काठमाडौं । सदाझैँ यो पल्ट पनि जुन २१ लाई विश्व सङ्गीत दिवसका रुपमा मनाइँदै छ । एक अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएपनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा मात्रै सुरु भएको बताइन्छ । पहिलोपटक सन् १९८१ जुन २१ मा फ्रेन्च कलाकार मौरिसको सोंच अनुसार फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन ’विश्व सङ्गीत दिवस’ अर्थात् वल्र्ड म्युजिक डे मनाउने गरिएको छ । नेपालमा विक्रम सम्वत् २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस् विशेष उत्सवका रुपमा मनाइन्छ ।

सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ–आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् । वहूजाती, भाषा, धर्म अनि संस्कृती भएको देश नेपालमा न्याउली रूँदा होस् अथवा मुर्चुङ्गाको कम्पन निस्कँदा आउने मौलिक धूनमा नेपाली सभ्यता र संस्कार प्रतिबिम्बित हुने गर्दछ । मादल, सारङ्गीदेखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म, बाँसुरीदेखि विनायोसम्म जसले नेपाली सङ्गीत सृजनामा नेपाली मौलिकता थप्ने गर्दछन् ।

पूर्वीय घरानामा हुर्किएका शास्त्रीय सङ्गीत, फिरन्ते समूदायका सङ्गीत, ब्लुजदेखि हिपहपसम्म, ¥यापदेखि मेटलसम्म तथा लोकगीत देखि गजलसम्म सङ्गीत विश्वव्यापी फराकिलो आकारमा फैलिएको छ । वैदिक सनातन संस्कारमा शदियौंदेखि हरेक पूण्य या सदगत गर्दा शंख बजाउने चलन छ । एकोहोरो शंख बज्दा दुःखका संस्कार र दोहोरोमा शुभकार्यको जनाऊ गरिने चलन परापूर्वकालदेखि चलिआएको छ ।

भजनकिर्तन, रोधी, आलाप, ओपरा, मुशाहयरा, मेहफिल अनि मञ्चहरु सङ्गीतकै कारणले त चर्चित छन् । राष्ट्रगीत देखि गाईनेका व्यथाहरू सङ्गीतकै कारणले त मर्मस्पर्शी छन् । सङ्गीत भनेको बाजा, गीत या शुत्रगत् आवाजहरु मात्र नभई यसको विशाल रुप छ ।