रसुवा । रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका १७ जना मजदुरको सकुशल उद्धार भएको छ । उनीहरुलाई शुक्रबार विहान सुरुङबाट निकालिएको रसुवाका डिएसपी भागेन्द्र पुरुष ढकालले जानकारी दिए ।

उनीहरु सबैको स्वास्थ्य चेकजाँच पनि गरिएको उनको भनाई छ । विहिबार राति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ११ नेपाली र ६ चिनियाँ मजदुुर सुरुङ भित्रै थुनिएका थिए । डिएसपी ढकालले अहिले पनि पहिरो जाने क्रम नरोकिएकोले आयोजनाको काम बन्द गरिएको जानकारी दिए ।

मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण संकलन गरिरहेको उनले बताए । आयोजनाको सुरुङ सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा पर्दछ ।