीको जाँच गरी रगत सङ्कलन गरिएको थियो । रगत सङ्कलन गरिएकामध्ये १६ हजारको परीक्षण रिपोर्ट आइसकेको बताइएको छ । उक्त रिपोर्टका आधारमा १३ प्रतिशतमा सिकलसेल लुकेको अवस्थामा देखिएको छ । करीब एक प्रतिशतमा रोग लागेको अवस्था रहेको डा. पाण्डेले बताए ।

सिकलसेल भएको व्यक्तिले जाँड, रक्सी, चुरोट सेवन गर्नु हुँदैन । तर चिल्लो, पिरो, अमिलो बार्नु पर्दैन । बेलाबेलामा आप्mनो स्वास्थ्य जाँच गराइरहनुपर्दछ । “यति मात्र गर्न सकियो भने यो रोगका व्यक्ति सामान्य जीवन बाँच्न सक्छन्”, भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी पुष्पा कँडेलको सल्लाह छ ।

डा. पाण्डेका अनुसार यो रोगको उपचारका क्रममा अहिलेसम्म १२ जनाले ज्यान गुमाइसकेका छन् । भेरी अञ्चल अस्पतालमा मात्रै अहिले २१५ जनाको उपचार भइरहेको छ । तथ्याङ्कअनुसार पश्चिम नेपालका करीब दुई हजार थारूमा सिकलसेल एनिमिया रोग देखापरेको छ । यो रोग अहिले बिस्तारै योगी, बिसी र रैदास जातिमा पनि देखा पर्नथालेको छ ।

पश्चिम नेपालमा करीब २० लाख थारूको बसोबास छ । जटिल जनस्वास्थ्य समस्याका रुपमा उन्मुख हुँदै गएको यो रोगको रोकथामका लागि सरकारले छुट्टै नीति बनाएर विशेष कार्यक्रम लागू गर्नुपर्ने सुझाव डा. पाण्डेको छ